दोलखाको ब्लड बैँकमा ४ युनिट मात्रै रगत मौज्दात

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २८
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको चरिकोटमा रहेको ब्लड बैँकमा ४ युनिट मात्रै रगत मौज्दात रहेको छ ।
लकडाउनको समयमा रक्तदानको कार्यक्रम गर्न नसकिएको र सो भन्दा अघि रक्तदानबाट रगत संकलन भएपनि खपत भइसकेकाले ४ युनिट मात्रै रगत ब्लड बैँकमा मौज्दात भएको हो ।
सभापति पोखरेलले भने “समय सुत्केरीलाई बाहेक अन्य बिरामीको लागि रगतको आवश्यकता पनि परेको छैन । जतिलाई रगत चाहिएको छ, उनिहरुलाई आफन्त र सैनिकले दिइएका छन् । रगत अभावकै कारण कोही कसैले मृत्युको मुखामा पर्नुपर्ने छैन ।” लकडाउन अघि प्रत्येक महिना विभिन्न संघसंस्थाले रक्तदान गरिरहेका थिए । संकलन गरिएको रगत खपत भइसकेकाले ब्लड बैँकमा रगत कम भएको हो । चैत्र महिनामा जिल्ला सहकारी संघ लिमिटेड, शिक्षक महासंघले रक्तदान गर्नुपर्ने जिम्मेवारी रहेको भएपनि लकडाउनका कारण रक्तदान कार्यक्रम स्थगित भएको सभापति पोखरेलले बताए । यो समयमा कोहीलाई रगत आवश्यकता परेमा नेपाली सेना, शसस्त्र प्रहरी लगायतले रक्तदान गर्ने जनाइएको छ । उनले यदि रक्तदान गर्न चाहनेले ९८४४३०८८८८ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् । लकडाउनको समयमा रेडक्रसका पदाधीकारीका लागि व्यक्तीगत सुरक्षा सामग्री पीपीइ सहित मास्क, पञ्जा केन्द्रमा माग गरिएको रेडक्रसले जनाएको छ ।
कोरोनाबारे सचेतना फैलाउदैँ रेडक्रस
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले विश्वव्यापी रुपमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि सचेतना फैलाइरहेको छ ।
कोरोना भाइरसबाट सिर्जित डर, त्रास, भय कम गराउन र कोरोनाबाट बच्ने उपायहरुको बारेमा विभिन्न स्थानमा गएर सचेतना फैलाएको हो ।
कोरोना भाइरसको रोकथाम नियन्त्रण र प्रतिकार्यका लागि सचेतना फैलाउने कार्यहरु लकडाउनको समयमा पनि गरिरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले बताए ।


उनका अनुसार जिल्लामा २४ वटा नेपाल रेडक्रस दोलखाका उपशाखाहरु रहेका छन् । उपशाखाहरुलाई पनि आफ्नो क्षेत्रमा सचेतनाका गतिबिधी सुरक्षित भएर गर्न भनिएको छ । “विषेश गरि यो समयमा रेडक्रसले सचेतनामुलक कार्यक्रम गरि कोरोनाबाट जोगिन लकडाउन पालना गर्न अनुरोध गरिएको छ । समुदायमा आवश्यकता र अवस्था हेरी साबधानीपुर्वक सचेतना फैलाएको छ ।” उनले भने ।
सभापति पोखरेलले विभिन्न सञ्चार माध्यमबाट सचेतना फैलाइरहेको बताए । त्यसैगरि विभिन्न स्थानमा गएर कोरोनाबारे पर्चापम्पलेट वितरण पनि गरिएको बताए । केही दिन अघि कालिञ्चोक गाउँपालिकाको ६ वटा र गौरीशंकर १ वटा, त्यसैगरि नाम्दु, काभ्रे र जिरी उपशाखामा स्थानीय सर्वसाधारणका लागि पर्चापम्पलेट वितरण गरिएको छ । साथै केहि उपशाखाका लागि मास्क वितरण गरिएको उनले बताए ।
पवटी उपशाखाद्धारा कोरोनाबाट बच्न हात धुन प्रोत्साहन
नेपाल रेडक्रस सोसाइटी उपशाखाले कोरोनाबाट बच्न आफ्नो कार्यालय अगाडी हात धुने व्यवस्था गरि हात धुन सिकाउने गरेको छ । हात धुनका लागि पानी राख्न ड्रम र साबुनको व्यवस्था गरि त्यहाँ आउने सर्वसाधरणलाई हात धुन सिकाउने गरेको छ । साथै कोरोनाबारे सचेतना फैलाउन सन्देश फैलाउन माइकिङ गरिरहेको उपशाखाका सभापति शिव भुजेलले बताए । विभिन्न टोलटोलमा माइकिङ गर्नाले कोरोनाबारे स्थानीयलाई थाहा भएको बताए । उनले लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयन र पालना गर्न आग्रह गरेका छन् ।

Shares

Be the first to comment on "दोलखाको ब्लड बैँकमा ४ युनिट मात्रै रगत मौज्दात"

Leave a comment

Your email address will not be published.


*