तालिम सम्पन्न

ईश्वर बिश्वकर्मा
चरिकोट, असार २६
दोलखाको सदरमुकाम चरिकोटमा पाँच दिने  डल तथा कुसन बनाउने तालिम सम्पन्न भएको छ ।‌ भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा उज्यालो भविष्य संस्था दोलखा द्वारा आयोजित तालिम आइतबार सम्पन्न भएको हो। २८ जना महिलाको सहभागिता रहेको उक्त तालिमको सहजीकरण संगीता सुनेलले गर्नुभएको थियो । तालिम समापन समारोहमा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले समृद्ध भीमेश्वरको संकल्प साकार पार्नका लागि आर्थिक विकास, भौतिक र सामाजिक विकासलाई प्राथमिकता दिइएको सुनाउनुभयो।

महिलाले आफू पुरुषको तुलनामा कमजोर रहेको भन्ने मानसिकता हटाएर जस्तो सुकै काममा पनि पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्ने उहाँले बताउनुभयो। उहाँले महिलाको हकअधिकारको संरक्षण, सम्मान, पहुँच तथा सुनिश्चितता सहित उनीहरूको सबलीकरण र  सशक्तिकरणको लागि नगर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले तालिमबाट हासिल भएका सिकाइ र सीपलाई व्यवहारमा उतार्दै त्यसको माध्यमबाट उद्यमी बनी नगरको अर्थतन्त्रमा सहयोग पुर्याउन अनुरोध गर्नुभयो । तालिममा नगर प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष तारानाथ चौलागाईंले सीप बिना उद्यम असम्भव हुने बताउँदै सीप सिकेर उद्यम सञ्चालन गरी आर्थिक समृद्धिको उद्देश्य हासिलका लागि सघाउन आग्रह गर्नुभयो। संस्थाका अध्यक्ष राजन बस्नेतले महिलाहरूको क्षमता तथा सीप विकासको उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।

सिकेको सीपबाट आत्मनिर्भरता एवं आयआर्जनमा समेत मद्दत पुग्ने अपेक्षा रहेको सुनाउनुभयो। तालिम उपयोगी, प्रभावकारी र सकारात्मक रहेकोले महिलालाई आर्थिक हिसाबले सबल र सक्षम हुन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। तालिम समापन कार्यक्रममा दिपशंकर चौलागाईं, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेल, आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्की लगायतको सहभागिता थियो ।

Shares

Be the first to comment on "तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*