दोलखाको राजहिटी ढुङ्गेधारा पुनर्निर्माण

दीक्षण समाचार
चरिकोट, असोज २
दोलखामा पुनर्निर्माण भएको राजहिटी (राइती) को ढुङ्गेधारा उद्घाटन गरिएको छ । शनिबार बागमती प्रदेश खानेपानी, सरसफाइ तथा सिन्चाइ विभागका उपाध्यक्ष कृष्ण पन्तले धाराको उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले सांस्कृतिक, ऐतिहासिक र कलात्मक सम्पदाहरूको संरक्षण र संवर्द्धन उचित ढंगले हुन आवश्यक रहेको बताउनु भयो । उहाँले राजहिटी धारा पुनर्निर्माण र संरक्षणमा देखिएको स्थानीयको चासो र सक्रियताले आफूलाई खुशी लागेको बताउनु भयो । दोलखाको अन्य सम्पदाहरूको पुनर्निर्माणका लागि सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो । उद्घाटन समारोहमा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले राजहिटी धारा कलात्मक प्राचिन शैलीमा पुनर्निर्माण हुनु ऐतिहासिक पहिचान र गौरवको विषय भएको बताउनु भयो । त्यस्ता सम्पदा संरक्षणमा भीमेश्वर नगरपालिकाको तर्फबाट पनि काम भइरहेको उहाँले सुनाउनु भयो । मल्ल कालमा राजाहरूले स्नान गर्ने राजहिटी धारा पुनर्निर्माणमा ५५ लाख खर्च भएको छ । जसमा बाग्मती सरकार खानेपानी, उर्जा तथा सिन्चाइ मन्त्रालय अन्तर्गतको खानेपानी महाशाखाको ५० लाख र स्थानीयको पाँच लाख बराबरको श्रमदान रहेको दोलखा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो । धाराको दिगो संरक्षणका लागि प्राचीन ढुंगेधारा संरक्षण समिति पनि गठन गरिएको छ, भने २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । तीन वटा धारा रहेको राजहिटी धाराको विभिन्न भागमा भगवानका मूर्तिहरु राखिएका छन् । छेउमै आकर्षक पाटी समेत निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । राजहिटीको पानी विभिन्न सांस्कृतिक एवं धार्मिक कार्यहरूमा प्रयोग गरिने मान्यता रहेको छ ।

Shares

Be the first to comment on "दोलखाको राजहिटी ढुङ्गेधारा पुनर्निर्माण"

Leave a comment

Your email address will not be published.


*