दोलखाको ३६ विद्यालयमा स्काउट शिक्षा अभियान सञ्चालन

ईश्वर बिश्वकर्मा
चरिकोट, माघ २५
दोलखाको ३६ विद्यालयमा स्काउट शिक्षा अभियान सञ्चालन गरिएको छ ।
विद्यालयका विद्यार्थीहरुलाई थप अनुशासित बनाई समाज रुपान्तरणमा भुमिका निर्वाहका लागि जिल्लाका विद्यालयमा स्काउट शिक्षा अभियान सञ्चालन गरिएको हो ।
जिल्लाको भीमेश्वर नगरपालिका, कालिञ्चोक, मेलुङ, शैलुङ, तामाकोशी र बैतेश्वर गरि जिल्लाको ६ स्थानीय तहको सामुदायिक एवंमा संस्थागत विद्यालयमा स्काउट समुह निर्माण गरिएको जिल्ला स्काउट कार्यालय दोलखाले जनाएको छ ।
भीमेश्वर नगरपालिकाको १२, मेलुङ गापाको १२, कालिञ्चोक गापाको ८, तामाकोशी गापा २, बैतेश्वर गापा १ र शैलुङ गाउँपालिका १ वटा विद्यालयमा स्काउट समुह निर्माण गरि स्काउट शिक्षा प्रदान गरिदैँआएको कार्यालयले जनाएको छ । जिरी नगरपालिका, विगु र गौँरीशंकर गाउँपालिकामा भने आगामी शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइने जनाइएको छ । स्काउट समुह निर्माणपश्चात् बालबालिका र युुवालाई विभिन्न क्रियाकलापमा संलग्न गराई सकरात्मक उर्जा भर्न युवाहरुलाई नेतृत्व विकासमा सहयोग गर्ने उदेश्य रहेको छ । स्काउटमा संलग्न व्यक्तिलाई नैतिकवान् बनाउने, सामाजिक कार्यमा सरिक गराउने स्काउटको प्रमुख विषेशता हो ।
स्काउट समुहलाई आवश्यक तालिम प्रदानका लागि विभिन्न स्थानीय तहले आवश्यक बजेट विनियोजन गर्नु पर्ने जिल्ला स्काउट आयुक्त धुर्ब बहादुर खडकाले बताए ।
जिल्ला स्काउट कार्यालयको उद्धघाटन
जिल्ला स्काउट कार्यालय दोलखाको उद्धघाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले रिबन काटेर कार्यालयको उद्धघाटन गरेका हुन् । जिल्ला स्काउट कार्यालय जिल्ला समन्वय समितिको भवनमा रहेको छ । यो भन्दा अघि स्काउट कार्यालय कुटिडाँडा माविको एक कोठामा सञ्चालित रहेको थियो । साथै साेही दिन  स्काउट सम्बन्धी अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
स्काउट शिक्षा अभियानलाई सफल पार्ने उद्धेश्यले विद्यालयको शिक्षकहरुलाई सहभागी गराई स्काउटबारे जानकारी दिन उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल स्काउट प्रधान कार्यालय राष्ट्रिय प्रशिक्षक विरेन्द्र धोजुले स्काउटको विकास, स्काउटको अवधारणा, स्काउटको अवस्था, स्काउटले गर्ने कार्य, स्काउटको उद्धेश्य, स्काउटको संरचना, स्काउको नियम, स्काउटको क्रियाकलाप लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले स्काउट अहिलेको समयमा अपरिहार्य भएकाले जिल्लाको सबै विद्यालयमा स्काउट समुह निर्माण गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले स्काउटले गरेको कार्यहरु समाजको लागि महत्वपुर्ण रहेकाले आगामी आर्थिक वर्ष बजेट विनियोजन गरिने बताए ।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, स्काउट विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "दोलखाको ३६ विद्यालयमा स्काउट शिक्षा अभियान सञ्चालन"

Leave a comment

Your email address will not be published.


*