दलित महिला वडा सदस्यको आकांक्षा वडाध्यक्ष बन्ने

ईश्वर बिश्वकर्मा ÷चरिकोट, –स्थानीय तहको पहिलो निर्वाचनमा भीमेश्वर नगरपालिका–५ मा एमालेबाट दलित महिला वडा सदस्य पदमा तारा नेपाली निर्वाचित हुनुभयो । वडा सदस्य भएपछि आफ्नो कार्यकालको पाँच बर्षे अबधिमा उहाँले धेरै अनुभव बटुल्नुभएको छ । त्यही अनुभव र सिकाइलाई उपयोग गर्न नजिकिँदै गरेको निर्वाचनमा जित्ने दाबीकासाथ वडाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुट्नु भएको छ । “पाँच वर्ष वडामा सदस्यको अनुभव लिएँ । अब वडाध्यक्ष भएर जनताको सेवा गर्छु ।“ वडा सदस्य नेपालीले भन्नुभयो “वडाको नेतृत्व लिन अहिले तयारीमा लागिपरेको छु ।“ वडा सदस्यको रूपमा काम गर्दा नागरिकको मन जितेको र अब चुनाव पनि लोकप्रिय मतकासाथ जित्ने उहाँले दाबी गर्नुभयो ।“ वडा सदस्य हुँदा गरेको योगदानको मूल्यांकन पार्टीले गरी टिकट दिनुपर्छ। त्यसपछि चुनावमा जनताले मूल्यांकन गरी लोकप्रिय मतका साथ विजय गराउने छन् ।“ उहाँले भन्नुभयो“वडाका लागि वडाध्यक्ष बन्न योग्य र सक्षम उम्मेदवार हुँ ।“२०७४ सालमा निर्वाचित वडा सदस्य बनेपछि सुरुसुरुमा पहिलो र नयाँ भएकोले काम गर्न उहाँलाई असहज भएको थियो । पदभार सम्हालेको सुरुवाती वर्षमा आफ्नो भूमिकाबारे उहाँलाई स्पष्ट जानकारी थिएन । नगर सभामा बिषय केन्द्रीत भएर बोल्न समेत मुस्किल हुन्थ्यो । जसले गर्दा कतिपयले खिसिट्युरी गर्दा उहाँलाई चित्त दुख्दथ्यो । उहाँले त्यसलाई सिक्ने प्रेरणाको माध्यम बनाउनुभयो अनि धेरैभन्दा धेरै अनुभव र सीप लिनुभयो । ”सुरुसुरुमा बोल्न नजान्दाको तितो यथार्थ अहिले पनि ताजै छ । जसले मलाई थप सिक्न हौसला मिलेको थियो । अझै सिकाईका पाइलाहरु अघि बढाउँछु । धेरै सिक्न बाँकी छ । जीवन नै सिकाई हो, सिकेर कहिल्यै सकिदैन । तर अवसर पाएपछि सिक्दै सिकाउँदै सफल हुन सकिने वडा सदस्य बनेपछिको अनुभवले दिएको छ ।“ काम गर्दै जाँदा सिकाइ र अनुभव बढेको छ र उहाँको क्षमता अभिवृद्धि भएको छ । आफूले वडा सदस्यको भूमिका निर्वाह गर्दै वडाध्यक्षको समेत जिम्मेवारीबारे नजिकबाट जानकारी लिन पाएको र आफू वडाध्यक्ष भएपछि काम गर्न सहज हुने वडासदस्य नेपालीले बताउनुभयो । ”वडा सदस्य भएर जनताको सेवा गर्ने अवसर पाएँ । तर सेवा गर्ने अझै पनि रहर छ । त्यसैले मलाई टिकट दिइनुपर्छ भनेर पार्टी नेतृत्वलाई झक्झक्याइरहेको छु ।“ उहाँले टिकट पाउनुपर्ने माग राख्दै भन्नुभयो “ रहर मात्र होइन ममा क्षमता पनि छ । त्यसैले अवसर मैले पाउनुपर्छ ।
मलाई वडाध्यक्षमा सिफारिस गर्नुपर्छ ।” उहाँले वडा सदस्य बनेपछि दलित समुदाय र लक्षित वर्गको निम्ति धेरै काम गरेको सुनाउँदै वडाध्यक्ष जिताएमा बाँकी रहेका योजना पूरा गर्दै थप कामहरु गर्ने बताउनुभयो । दलित महिला वडा सदस्य संविधानले नै व्यवस्था गरेको आरक्षित पद हो, वडाध्यक्ष पद भने खुल्ला रहेकोले चुनाव लड्न चुनौतीपूर्ण रहेपनि आफू मैदानमा उत्रिन तयार रहेको उहाँले सुनाउनुभयो । वडा नं. ५ मा एमालेबाट २४ जना बढीले वडाध्यक्ष बन्ने आकांक्षा देखाउँदा उम्मेद्वार सिफारिसमा समस्या भईरहेको वडाका अध्यक्ष रामचन्द्र बस्नेतले सुनाउनुभयो । उहाँले तीन जनामा झार्ने प्रयत्न पर्सीसम्म रहने र नभएमा पाँच जनालाई वडाध्यक्षको उम्मेद्वारमा सिफारिस गर्ने जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "दलित महिला वडा सदस्यको आकांक्षा वडाध्यक्ष बन्ने"

Leave a comment

Your email address will not be published.


*