सुनकोशीमा बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ७ जनाको सनाखत

चरिकोट
दोलखाको मागादेउरालीबाट काठमाडौंको लागि छुटेको शैलुंगेश्वरी यातायातको बा २ ख ७२४५ नम्बरकाे यात्रुबाहक बस चौतारा साँगाचोकगढी नगरपालिका-९ सुकुटेमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।दुर्घटनामा तीन महिने शिशुसहित ज्यान गुमाउनेको संख्या १७ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । अहिलेसम्म मृतकमध्ये सातजनाको मात्र सनाखत भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका-४, सिन्धुपाल्चोक जलजलेकी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, भीमेश्वर नगरपालिका दोलखाकी २४ वर्षीया रन्जिता केसी, शैलुङ गाउपालिका-३ कि ५१ वर्षीया रत्नकुमारी रावत र दोलखा घर भएका तीन महिनाको शिशु सिसान तामाङको सनाखत भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी दिए।

घाइते ५२ वर्षीय चेतकुमारी बस्नेत र ६ वर्षीय सलिना तामाङको उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ। मृतक सलिना तामाङ शैलुङ गाउँपालिकाकी हुन् भने बस्नेतको ठेगाना खुल्न सकेको छैन।

दुर्घटनाग्रस्त बसबाट उद्धार गरिएका ४६ जनालाई काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागि पुर्‍याइएको छ।

बसका चालक धनबहादुर तामाङको सिन्धुपाल्चोकको खाडीचौरमा रहेको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि धुलिखेल अस्पताल रिफर गरिएको अस्पतालले जनाएको छ।

बोल्न नसक्ने अवस्थामा रहेकोले चालक तामाङलाई थप उपचारका लागि धुलिखेल रिफर गरिएको हो। घाइतेमध्ये अन्य छ जना गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ।
देउराली बजारबाट बस छुट्दा ३४ जना यात्रु थिए : प्रहरी

सुनकोशी नदीमा खसको बस मागादेउराली बजारबाट छुट्दा ३४ जना यात्रु रहेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मागादेउराली, दोलखाका इन्चार्ज सई जयप्रकाश पाण्डेका अनुसार बस बिहान ९ बजे छुटेको थियो। ‘मागादेउरालीको देउराली बजारबाट छुट्दा ३४ जना यात्रु रहेकाले हाम्रो रेकर्डमा छ’ सई पाण्डेले भने। बस सिट फुल गरेर हिडेको र बसमा वालबच्चा समेत रहेको उनले जनाकारी दिए। बिचबाटोमा पनि यात्रु चढ्ने भएकाले बसमा चढ्ने यात्रुको संख्या वृद्धि हुन सक्ने प्रहरीको अनुमान छ।
बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस दिउँसो सवा एक बजे सुनकोशी नदीमा खसेको थियो।

Shares

Be the first to comment on "सुनकोशीमा बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ७ जनाको सनाखत"

Leave a comment

Your email address will not be published.


*