दाेलखामा ९ सय ८६ जनाले लगाए कोरोना बिरुद्धको खोप

इश्वर बिश्वकर्मा
चरिकोट, माघ १९
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस गत वर्षको माघ महिनाबाट नेपालमा पनि भित्रियो । चिनको वुहानमा पहिलोपटक देखिएको उक्त भाइरस नेपाल हुँदै दोलखामा पनि प्रवेश गरेको थियो । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि चैत्र महिनादेखि साउनसम्म जिल्लालाई पटक पटक लकडाउन गरियो । कोरोना भाइरस महामारीबाट जोगिने मुख्य अस्त्रको रुपमा लकडाउन मानिएको थियो। भने जिल्लावासी कोरोना रोकथामको लागि उपयुक्त खोपको आविष्कार र उत्पादन हुने आशा सहित प्रतिक्षामा थिए । ‘चाँडै खोप आउला र लगाएर सुरक्षित हऔंला’ भन्ने आशा हरेक नागरिकले लिएका थिए। कोरोना भित्रिएको १ वर्षपछि दोलखा सहित सिंगो राष्ट्रले कोरोना बिरुद्धको खोप पाएको छ । खोपको आशामा बसेका प्रत्येक नागरिक खोप आएपछि उत्साहित भएका छन् । गत माघ १० गते भारत सरकारले उपहार स्वरुप अनुदानमा पहिलो चरण अन्र्तगत १० लाख डोज कोरोना बिरुद्धको ‘कोभिशिल्ड’ नामक खोप उपलब्ध गराएको थियो । उक्त खोपमध्ये २ हजार ७० डोज खोप दोलखामा पनि प्राप्त भएको थियो । उक्त खोप गत १४ गतेबाट लगाउन शुभारम्भ गरिएको थियो । हालसम्म ९ सय ८३ जना फ्रन्टलाइनरले खोप लगाएका छन् । अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, सरसफाई कर्मी, एम्बुलेन्स तथा शवबाहनका चालकले खोप लगाएका हुन् । २ सय २१ स्वास्थ्यकर्मी, १८ जना अन्य कर्मचारी, ४ सय ७० जना महिला स्वास्थ्यकर्मी, ४० जना सरसफाइकर्मी, १ जना सुरक्षाकर्मी, ७ जना चालक गरि ७ सय ५७ जनाले चरिकोट अस्पतालको खोप केन्द्रबाट खोप लगाएका छन् । यस्तै जिरी अस्पतालबाट ६० जना स्वास्थ्यकर्मी, २ जना अन्य कर्मचारी, १ सय ४६ जना महिला स्वास्थ्य स्वयम्सेविका, १४ जना सरसफाइकर्मी, ४ जना चाकल गरि २ सय २६ जनाले खोप लगाएका छन् । दुवै अस्पतालबाट २ सय ८१ जना स्वास्थ्यकर्मी, २० जना अन्य कर्मचारी, ६ सय १६ जना महिला स्वास्थ्य स्वयम्सेविका, ५४ जना सरसफाइकर्मी, १ जना सुरक्षाकर्मी र ११ जना एम्बुलेन्स एवं शववाहन चालकले खोपको पहिलो डोज लगाएका छन् । उनिहरुले पहिलो डोज खोप लगाएको १ महिना पछि दोस्रो डोज खोप लगाउनुपर्नेछ । कोभिशिल्ड खोप लगाएपछि केही व्यक्तिमा खोप लगाएको ठाउँमा दुख्ने र सामान्य सुन्निने, टाउको दुख्ने, अल्छी लाग्ने, जीउ दुख्ने, जोर्नी सामान्य दुख्ने, सामान्य ज्वरो जस्ता सामान्य असर देखिए पनि खोप सुरक्षित र प्रभावकारी रहेको प्रमुख झाले बताए । पहिलो चरण अन्र्तगत खोप लगाउने क्रम जारी रहेकोले ढुक्क भएर खोप लगाउन उनले अनुरोध गरेका छन् । उनका अनुसार गर्भवती भएको अवस्थामा, गर्भधारणको योजना बनाएको अवस्थामा, उच्च ज्वरो आएको अवस्थामा, बच्चाहरुलाई दुध खुवाईरहेको आमाहरुलाई, शरीरको कुनै भागबाट रगत बगिरहेको भएमा, कोभिडलागेको २ महिना भन्दा कम भएमा, १८ वर्ष भन्दा मुनिका र कुनैपनि किसिमको एजर्ली भएमा खोप लगाउन मिल्दैन् ।

Shares

Be the first to comment on "दाेलखामा ९ सय ८६ जनाले लगाए कोरोना बिरुद्धको खोप"

Leave a comment

Your email address will not be published.


*