तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता नघटाउन उर्जा मन्त्रीसँग माग

चरिकोट –दोलखाका जनप्रतिनिधिहरुले तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता नघटाउन माग गरेका छन । उर्जा मन्त्री बर्षमान पुनसँग आज राजधानी काठमाडौमा भेटघाट गर्दै उनीहरुले यस्तो माग गरेका हुन ।उर्जा मन्त्री बर्षमान पुनले क्षमता घटाउनेबारे उर्जा मन्त्रालयले कुनै निर्णय नगरेको बताएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए । मन्त्री पुनले जलविद्युत आयोजना क्षमता घटाएर अनुमति नदिएको र ६ सय ५० मेघावटमा नै जलविद्युत निर्माण गर्ने गरी अध्ययनको लागि नेपाली कम्पनी टीबीआई होल्डिंग्सले चिनियाँ कम्पनीसँग लगानी जुटाउन लागेको उर्जा मन्त्री पुनले बताएको प्रमुख पाण्डेले जानकारी दिए । यस अघि दुई चिनियाँ कम्पनीले नेपाली टीबीआई होल्डिंग्सँग मिलेर संयुक्तरूपमा तामाकोशी तेस्रो जलविद्युत परियोजना निर्माण गर्ने सम्झौता गरेको चिनियाँ समाचार एजेन्सी जनाएपछि नेपाली मिडियाले समाचार प्रकाशन तथा प्रशारण गरेका थिए । सम्झौतामा ६५० मेघावटको जलविद्युत आयोजना घटाएर २ सय मेघावटमा सम्झौता भएको समाचार आएपछि दोलखाका स्थानीय संघ संस्थाहरुले विरोद्ध गरेका थिए । केही साता अघि करिब ५० करोड अमेरिकी डलर लगानी हुने गरी यससम्बन्धी संयुक्त विकास फ्रेमवर्कसम्बन्धी सम्झौतापत्रमा उर्जामन्त्रालयमा उर्जामन्त्री वर्षमान पुन र युनान प्रान्तका भाइस गभर्नर झांग गुहुवाको उपस्थितिमा हस्ताक्षर भएको समाचार आएको थियो । चीनको वाईईआईजी इन्टरनेशनल, सांघाई इन्भेष्टिगेसन, डिजाइन एण्ड रिसर्च इन्ष्टिच्युट कम्पनी लिमिटेड र नेपालको टीबीआई होल्डिंग्सबीच उक्त सम्झौता आदानप्रदान भएको समाचार आएको थियो । कार्यक्रममा दक्षिण पश्चिम चीनको युनान प्रान्तीय भाइस गभर्नर, अन्य सरकारी अधिकारी र स्टेकहोल्डर पनि उपस्थित रहेका थिए। उक्त परियोजना २ सय मेगावाटको रहने जनाइएको थियो । २०२० को सुरुतिरै निर्माण सुरु जनाइएको थियो । यो परियोजना आगामी साढे ३ वर्षभित्र पूरा हुने जनाइएको थियो ।
भेटघाट कार्यक्रममा दोलखाबाट निर्वाचित जनप्रतिनिधीहरु संघिय तथा प्रदेशका सांसद , स्थानीय तहका जनप्रतिनिधीहरु तथा राजनितिक दलका नेता , तामाकोसी तेस्रो जलविद्युत आयोजना सरोकार समितिको प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता नघटाउन उर्जा मन्त्रीसँग माग"

Leave a comment

Your email address will not be published.


*