देशभर चिसो बढ्यो

काठमाडौँ ः पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । संघीय राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ । शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सियस थियो । काठमाडौँमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ ।
“तापक्रम हल्का घटिरहेको छ । यही तरिकाले तापक्रम ओरालो लाग्ने हो भने माइनसमा जानसक्छ”, मौसमविद् अधिकारीले भन्नुभयो । आइतबार बिहान न्यूनतम तापक्रम दुईदेखि चार डिग्रीसेल्सियस हुने पूर्वानुमान गरिएको छ । आज बिहान काठमाडौँको भिजिबिलिटी चार किलोमिटर रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भए पनि आगामी तीन दिनसम्म उल्लेखनीय मौसम प्रणाली नरहने मौसमविद् अधिकारीले जानकारी दिनु भयो ।
जुम्लामा सबैभन्दा धेरै तापक्रम झरेर माइनस पाँच दशमलव सात डिग्रीसेल्सियस रहेको छ । शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्रीसेल्सियस थियो । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु÷कुहिरो लागिरहेको बताइएको छ ।
यस्तै दोलखा सदरमुकमा चरिकोट , कालिञ्चोक, जिरी, खरिढुुङ्गा शैलुङ लगायतका उच्च भूभागहरु चिसो बढेका कारण जनजीवन कष्टकर बन्दै गएको स्थानीयहरुले बताएका छन् । चीसोबाट विशेष गरी बृद्ध,रोगी तथा नवजात शिशुहरु बढी प्रभावित हुने गरेका छन् । चीसोबाट बच्न न्यानो कपडा लगाउने, तातोतरलपादार्थ पिउने, आगोताप्ने, चीसोमा बढी हिँडडुल नगर्ने जस्ताकुरामा ध्यान दिन आवश्यक रहेकोकोे चिकित्सकहरुको सल्लाह छ ।

Shares

Be the first to comment on "देशभर चिसो बढ्यो"

Leave a comment

Your email address will not be published.


*