दोलखाका १६ कैदीबन्दीले गरे मतदान

दीक्षण समाचार

चरिकोट, मंसिर ४

दोलखा कारागारमा विभिन्न मुद्धामा कैद भुक्तान गरिरहेका १६ जना कैदीबन्दीले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य समानुपातिक तर्फ मतदान गरेका छन् । कारागारमा रहेका एक सय ४५ जना कैदीबन्दी मध्ये अस्थायी मतदाता नामावलीमा नाम दर्ता र परिचयपत्र भएका १६ जनाले मात्र मतदान गर्न पाएका हुन् । मतदान अधिकृत भीम बहादुर पाण्डेका अनुसार कारागारमै स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा कैदीबन्दीले बिहान सात बजेदेखि मतदान गर्न सुरु गरी आठ बजे सम्पन्न गरेका हुन् । मतदान अधिकृत पाण्डेले मतदान सम्पन्न भएसँगै मतपेटिका सुरक्षित राखिएको र बेलुका पाँच बजेपछि मत गणना स्थलमा बुझाइने बताउनु भयो । “अस्थायी मतदाता नामावलीमा नाम भएकाहरु सबैसँग परिचयपत्र रहेछ । उनीहरु समय सुरु हुने बित्तिकै मतदानमा उत्साहपूर्वक सहभागी भएका थिए ।” उहाँले भन्नुभयो “एक घण्टामा मतदान सम्पन्न भयो । मतपेटिका अहिले सुरक्षित राखिएको छ । पाँच बजे मतगणना स्थलमा बुझाइने छ ।”निर्वाचन आयोगले कैदीबन्दीलाई मताधिकार उपयोगका लागि कारागारबाटै मतदान गर्न पाउने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार दोलखा कारागारमा रहेका कैदीबन्दीले अस्थायी मतदान केन्द्रबाट मतदान गरेका मतदान अधिकृत पाण्डेले बताउनु भयो । यसअघि देशभरका कारागारका कैदीबन्दीले २०६४ र २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा मतदान गर्न पाएका थिए ।

Shares

Be the first to comment on "दोलखाका १६ कैदीबन्दीले गरे मतदान"

Leave a comment

Your email address will not be published.


*