“देशको अवस्था परिवर्तनका लागि स्वतन्त्र पार्टी”

ईश्वर बिश्वकर्मा
चरिकोट, भदौ १५
नेपाल राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताहरु “हाँच्छुउँ” आउँदा विदेश उपचारका लागि जाने तर जनता गम्भिर बिरामी हुँदा पनि सिटामोल नपाउने अवस्थाको अन्त्य गर्ने बताउनु भएको छ । बुधबार चरिकोटमा आयोजित पार्टीको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले यस्तो बताउनु भएको हो ।
उहाँले हरेक क्षेत्रमा समान पहुँच सुनिश्चिता र समान अधिकारका लागि सक्रिय हुँदै जनताको आवश्यकता, अपेक्षा र चाहना अनुसार आफु नेतृत्वको पार्टीले काम गर्ने बताउनु भयो ।

सभापति लामिछानेले टेलिभिजनबाट अवस्था परिवर्तन असम्भव भएकोले आफू राजनीतिमा होमिएको बताउनु भयो । “देशको अवस्था र जनताको उज्जवल भविष्यका लागि पत्रकारिता छाडेर राजनीति रोजेको हुँ ।” उहाँले भन्नु भयो, “हाम्रो लक्ष्य पूरा गर्न तपाइहरुको साथ चाहिन्छ ।”
उहाँले देशमा व्याप्त भ्रष्टाचार, बेथिति, विसङ्गतिलाई निर्मूल गर्दै सुशासनयुक्त देश निर्माणका लागि आफ्नो पार्टीले देशव्यापी तीव्र रुपमा सक्रिय भएको उहाँले बताउनुभयो । अन्य पार्टीले मिठा र चिप्ला कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति भएकोले अब काम बढी गर्ने र कुरा कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी जन्मिएको र अब यसलाई हुर्काउने पालो जनताको रहेको बताउँदै उहाँले अहिल्यै देशको भविष्य सोच्न र आसन्न निर्वाचनमा घण्टी चुनाव चिन्ह हेर्न आग्रह गर्नु भयो ।

भेलामा पार्टीका केन्द्रिय सदस्य सोविता गौतमले दोलखा प्राकृतिक र पर्यटकीय दृष्टिकोणले राम्रो भएपनि विकासले पछि परेको बताउँदै अब विकास र समृद्धिका लागि स्वतन्त्र पार्टी आएको बताउनु भयो । आफू दोलखामै जन्मे, हुर्केको चेली भएको नाताले जिल्लाको चिन्ता आफूलाई पनि रहेको बताउँदै गौतमले अबको चुनावमा दोलखालीले विचार गर्नुपर्ने बताउनु भयो ।

पार्टीको जिल्लास्तरीय र पालिकास्तरीय संगठन निर्माण तथा विस्तारका लागि भेलाको आयोजना गरिएको हो । जिल्लामा पार्टीले आफ्ना गतिविधिलाई ब्यापक पार्ने जनाएको छ ।

Shares

Be the first to comment on "“देशको अवस्था परिवर्तनका लागि स्वतन्त्र पार्टी”"

Leave a comment

Your email address will not be published.


*