दोलखाकी एक गर्भवतीको हवाई उद्धार

काठमाडौं । गम्भिर बिरामी परेकी दोलखाकी एक गर्भवतीको हवाई उद्धार गरि उपचारका लागि काठमाडौं ल्याइएको छ ।  अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा शुक्रबार (हिजो) भर्ना भएकी गौंरीशंकर गाउँपालिका–४ झ्याँकुकी ७ महिनाकी गर्भवती पासाङठिली शेर्पालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरि शनिबार दिउँसो काठमाडौं ल्याइएको हो । अहिले उनको काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालमा उपचार भइरहेको छ । ६ दिनदेखि रक्तश्राव भएकी उनलाई थप उपचारका लागि काठमाडौं रिफर गर्नु परेको केन्द्रका चिकित्सक डा. अरुण उप्रेतीले जानकारी दिए । अस्पतालका अनुसार उनको पाठेघरको मुखमा र पेटमा रहेको बच्चाको समेत मुटुमा समस्या देखिएको थियो । अस्पतालले काठमाडौं लैजानुपर्ने अवस्था रहेको सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई जानकारी गराएका थिए । त्यसलगत्तै मन्त्री गुरुङले आफ्नै पहलमा हवाई उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरेका थिए ।मन्त्रालय अन्तरगतको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमले दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गर्दै आएको छ । लकडाउनको अवधिमा मात्रै २० जना गर्भवती तथा सुत्केरीहरुको निःशुल्क हवाई उद्धार गरिएको कार्यक्रम समन्वय इकाइकी प्रमुख अञ्जु ढुंगानाले बताइन् ।

Shares

Be the first to comment on "दोलखाकी एक गर्भवतीको हवाई उद्धार"

Leave a comment

Your email address will not be published.


*