दोलखामा प्रदेश सरकारद्धारा आमाबुबा बिहिन बालबालिकाको संरक्षणको लागि ७ लाख विनियोजन

चरिकोट (दीस) –बागमती प्रदेश सरकारले चालु आर्थिक बर्षबाट बाबुआमा विहीन दोलखाका बालबालिकाहरुको संरक्षण गर्ने कार्य सुरु गरेको छ । बागमती प्रदेश सरकारको नीतिअनुरुप बजेट व्यवस्थापन गरी चालु आर्थिक बर्षबाट बाबुआमा विहीन बालबालिकाहरुको संरक्षण गर्ने कार्य सुरु गरिएको हो । जिल्लाका २ नगरपालिका र ७ गाउँपालिका गरी ९ ओटा स्थानीय तहले चालु आर्थिक बर्षमा २९ आमाबाबु विहीन बालबालिकाहरुको संरक्षण कार्यको लागि बजेट विनियोजन गरेको छ । आमाबुबा विहीन १८ बर्ष उमेर पूरा नगरेको बालबालिकाहरुलाई लक्षित गरी बागमती प्रदेश सरकारले नेपालमै पहिलोपटक भत्ता सहित संरक्षणको कार्यक्रम ल्याएको हो । आमाबुवा दुवै नभएका बालबालिकालाई मासिक भत्ता उपलब्ध गराउनको लागि दोलखाका ९ ओटै स्थानीय तहलाई शसर्तअनुदानको बजेट विनियोजना गरिएको छ । चालु आर्थिक वर्षको लागि बागमती प्रदेश सरकारले दोलखाका २ नगरपालिकालाई ९६ हजारको दरले र ७ ओटा गाउँपालिकालाई ७२ हजारको दरले कूल रु ६ लाख ९६ हजार विनियोजन गरेको छ । जिरी र भीमेश्वर नगरपालिकामा कम्तिमा ४–४ गरी ८ जना र ७ ओटा गाउँपालिकामा ३ जनाको दरले कम्तिमा २१ जना गरी कूल २९ जना बाबुआमा विहीन बालबालिका संरक्षण गर्ने कार्यक्रम रहेको छ । आमा र बाबु दुवैको मृत्यु भएको वा दुवै वेपत्ता भएका बालबालिकाले प्रति महिना २ हजारको दरले भत्ता प्राप्त गर्ने बागमती प्रदेश सशर्त अनुदान कार्यक्रम कार्यान्वयन मार्गदर्शनमा उल्लेख छ । गैरकानुनी वा अपराधिक कार्यमा संलग्न नभई ५ वर्ष उमेर पुरा गरेका बालबालिकाको हकमा भने विद्यालयमा भर्ना भई नियमित विद्यालय जाने गरेको आमाबुबा विहीन बालबालिका भत्ता पाउन योग्य हुने उल्लेख छ ।यसरी भत्ता पाउने बालबालिकाहरुको तथ्याङक व्यवस्थित गरी सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम २३ बमोजिम मन्त्रालयमा प्रतिवेदन पेश गर्नु पर्ने हुन्छ ।

Shares

Be the first to comment on "दोलखामा प्रदेश सरकारद्धारा आमाबुबा बिहिन बालबालिकाको संरक्षणको लागि ७ लाख विनियोजन"

Leave a comment

Your email address will not be published.


*