दुई स्थानीय तहमा बालमैत्री अभियान

ईश्वर विश्वकर्मा
चरिकोट, असार २२
दोलखाको बिगु र बैतेश्वर गाउँपालिकाले बालमैत्री घोषणका लागि अभियान सञ्चालन गरिरहेको छ । बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा तथा जोखिमलाई रोकथाम गरी बालअधिकारको सुनिश्चितता गर्दै बालमैत्री पालिका घोषणा गर्ने उद्देश्य सहित बालमैत्री अभियान चलाइएको हो ।
अभियान अन्तर्गत बालमैत्री हुनका लागि क्षेत्रहरू बाल बचावट, बाल संरक्षण, बाल विकास र बालसहभागिता लगायतका ५१ वटा सूचकहरू पूरा गर्ने उद्देश्यका साथ कामहरू भइरहेका छन् । बालबालिकाको हकहित र अधिकारलाई संरक्षण, सम्मान, पहुँच, पालना, परिपूर्ति तथा सुनिश्चितताका लागि बालमैत्री अभियान सञ्चालन गरिएको बिगु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले बताउनुभयो । पालिकालाई बालमैत्री बनाउने उद्देश्यले दुई वर्ष अघिदेखि आवश्यक बजेट विनियोजन गरी अभियान सञ्चालन गरिरहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बालमैत्री हुनका लागि सूचक पूरा भएपछि पालिकालाई बालमैत्री घोषणा गरिने सुनाउनुभयो । बैतेश्वर गाउँपालिकाका श्याम कुमार तामाङले पालिकामा स्थानीय तहको पहिलो कार्यकालदेखि नै बालमैत्री अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले संविधान प्रदत्त बालअधिकारको सुनिश्चिता सँगै बालमैत्री पालिका घोषणा गर्दै दिगो विकास लक्ष्य प्राप्तिका लागि पालिका अघि बढिरहेको बताउनुभयो । उहाँले सूचकहरू पुरा गर्ने जारी रहेको बताउँदै करिब एक वर्षमा पालिकालाई बालमैत्री घोषणा गर्न सकिने सम्भावना रहेको सुनाउनुभयो ।

Shares

Be the first to comment on "दुई स्थानीय तहमा बालमैत्री अभियान"

Leave a comment

Your email address will not be published.


*