दशैँमा फस्टायो दोलखाको व्यापारव्यवसाय

दीक्षण समाचार
चरिकोट, असोज १२ 
अरुबेला फाट्टफुट्ट ग्राहक पाइरहेका दोलखा सदरमुकाम चरिकोटका व्यापारी व्यवसायीहरुलाई अहिले भ्याइनभ्याई छ । दशैँको आगमनसँगै बजारका मलदेखि सडकपेटीका पसलहरूमा खरीदकर्ताको लर्को लागेपछि व्यापारीहरूको व्यस्तता बढेको हो ।
पहिले पहिले ३ सय ६५ दिन नै ग्राहकको भीड लाग्ने चरिकोटमा अहिले चाडपर्वको बेला मात्र सोचेजस्तो ग्राहक पाइन थालेको हो । अरुबेला फाट्टफुट्ट मात्र ग्राहक आउने गरेका छन् । गाउँगाउँमा सडक र व्यापारव्यवसाय विस्तार भएपछि चरिकोट बजारको व्यापारव्यवसाय ओरालो लागेको भन्ने यर्थाततालाई नकार्ने कोही छैनन् ।
मंगलबार दशैँको दोस्रो दिन । यो दिन पनि दशैँको सुरुको दिन झैँ व्यापारव्यवसायमा चहलपहल बढेको छ । अरु दिन आफ्नो पसलमा प्रायःजसो मोबाइल चलाएर दिन कटाउन बाध्य धेरैजसो व्यापारीहरू अहिले ग्राहकको सन्तुष्टिका लागि व्यस्त भएका छन् । दशैँ मान्नेहरूको माझमा नयाँ कपडा लाउने र मिठो खाने परम्परा छ । वर्षभर कमाउने र दशैँमा खुलेर खर्च गर्ने चलन छ । यसैलाई निरन्तरता दिदैँ बजारमा नयाँ कपडा र खाद्य सामग्री किन्ने मानिसहरको भीड लागेको छ ।
दशैँको सुरुवात भएसँगै व्यापार चम्किँदा यसअघि निराशा छाएको व्यापारी व्यावसायीमा उत्साह छाएको छ । अहिले चरिकोट बजारमा व्यापारबाट मनग्य आम्दानी भईरहेको व्यापारीहरूले बताएका छन् । पशुपति डाँडाका फेन्सी व्यवसायी दोर्जे शेर्पाले आफ्नो व्यवसाय दशैँमा राम्रोसँग फस्टाएको बताउनु भयो । उहाँको पसलमा विषेश गरी परिचित नियमित ग्राहकहरू आउने गरेका छन् । चाडवाडको बेला व्यवसायले छलाङ मार्ने गरेपनि अरु समयमा उही ग्राहक पर्खेर बस्ने अवस्था रहेको उहाँले सुनाउनु भयो । अरु बेलाको सामान बिक्री नभएपछि चाडबाडमा एकै पटक बिक्री हुने गरेको छ । संघीयता पछि चरिकोटमा व्यवसायमा लगानी गर्नेहरू बढेपनि व्यवसायले कतिपयलाई घाटामा पु¥याएको उहाँको ठम्याइ छ । तर आफ्नो व्यवसायले भने आफूलाई हतोत्साही हुने स्थिति भने नल्याएको उहाँले सुनाउनु भयो ।
२०७२ अघिका वर्षहरू सम्झँदै उहाँले यसो भन्नु भयो “उ बेला चरिकोट बजारका सबै पसल ग्राहकले भरिभराउ हुन्थे । जब संघीयता लागू भयो । गाउँगाउँमा सडक र पसल व्यवसाय सुचारु हुन थाले । जसले गर्दा चरिकोट बजारको व्यापार सुक्यो ।”
सातदोबाटोका एक फेन्सी व्यवसायी कुराकानी गर्न समेत आफूसँग फुर्सद नभएको बनाउनु भयो । कुराकानीका लागि एक मिनेट समय मिलाउन नसक्नुको कारण थियो, कपडा खरीद गर्ने ग्राहकको भीड । यस अघि ग्राहक पाउन हम्मे हुने पसलमा अहिले दशैँको छुट अफर दिएपछि ग्राहकको ओइरो लागेपछि उहाँ बेफुर्सदी हुनु भएको छ ।
चाडबाडको समयमा सिङ्गटी, जिरी, मैनापोखरी, भैँसे, मागादेउराली बजारको खाद्यान्न, फलफूल, कपडा, कस्मेटिक पसलहरूमा ग्राहकको भीड लाग्ने गरेको छ ।
जिल्ला बजार अनुगमन समितिद्धारा अनुगमन
जिल्लामा उपभोक्ताको हित संरक्षण गर्न चाडपर्व लक्षित बजार अनुमगन गरिएको छ । बजारका व्यापारव्यवासय मर्यादित, व्यवस्थित र उपभोक्तामैत्री बनाउन जिल्ला बजार अनुगमन समितिले बजार अनुगमन गरेको हो ।
समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाको नेतृत्वमा जिल्लाका मुख्य बजारहरु चरिकोट, जिरी, सिङ्गटी, तामाकोशी बजार अनुगन गरिएको र त्यसलाई निरन्तर जारी राखिएको समितिका सदस्य एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मिनबहादुर लामाले बताउनु भयो । अनुगमनका क्रममा उपभोक्ताको हित र नियम विपरीत गर्ने पसललाई कारबाही गरिएको छ । केही म्याद नाघेका सामाग्रीहरु जफत गरिएको छ । कतिपय व्यापारीव्यसायीलाई सचेत पारिएको उहाँले सुनाउनु भयो ।
उहाँले बजार अनुगमनको जिम्मेवारी भएपनि स्थानीय तहले त्यसमा चासो नदिएको उहाँले सुनाउनु भयो । “उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा बजार अनुगमन गर्न सक्ने कानूनी व्यवस्था छ । तर जिल्लामा यो व्यवस्थाको परिपालनामा स्थानीय तहले चासो दिएका छैनन् ।” सदस्य लामाले भन्नुभयो “हामीले बोलाए मात्र अनुगनमा सामेल हुन आउने गरेका छन् । तर आफ्नै नेतृत्वमा उपप्रमुख एवं उपाध्यक्षले बजार अनुगमन कमै गरेका छन् ।” सडक पुगेसँगै गाउँगाउँमा व्यापारव्यवसाय सञ्चालन भइरहेका छन् । त्यसलाई नियमन र व्यवस्थापनका लागि निरीक्षण र अनुगमन गर्न स्थानीय तहको तदारुकता आवश्यक छ । उहाँले चाडपर्वको बेला बजारमा ठगिनबाट जोगिन उपभोक्ता स्वंयपनि जागरुक हुनु पर्ने उल्लेख गर्नु भयो ।

Shares

Be the first to comment on "दशैँमा फस्टायो दोलखाको व्यापारव्यवसाय"

Leave a comment

Your email address will not be published.


*