दोलखाका स्थानीय तह बजेट निर्माण गर्दै

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १
दोलखाका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९÷०८० को कार्यक्रम तथा योजना र बजेट निर्माणको तयारीमा जुटेका छन् । स्थानीय तहमा प्रत्येक नयाँ आर्थिक वर्षको बजेट असार १० गते भित्र नगरसभा तथा गाउँसभामा पेश गर्नुपर्ने प्रावधान रहेको छ । सोही अनुरूप योजना तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तह जुटेका हुन् ।
दुई नगरपालिका र सात गाउँपालिकासहित नौ वटै स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरू आफ्नो कार्यकालको पहिलो योजना तथा बजेट तर्जुमाका लागि बस्ती तथा वडा स्तरमा पुगेर गोष्ठी, छलफल र सुझाव सङ्कलनमा सक्रिय भएका छन् । संघीय सरकारले बजेट प्रस्तुत गरेपछि स्थानीय तहमा बजेट निर्माणको प्रक्रिया सुरु भएको छ । स्थानीय तहहरू बजेटको सिलिङ प्राप्त भएपछि तथा श्रोत अनुमान र बजेटको सीमा निर्धारणको चरण पुरा गरी वडा तथा बस्तीमा योजना संकलन तथा प्राथमिकीकरणको चरणमा प्रवेश गरेका हुन् ।
जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलले आफ्नो कार्यकालको पहिलो बजेट जनमुखी किसिमको निर्माण हुने बताउदैँ अहिले वडास्तरीय योजना संकलनलाई व्यापकता दिइएको बताउनुभयो । उहाँले जनताको चाहना र योजनालाई साकार पार्ने गरी बजेट निर्माणको तयारी भइरहेको सुनाउनुभयो । नगरमा गौरवको आयोजनालाई प्राथमिकता दिँदै कृषि र पर्यटनलाई विषेश जोड दिइने उहाँले बताउनुभयो। उहाँले विकासलाई बस्तिस्तरसम्म लगी जनता प्रत्यक्ष लाभान्वित हुने गरी काम गर्नको लागि योजना तथा बजेट तर्जुमा गरिने लागिएको बताउनुभयो ।
विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले पालिकाको बजेट तर्जुमा लागि काम सुरु गरिएको सुनाउनुभएको छ । ऐन, निर्देशिका बमोजिम जनताको आवश्यकता र जनचाहनालाई सम्बोधन गर्ने गरी योजनाको प्राथमिकीकरण सहित बजेट निर्माणका लागि तयारी थालिएको उहाँले बताउनुभयो । उहाँले प्रदेशबाट बजेटको सिलिङ प्राप्त भएपछि पालिकामा बजेट निर्माणलाई व्यापक बनाइने बताउनुभयो । मेलुङ गाउँपालिकामा वडास्तरीय योजना संकलन भइरहेको छ । अध्यक्ष हिरा थोकरले असार ६ गतेसम्म योजना संकलन गरिने र नगरमा छलफल गरी प्राथमिकीकरण गरिने बताउनुभयो । उहाँले असार १० गते भित्रै गाउँ सभामा प्रस्तुत गर्ने गरी जनचाहना अनुरूप योजना तथा बजेट तर्जुमाको तयारी गरिएको बताउनुभयो । आगामी आर्थिक वर्ष ठूला योजना र गौरवको आयोजनालाई प्राथमिकता दिइने उहाँको भनाइ छ ।
जिल्लाका जनप्रतिनिधिहरूले नागरिकबीचको छलफलबाट प्राप्त योजना, माग र सुझावको आधारमा कानुनी प्रावधानलाई समेत अवलम्बन गरी परिणाममुखी र नयाँपन सहितको बजेट निर्माण गर्ने जनाएका छन् । जनता लाभान्वित हुने तथा विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि निर्माण भएका कार्यक्रम तथा बजेटले उपलब्धि र परिणाम दिने जनप्रतिनिधिहरूले बताएका छन् । बजेट निर्माणमा जुटेका स्थानीय तहका जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सञ्चार, सिँचाइ, कृषि, पर्यटन सामाजिक, आर्थिक लगायतका क्षेत्रमा काम गर्ने बताएका छन् । नयाँ जनप्रतिनिधिले निर्माण गरेका नीति तथा बजेटको अत्यधिक चासो हुने र यसले जनप्रतिनिधिको क्षमता समेत प्रदर्शन गराउने छ ।  

Shares

Be the first to comment on "दोलखाका स्थानीय तह बजेट निर्माण गर्दै"

Leave a comment

Your email address will not be published.


*