अदालतबाट ब्रह्म न्याय नहुने ः कामु प्रधान न्यायाधीश कार्की

बाबुराम शर्मा(चरिकोट) – कामु प्रधान न्यायाधीश दीपककुमार कार्कीले सत्य तथ्य र सबुद प्रमाणका आधारमा न्याय सम्पादन गरिने भएकाले न्यायालयले ब्रह्म न्याय नगर्ने बताउनु भएको छ । सर्वोच्च अदालतद्वारा सदरमुकाम चरिकोट स्थितको गौरीशंकर बहुमुखी क्याम्पसमा आयोजित “विद्यार्थी माझ अदालत ” कार्यक्रमको उद्धघाटन कार्कीलेसो बताउनु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नु भयो, “सबै प्रमाण तथा प्रक्रिया जुटाउन समय लाग्ने भएकाले अदालतले दिने निर्णयमा समय लागेको हो । निर्धारित समयमै निर्णय दिने सहज तरिकाहरुबारे न्यायालय सचेत रहेको छ । अपराधीले सजाय पाउनै पर्छ भन्नेमा अदालत दृढ रहेको छ । ” सरकारले भने जति शान्ति सुरक्षा दिन नसक्दा अपराधिक घटना बढेको संकेत गर्दै कामु प्रधान न्यायाधीश कार्कीले भन्नु भयो, “समाजका संबाहक समेत रहेका विद्यार्थीहरुलाई न्याय सम्बन्धी सचेतना दिन यो कार्यक्रम सुरु भएको हो । अदालत तथा यहाँ भए गरेका कामकारबाहीप्रति जागरुक हुनु पर्छ । यसो गर्दा काममा सुधार आउँछ ।” सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेलले फेसबुक चलाउँदा वा अनलाइन प्रयोगगर्दा पनि ऐनको ख्याल गर्नुपर्ने जानकारी दिँदै यसमा पनि कानुनको बरखिलाफ भए साइर्वर अपराध अन्तर्गत सजाय भोग्नु पर्ने बताउनु भयो ।
जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले अदालत न्याय दिने ठाउँ भएकाले यसबारे र यसका कामकारबाहीबारे खुलेर जिज्ञासा राख्न र जानकारी लिन आग्रह गर्नु भयो । कार्यक्रममा उप रजिष्ट्रार माधव भण्डारीले राज्य र यसका अवयवहरु, कानुनको आवश्यकता र महत्व, राज्य शक्तिको बाँडफाँड, अदालत के हो ? अदालतको आवश्यकता, यसले सम्पादन गर्ने कार्यहरु,प्रक्रिया र विधिहरु, अदालत किन जाने ?को को जाने र यसले के गर्छलगायतका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, क्याम्पस प्रमुख शान्त केसी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम समापन पश्चात् गरिएको अदालतको निरीक्षण पछि बसेको स्टाफ वैठकमा दोलखा जिल्ला अदालतका श्रेस्तेदार शिवकुमार पोखरेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने केही कानुन व्यवसायीले आफ्ना विचार राखेका थिए ।

Shares

Be the first to comment on "अदालतबाट ब्रह्म न्याय नहुने ः कामु प्रधान न्यायाधीश कार्की"

Leave a comment

Your email address will not be published.


*