दाेलखामा हरायो अनुशासन, फैलियाे संक्रमण

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ ६
निषेधाज्ञा लागू गरिएता पनि कोरोना भाइरसको डढेलोमा दोलखा सल्किरहेको छ । स्थिति कहाली लाग्दो छ । दिनदिनै ७० देखि ८० जनाको हाराहारीमा संक्रमित थपिइएका छन् । कोरोना संक्रमणको कारण केही मानिसले ज्यान गुमाएका छन् । अक्सिजनको अभावले संक्रमितको उपचारमा समस्या उत्पन्न हुन थालेको छ । स्थानीय सरकार स्थानीय तहका जनप्रतिनिधिहरुले निषेधाज्ञा पालना गर्न सबै नागरिकलाई दिनहुँ बिन्ती गरिरहेका छन् । तर सो बिन्तीलाई लत्याउँदै गाउँगाउँमा विभिन्न वहानामा भिडभाड हुने गरेको छ । जिल्लामा विवाह, पूजाआजा लगायतका मान्छेको जमघट हुने गतिविधिमा पूर्णरुपमा बन्देज लगाइएको भएपनि यस्ता गतिविधि रोकिएका छैनन् । न त त्यस्ता गतिविधि रोक्ने कुनै संयन्त्र नै निर्माण गरिएको छ । बैशाखमा विवाहको लगन भएकोले निषेधाज्ञामा पनि अवस्था सामान्य रहेको झैं गरी गाउँका सबै मानिस भेला गरी डिजे घन्काएर, नाचेर, भोज खाएर धुमधाम तरिकाले विवाह गरे । फलस्वरूप जिल्लामा कोरोना संक्रमित दिनदिनै थपिएका हुन् । त्यसैगरी सामुहिक रुपमा माछा मार्न खोला, नदीमा जानु, खेल खेल्नु, समुहमा जंगलमा शिकारका लागि जानु कोरोना फैलनुको कारक तत्व बनेको छ । कोरोना प्रभावित ठाउँबाट आउने व्यक्तिहरु सिधैँ घर समाजमा घुलमिल भए । अझै पनि प्रभावित जिल्लाबाट राती राती मान्छे आउने क्रम रोकिएको छैन् । जसले गर्दा समुदायस्तरमा कोरोना संक्रमण फैलन सहयोग पुगेको छ । स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्कले बिहीबारसम्म ७ सय ८३ जना कोरोना संक्रमणले संक्रमित भएको जनाएको छ । संक्रमितहरु अधिकांश ग्रामिण क्षेत्रका रहेका छन् । उनिहरुले विवाह, पूजाआजा लगायतमा सहभागी भएपछि बिरामी भएको बताउने गरेको स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले जानकारी दिए ।
पहिलो चरणको कोरोना महामारीमा स्वयं नागरिक नै अनुशासित बनेका थिए । जसले गर्दा केहि महिनाको कठिन स्थितको सामना पछि कोरोना केहि मथ्थर भएको थियो । तर दोस्रो चरणको महामारीमा नागरिकहरु अनुशासित भएनन् । नाकमुख ढाकिने गरी मास्क लानुपर्नेमा खोले, एक्लिएर बस्नुपर्नेमा भिडभाडमा सामेल भए, हात धुने बानीलाई बढाउनुपर्नेमा त्यागे । फलस्वरूप कोरोना संक्रमित घरघरमा भेटिन थालेका छन् । सबैको पिसिआर परिक्षण गरिने हो, भने अधिकांशमा कोरोना संक्रमण पुष्टि हुन सक्ने सम्भावना छ ।
बाढौँ हौसला
जिल्लामा सुरक्षाकर्मी, स्वास्थ्य कार्यालयका कर्मचारी र स्वास्थ्य संयोजकहरुले यो संकटको बेला निरन्तर आफ्नो जिम्मेवारी पुरा गरिरहेका छन् । तर उनिहरुले हौसला र प्रोत्साहनको सट्टा अपजस सहिरहेका छन् । सामाजिक सञ्जालमा तीव्र रुपमा आलोचना र बिरोधका शब्द वाणहरु लेखिएका छन् । जसले अग्र भागमा रहेर काम गर्नेलाई हतोत्साहित बनाएको छ । संकटको बेला अग्र भागमा रहेर काम गर्नेलाई सुसभ्य किसिमले सल्लाह सुझाव दिदैँ हौसला र प्रोत्साहन दिइनुपर्ने जानकारहरु बताउँछन् ।
त्यसपछि संक्रमण दर लाग्छ ओरालो
जिल्लामा कोरोना प्रभावित जिल्ला तथा देशबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्न थालिएको छ । उनिहरु पिसिआर परीक्षणपछि कोरोना नदेखिएको खण्डमा घर जान सक्छन् । जारी निषेधाज्ञा अझ कडाइका साथ लागू गरिएको छ । उपचार र परीक्षण दायरा बढाइएको छ । जसले गर्दा केहि सातापछि जिल्लामा संक्रमितको संख्या ओरालो लाग्ने आशा गरिएको छ । केहि महिनापछि जिल्लालाई नै कोरोना मुक्त घोषणा गर्ने अवस्थाको निर्माण आउने छ । तर नागरिक अनुशासित र जिम्मेवार नबनेमा यो चाहना पूरा हुन नसक्ने जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए ।
कोरोना कारण नागरिकलाई घर बाहिर निस्कन बन्देज लगाइएको छ । यसले नागरिकको स्वतन्त्रता हुने हक खोसेको छ । तर केहि महिना खोसिएको हक फेरि पछि कोरोना साम्य भएपछि फिर्ता हुने छ । कोरोनाबाट बच्न जस्तो सुकै परिस्थिति पनि सहनुपर्ने सचेत नागरिकहरु बताउँछन् ।

Shares

Be the first to comment on "दाेलखामा हरायो अनुशासन, फैलियाे संक्रमण"

Leave a comment

Your email address will not be published.


*