दोलखाका चार पालिकाले आइतबार विदा नदिने

ईश्वर बिश्वकर्मा ÷चरिकोट, – अध्ययन र तयारी बिनै हचुवामा दुई दिने बिदाको निर्णय गरेको आरोपसहित सरकारको आलोचना भईरहेको बेला दोलखाका चार स्थानीय तहमा सरकारको उक्त निर्णय विरुद्ध निर्णय भएको छ । शनिबार र आइतबार बिदा दिने र अन्य दिन १ घण्टा कार्यालय समय बढाउने सरकारको निर्णय अव्यवहारिक, अवैज्ञानिक र गतल भएको भन्दै दोलखाका जिरी नगरपालिका, बैतेश्वर, कालिञ्चोक र गौरीशंकर गाउँपालिकाले उक्त व्यवस्था लागू नगर्ने निर्णय गरेका हुन् । पेट्रोलियम पदार्थ र अमेरिकी डलर सञ्चितिको समेत खपत घटाउने उद्धेश्यका साथ दुई दिन बिदा दिने र कार्यालय समय बढाउने निर्णय जेठ १ गतेदेखि लागू गरेको थियो । अहिले यो व्यवस्था परीक्षणको रुपमा प्रयोगमा रहेको छ । तर दोलखाका चार स्थानीय तहले भने परीक्षणको रुपमा रहेको बिदा नमान्ने भन्दै धमाधम पहिलेको व्यवस्था अनुसार चल्ने निर्णय गरेका हुन् । अर्थतन्त्रको सुधारमा सहयोग पुग्ने आशाका साथ संघीय सरकारले लागू गरेको निर्णय दोलखामा भने अव्यवहारिक निर्णय भन्दै उल्लंघन गर्न थालिएको हो । सरकारको निर्णय लागू हुँदा सातामा दुई शनिबार र आइतबार बिदा हुने र अन्य दिन बिहान साँढे ९ बजेदेखि साँढे ५ बजेसम्म कार्यालय सञ्चालन हुनुपर्ने हुन्छ । तर यो व्यवस्थालाई लागू नगरी पहिलेकै व्यवस्था अनुसार शनिबार मात्रै बिदा दिने र आइतबार देखि शुक्रबार सम्म साविकको समय अनुसार नै कार्यालय सञ्चालन गर्ने निर्णयमा जिल्लाका चार स्थानीय तह पुगेका हुन् । संघीय सरकारको निर्णय तल्लो तहमा लागू गर्न जटिलता पैदा हुुनुका साथै स्थानीय तहले निर्णयको उल्लंघन गर्दा बिदा नै असफलता हुने देखिएको छ । कतिपयले सरकारको निर्णय अनौठो लागेको र अव्यवहारिक देखिएकोले असफल हुने बताइरहँदा जिल्लामा बिदा नमान्ने निर्णय नै गर्न थालिएको हो । दुई दिने बिदाले सरकारको उद्धेश्य पूरा हुने देखिदैन । अर्थतन्त्रमा सुधार हुनुको सट्टा उल्टै अधोगतिमा लैजान सक्ने सम्भावना देखिन्छ । त्यसैले बिदा अस्वीकार्य रहेको पालिकाहरुले जनाएको छ । कालिञ्चोक गाउँपालिकाले पहिलेको झैँ नियमित रुपमा शैक्षिक संस्थासहित कार्यालयहरु सञ्चालन गर्ने भएको छ । सरकारको निर्णयलाई अस्विकार गर्दै गाउँपालिकाले शनिबार बाहेक अन्य दिन पहिलेकै व्यवस्था अनुसार सञ्चालन हुने निर्णय गरेको हो । पालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले दुई दिने बिदाको कुनै उपलब्धि र औचित्य नदेखिएकोले शनिबार एक दिन मात्र बिदा दिने निर्णय गरिएको बताउनुभयो । “दुई दिन बिदाको कुनै उपलब्धि र महत्व देखिएन ।” उहाँले भन्नुयो “गाउँकार्यपालिकाको बैठकमा पनि बिदा चाहिएन भन्ने कुरो आएकोले साविक अनुसार नै व्यवस्था गरिएको हो ।” उहाँका अनुसार कार्यालय आइतबार सञ्चालन गर्ने सम्बन्धमा थप निर्णय हुन बाँकी रहेको र केही दिनको कार्यापालिका बैठकले निर्णय गर्ने छ । बैतेश्वर गाउँकार्यपालिकाको १६ गते सम्पन्न बैठकले बिदा सम्बन्धि सरकारको निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको छ । गाउँपालिका पालिकाको कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्याल, स्वास्थ्य संस्था तथा विद्यालयहरुमा पहिलेको व्यवस्था बमोजिम शनिबार मात्र बिदा दिने निर्णय गरेको हो । गौरीशंकर गाउँपालिकाको कार्यपालिका १७ गतेको बैठकले गाउँपालिका क्षेत्रभित्र विद्यालय जान सवारी साधनको प्रयोग नहुने भएकाले अर्को व्यवस्था नभएसम्म पहिले झैँ विद्यालय सञ्चालन हुने तथा आइतबार बिदा नदिने निर्णय गरेको छ । गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङले विद्यालयसँगै सरकारी कार्यालय समेत आइतबार बिदा नहुने बताउनुभयो । “संघीय सरकारको यो निर्णय उचित देखिएन।“ उहाँले भन्नुभयो ”यहाँका नागरिक, विद्यार्थी, शिक्षक, कर्मचारी र सेवाग्राही सबैको मनासाय बुझ्दा आइतबार बिदा आवश्यक र उचित नभएको भन्ने बुझिएकोले सोही अनुरुप साविककै व्यवस्थाअनुसार चल्ने निर्णय गरिएको हो ।” जिल्लाको जिरी नगरपालिकाले सबैभन्दा सुरुमै जेठ ६ गते सार्वजनिक सूचना जारी गरी सरकारको निर्णयलाई अस्वीकार गर्दै पहिलेकै व्यवस्था अनुसार विद्यालय सञ्चालन गर्न निर्देशन दिएको थियो । गाउँपालिका शिक्षा शाखाका अनुसार विद्यालय मात्र आइतबार खुल्ने निर्णय भएको हो । अन्य कार्यालयहरु भने शनिबार र आइतबार नै बिदा हुने छ । जिरी नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी प्रसाद रिजालले विद्यार्थी, शिक्षक र अभिभावबाट विद्यालय आइतबार बिदा हुन नहुने भन्ने प्रस्ताव आएपछि आइतबार बिदा नदिने निर्णय गरिएको बताउनुभयो ।
१० बजे कार्यालय र शैक्षिक संस्था सञ्चालन गर्ने अभ्यास र बानी रहेकोमा अहिलेको व्यवस्था अनुसार सञ्चालन हुन कठिनाई हुने भएकोले बिदा नमान्ने निष्कर्षमा पुगिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो ”राम्रा निर्णयको स्वागत र कार्यान्वयन गर्छाैँ । तर आइतबार शैक्षिक संस्था बन्द गर्ने यो निर्णय कार्यान्वयन गर्दा कुनै उपलब्धी र फाइदा नहुने बरु उल्टै समस्याहरु देखिने भएकोले पालिका बासी, कर्मचारी, शिक्षक र विद्यार्थी र अभिभावकको इच्छा अनुरुप साविक बमोजिम चल्ने निर्णय गरिएको हो । यो निर्णय सबैको अनुकूल देखिएको छ ।“ कोरोनाको कारण शिक्षामा परेको प्रभाव र असरलाई न्यूनीकरण गर्न ध्यान दिनुपर्ने बेलामा दुई दिन बिदाको कुनै औचित्य र महत्व नदेखिएको शिक्षक तथा विद्यार्थीहरुले बताएका छन् । बिना अध्ययन विदेशको नक्कल गरेर दुई दिन बिदाको निर्णय लिनु सरकारको अपरिपक्वता रहेको आरोप लगाउँदै जनअपेक्षा र परिवेश नबुझि निर्णय लाद्न खोजेपनि त्यो प्रयास असफल हुने देखिएको हो । अब सरकारले दुई दिनको परीक्षण बिदालाई खारेज गरी पहिलेकै अवस्थामा फर्किनुपर्ने सरोकारवाला बताउछन् ।

Shares

Be the first to comment on "दोलखाका चार पालिकाले आइतबार विदा नदिने"

Leave a comment

Your email address will not be published.


*