दोलखाका ५४ हजार भन्दा बढीले गरेनन् मतदान !

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ १
मताधिकार संवैधानिक अधिकार हो । तर मताधिकार उपयोग नगर्ने पनि थुप्रै छन् । जिल्ला निर्वाचन कार्यालय दोलखाको मतदानको प्रारम्भिक विवरणले यस्तै उजागर गरेको छ। शुक्रबार स्थानीय तहको निर्वाचन अन्तर्गत आगामी पाँच वर्षको लागि नयाँ स्थानीय सरकार चुन्न मतदान सम्पन्न भयो । त्यसमा मतदाताको उल्लेख्य र उत्साहजक सहभागिता भएको भनियो । तर निर्वाचन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार स्थानीय तहको निर्वाचनमा ५४ हजार भन्दा बढीले मतदान प्रक्रियामा सहभागी नै भएनन् ।
७४ वटा वडा र नौ वटा पालिका रहेको जिल्लामा ८० हजार ५ सय १७ पुरुष र ७९ हजार ५ सय ७९ महिला गरी १ लाख ६० हजार ९६ जना मतदाता रहेका निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । तर शुक्रबार जिल्लाभर सम्पन्न निर्वाचनमा १ लाख ५ हजार ७ सय ३२ मत खसेको कार्यालयको प्रारम्भिक विवरण छ । कुल मतदातामध्ये ६६ दशमलब ०४ प्रतिशत खसेको हो । ५४ हजार ३ सय ६४ मत खसेन । यतिका मत किन खसालिएन ? नेतृत्व चयनका लागि एक मत पनि महत्वपूर्ण हुन्छ । तर यति धेरै मतदाता मतदान प्रक्रियामा सहभागी नहुनु चर्चाको विषय बनेको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख, निर्वाचन अधिकारी शकुन्तला राईले कुल मतमध्ये ५४ हजार ३ सय मत नखसेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको जानकारी दिँदै उल्लेखित संख्यामा मत नखस्नुमा नागरिक आफ्नो मताधिकार प्रति सचेत नहुँदाको परिणाम भएको बताउनुभयो । स्थानीय तहमा आफ्नो मताधिकार उपयोग गर्नका लागि मतदातालाई आह्वान गरियो । सही तवरबाट मतदान गर्न आह्वानसहित डिजिटल माध्यम तथा छापा माध्यमबाट सन्देश प्रवाह गरियो । ”मतदाता नामावलीमा नाम समावेश भएका सबै मतदाता मतदान प्रक्रियामा सहभागी हुने अपेक्षासहित सबै तयारी गरियो । तर अपेक्षा अनुसार सबै मतदाताले मतदानमा सहभागी भएनन् ।“ उहाँले भन्नुभयो, ”कतिपयले आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा सचेत नहुँदा मतदान गरेनन्। कतिपयले चुनिने नेतृत्वको विश्वास नहुँदा मतदान गरेनन् । कतिले चाहेर पनि टाढा भएकोले मतदान गरेनन् ।“ उहाँले मतदान नगर्नुमा धेरै कारणहरु हुने बताउनुभयो । ”यकिन कारण त छैनन् । तर मतदाता पिच्छे अनेकौँ कारणहरु भेटिन सक्छन् ।“ उहाँले भन्नुभयो ।
निर्वाचन हुने वा नहुने धरमरताका बीच निर्वाचन भयो । कतिपयले कोरोनाको कारण निर्वाचन नहुने आशंका पनि गरेका थिए । जसले गर्दा बैदेशिक रोजगारी र अध्ययनमा रहेका मतदाताहरु सबै फर्किएनन् । सोही कारण पनि अपेक्षाकृत मतदान हुन पाएन । उहाँले मतदाता नामावली भएका तर मृत्यु भएका व्यक्तिहरु नाम नहटाउँदा पनि मतदाता मै समावेश भएको देखिन्छ । ” कतिपय मतदाताहरुको त मृत्यु भइसेको छ। तर अहिले पनि उनीहरुको नाम रहेका छन् । तर नाम भएका मृतकका परिवारले नाम हटाउन चासो नदिएपछि उनीहरु पनि मतदाता मै समावेश भइरहेका हुन्छन्।“ निर्वाचन अधिकारी राईले भन्नुभयो ” आफन्तले मृत्यु भएको प्रमाण पेश गरेपछि मात्र मतदाताको नाम हटाइन्छ । तर त्यसो हुन नसक्दा अझै कतिको नाम नामावलीमा रहेको छ ।“ कालिञ्चोक गाउँपालिकामा १८ हजार ६ सय ६१ मतदाता रहेकोमा १२ हजार ९ सय १९ जनाले मतदान गरेका छन् । ५ हजार ७ सय ४२ जनाले मतदान गरेनन् । गौरीशंकर गाउँपालिकामा १५ हजार ३ सय ४१ जना मतदाता रहेकोमा ९ हजार ८ सय १५ ले मतदान गरे । ५ हजार ५ सय २७ ले मतदानमा सहभागी भएनन् । जिरी नगरपालिकामा १४ हजार ५८ मतदातामध्ये ९ हजार ७८ मत खसेको छ । जहाँ ४ हजार ९ सय ८० जनाले मतदान गरेनन् ।
तामाकोशी गाउँपालिकामा ५ हजार ६ सय २८ जनाले मतदान गरेनन् । तामाकोशीमा १५ हजार ८ सय ३५ मतदातामध्ये १० हजार २ सय ७ जनाले मतदान गरेका छन् । सबैभन्दा बढी मतदाता रहेको भीमेश्वर नगरपालिकामा १७ हजार ९ सय १९ मत खसेको छ । जहाँ २६ हजार ८ सय ३३ मतदाता छन् । ८ हजार ९ सय १४ मत नखसेको निर्वाचन कार्यालयको प्रारम्भिवक विवरण छ । मेलुङ गाउँपालिकामा १० हजार ८ सय ८९ मत खसेको छ । १८ हजार १ सय ५३ कुल मतदाता रहेको छ। जहाँ ७ हजार २ सय ६४ मत खसेको छैन । विगु गाउँपालिकामा कुल मतदाता १४ हजार ४ सय २३ रहेकोमा १० हजार २ सय ६ मत खसेको छ । त्यहाँ ४ हजार २ सय १७ मत खसेन ।
बैतेश्वर गाउँपालिकामा १७ हजार ४ सय ६२ मतदातामध्ये १२ हजार ३ सय ५२ मत खसेको छ । ५ हजार १ सय १० मत नखसेको उल्लेख छ । शैलुङ गाउँपालिकामा १९ हजार ३ सय ३० मतदाता रहेकोमा १२ हजार ३ सय ४८ मत खसेको छ । ६ हजार ९ सय ८२ मत खसेको छैन ।

Shares

Be the first to comment on "दोलखाका ५४ हजार भन्दा बढीले गरेनन् मतदान !"

Leave a comment

Your email address will not be published.


*