दोलखाका ९ वटा इलाका हुलाक कार्यालय भाडाको घरमा

इश्वर बिश्वकर्मा /चरिकोट, –जिल्लाको विभिन्न स्थानमा रहेका नौ वटा इलाका हुलाक कार्यालय भाडाको घरमा सञ्चालित छ । ती कार्यालयले मासिक एक हजार ५ सय देखि दुई हजार ३ सय रुपैयाँ सम्म घरभाडा बुझाउदैँ आएको छ । जिल्ला हुलाक कार्यालयको अनुसार घर भाडा बापत वार्षिक एक लाख ९४ हजार रुपैयाँ खर्च हुने गरेको छ । स्रोत अभावले भवन निर्माण नभएकोले भाडाको घरबाट कार्यालय सञ्चालनमा छ । जसले गर्दा कार्य सम्पादनमा समस्या हुने गरेको कर्मचारीहरुले गुनासो गरेका छन् ।
इलाका हुलाक कार्यालय मेलुङले दुई हजार तीन सय, भुषाभेदाले एक हजार ८ सय जफेले एक हजार ९ सय, नाम्दुले एक हजार ८ सय, सुनखानीले दुई हजार, चित्रेले एक हजार ४ सय, खारेले एक हजार ४ सय, खोपाचाँगु कार्यालयले एक हजार ८ सय र इलाका हुलाक कार्यालय लामाबगरले एक हजार ५ सय रुपैयाँ भाडा बापत बुझाउने गरेको छ ।
मासिक १६ हजार एक सय ८८ रुपैयाँ घर भाडामा खर्च हुने गरेको जिल्ला हुलाक कार्याल प्रमुख सुरेश बाबु घिमिरेले बताउनुभयो । “आफ्नो भवन नहुँदा निजी घरमा भाडा तिरेर कार्यालय सञ्चालन गर्न बाध्य छौँ ।” उहाँले भन्नुभयो “यसमा संघीय सरकारले बजेट र जग्गा व्यवस्थापन गरी भवन निर्माणमा सहयोग गरिदिए भाडाको घरबाट कार्यालय सञ्चालन गर्नु अवस्थाको अन्त्य हुन्थ्यो ।”
हुलाक सम्बन्धि सेवाका लागि दश स्थानमा इलाका हुलाक कार्यालय रहेको छ । ती मध्ये एक वटाको मात्र आफ्नै भवन रहेको छ । मेलुङ कार्यालयको एक सय २७ वर्ग मिटर र खोपाचाँगु कार्यालयको एक सय ४५ वर्गमिटर जग्गा रहेको छ । अन्य कार्यालयको लागि जग्गा अभाव रहेको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
नौ लाख बढी राजस्व संकलन
जिल्ला हुलाक कार्यालयले गत आर्थिक वर्ष २०७७÷०७८ मा नौ लाख १० हजार ८ सय ८४ रुपैयाँ राजस्व संकलन गरेको छ । सो राजस्व नौ वटा शिर्षकमा संकलन भएको हो । कार्यालयको अनुसार सबैभन्दा बढी हुलाक टिकट बिक्रीबाट पाँच लाख ७९ हजार ४ सय ३० रुपैयाँ र सबैभन्दा कम पत्रिका नविकरण बापत एक सय १० रुपैयाँ राजस्व संकलन गरेको छ । बारकोटबापत एक लाख २० हजार, केबल टिभी रोयल्टी ८२ हजार, एफएम नविकरण रोयल्टी ७९ हजार नौ सय ३१, बरुजु वापत ४६ हजार ८ सय, छुट भन्सार महशुल एक हजार ५ सय रुपैयाँ र पत्रिका दर्ताबापत चार ८० रुपैयाँ राजस्व संकलन भएको हो ।

Shares

Be the first to comment on "दोलखाका ९ वटा इलाका हुलाक कार्यालय भाडाको घरमा"

Leave a comment

Your email address will not be published.


*