दोलखाको शैलुङ गाउँपालिकामा खानेपानीको धारा बनेपछि स्थानीयलाई सहज

इश्वर बिश्वकर्मा /चरिकोट, – दोलखाको शैलुङ गाउँपालिका–३ मा खानेपानीको धारा निर्माण भएपछि स्थानीयलाई सहज भएको छ । खानेपानीको सहज पहुँचको लागि यहाँ एक सय ३४ वटा धारा निर्माण सम्पन्न भएको छ । जसमा व्यक्तिगत धारा एक सय २९ र संस्थागत धारा पाँच वटा रहेको छ । २०७६ देखि सुरु भएको ठाडोबाटो जोरसल्ले खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत यही भदौ महिनामा निर्माण सम्पन्न भएको ती धाराहरु असोज १४ गते एक समारोह बीच हस्तान्तरण गरिएको हो ।

वाटर एड नेपालको सहयोगमा सामुदायिक विकास मञ्च दोलखा, गाउँपालिका र स्थानीय उपभोक्ता श्रमदान सहित कुल एक करोड ९१ लाख १२ हजार एक सय ८८ रुपैयाँको लागतमा धारा निर्माण भएको सामुदायिक विकास मञ्चले जनाएको छ । धारा निर्माणबाट यहाँका सात सय २४ जना स्थानीयहरु लाभान्वित भएको मञ्चका कार्यक्रम संयोजक शैलेस श्रेष्ठले बताउनुभयो ।धारा बनेपछि घण्टौ लगाएर पानी लिन जानु पर्ने बाध्यता हटेको स्थानीय पदम बहादुर घिसिङले बताउनुभयो । “पानी लिनकै लागि एक घण्टा भन्दा बढी समय लाग्ने भएकोले पानीको जोहो गर्न पिरोलिएको थियौँ । तर अहिले आफ्नो घरमै पानी आउने धारा निर्माण भएपछि निकै सहज छ ।” उहाँले भन्नुभयो ।

कालिञ्चोक–१ मा १ सय बढी धारा जिल्लाको कालिञ्चोक गाउँपालिका–१ स्थित एक सय ६३ व्यक्तिगत र तीनको संस्थागत गरी एक सय ६६ वटा धारा निर्माण सम्पन्न भएको छ । २०७६ देखि थालनी गरिएको भित्रीखर्क खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत निर्माण सम्पन्न ती धाराहरु यही असोज १४ गते हस्तान्तरण गरिएको हो । यस आयोजनामा सात सय ८८ जना लाभान्वित संख्या रहेको बताइएको छ । वाटरएड नेपाल÷ सामुदायिक विकास मञ्च, कालिञ्चोक गाउँपालिका र उपभोक्ताको श्रमदान सहित एक करोड १८ लाख २६ हजार एक सय २८ रुपैँया कुल लागतमा आयाजना सम्पन्न भएको हो ।

सामुदायिक विकास मञ्च नेपाल दोलखाले वाटर एड नेपालसँगको साझेदारीमा जिल्लाका शैलुङ तथा कालिञ्चोक गाउँपालिकालाई कार्यक्षेत्र बनाएर खानेपानी सुरक्षा तथा वास उत्थानशीलता परियोजना सञ्चालन गरिरहेको छ । यसको कार्यक्षेत्र शैलुङ गाँउपालिका वडा नं ३, ४ र ५ तथा कालिञ्चोक गाँउपालिका वडा नं. १, ५ र ६ रहेको मञ्चका प्रेम अधिकारीले बताउनुभयो । यस परियोजना अन्तर्गत गत वर्ष शैलुङ गाउँपालिका–४ मागापौवामा जोगीडाँडा खानेपानी आयोजना अन्तर्गत एक सय ५ वटा, सोही गाउँपालिकाको वडा नम्बर ५ काटाकुटी स्थित ओखरफेद दुलालटोल खानेपानी आयोजना सम्पन्न भएको छ । जहाँ एक सय वटा खानेपानीको धारा निर्माण भएको हो । सोही वडामा छहरे खानेपानी आयोजना अन्तर्गत ४४ वटा धारा निर्माण भएको बताइएको छ । त्यसैगरी सोती नागथान खानेपानी आयोजना कालिञ्चोक गाउँपालिका वडा नम्बर छ लापिलाङमा सम्पन्न भएको छ । जहाँ एक सय २५ वटा धारा निर्माण भएको छ । योजना सञ्चालनको क्रममा कोभिड–१९ का कारण उत्पन्न समस्याले समयमा काम सम्पन्न गर्न कठिनाई भएको, खानेपानी संरचना निर्माणका लागि परियोजना क्षेत्रभित्र दक्ष जनशक्ति नहुँदा जिल्ला बाहिरबाट ल्याउनुपरेको, सामाग्री आपुर्ति गर्ने आपूर्तिकर्ताहरुलाई समयमा सम्झौता बमोजिमका सामाग्रीहरु आपूर्ति गर्न कठिनाई भएको भएपनि सफलता पूर्वक याजना सम्पन्न गरिएको मञ्चका अधिकारले बताउनुभयो ।

नौ वटा आयोजना सम्पन्न हुदैँ
खानेपानी सुरक्षा तथा वास उत्थानशीलता परियोजना सञ्चालन भईरहेको क्षेत्रहरुमा यो वर्ष नौ वटा खानेपानी आयोजना सम्पन्न हुँदै छ । ती मध्ये कालिञ्चोक गाउँपालिकामा चार वटा र शैलुङ गाउँपालिकामा पाँच वटा रहेको छ । कालिञ्चोक गाउँपालिका–५ मा शिलाफोर खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जहाँ एक सय ५६ वटा व्यक्तिगत र तीन वटा संस्थागत गरी एक सय ५९ वटा धारा निर्माण भईरहेको छ । वडा नम्बर छ स्थित आइतबारे लिडेखोला खानेपानी आयोजना सञ्चालन भईरहेको छ । यस आयोजना अन्तर्गत ५४ वटा व्यक्तिगत धारा निर्माण हुँदैछ । वडा नम्बर ५ मा लकाइ गाउँ कातिके खानेपानी आयोजना सञ्चालन भईरहेको छ । यहाँ ९८ वटा व्यक्तिगत र दुई वटा संस्थागत धारा निर्माण हुने बताइएको छ ।

त्यसैगरी ठाडो खोरिया खानेपानी आयोजना अन्तर्गत ९९ वटा व्यक्तिगत धारा निर्माण भईरहेको छ । यो वडा नम्बर १ मा सञ्चालित आयोजना हो । शैलुङ गाउँपालिका–३ मा नादानघर लाम्चे आहाल खानेपानी आयोजना सञ्चालनमा छ । यहाँ व्यक्तिगत एक सय ५१ र संस्थागत पाँच वटा धारा निर्माण भईरहेको छ । मजुवा निगाले खानेपानी आयोजना अन्तर्गत ५१ वटा व्यक्तिगत र एक वटा संस्थागत धारा बन्दै छ । यो आयोजना वडा नम्बर ४ मा सञ्चालित आयोजना हो । व्यक्तिगत ५२ वटा र संस्थागत एक वटा धारा निर्माण सम्पन्न गर्ने गरी वडा नम्बर ४ मा कालो खोला मुलबारी खानेपानी आयोजना सञ्चालनमा छ । व्यक्तिगत ५५ वटा र संस्थागत दूई वटा धारा निर्माण गर्ने गरी जिम्बुखोला खानेपानी आयोजना सञ्चालन भईरहेको छ । यो वडा नम्बर ४ मै सञ्चालिन अयोजना हो । त्यसैगरी ढाँडे पैयुँ डाँडा खानेपानी आयोजना वडा नम्बर ५ मा सञ्चालित छ । यहाँ व्यक्तिगत धारा ६८ वटा बन्दै छ ।

धारा निर्माण सम्पन्न भएपछि परियोजना प्रभावित स्थानीयलाई खानेपानीको समस्या मुक्ति मिल्ने तथा तरकारीबाली उत्पादनमा समेत सहयोग हुने अपेक्षा गरिएको छ । यो परियोजना अन्तर्गत खानेपानी तथा सरसफाइ आयोजनाको दिगोपनाको लागि सबै उपभोक्ता समितिहरुको व्यवसायिक योजना निर्माणको लागि सहजीकरण, खानेपानी उपभोक्ता समितिलाई निर्माण पूर्व तथा निर्माण पश्चात तालिम सञ्चालन गर्ने गरिएको मञ्चका कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो ।खानेपानी उपभोक्ता समितिलाई पानीको गुणस्तर परीक्षण गर्नको लागि प्रविधि तथा सामाग्री हस्तान्तरण, खानेपानी आयोजना अन्तर्गतका उपभोक्ताहरुलाई लक्षित गरी स्वच्छता प्रवद्र्धन सत्र संचालन, खानेपानी उपभोक्ता समितिलाई खानेपानी तथा सरसफाइको अधिकार सम्वन्धी अभिमुखीकरण लगायतका कार्यक्रमहरु सञ्चालन भईरहेको बताइएको छ ।

Shares

Be the first to comment on "दोलखाको शैलुङ गाउँपालिकामा खानेपानीको धारा बनेपछि स्थानीयलाई सहज"

Leave a comment

Your email address will not be published.


*