तामाकोसी पाँचौ अपर तामाकोसीले नै बनाउनु पर्ने

दीक्षण सामाचार
दोलखा,
कर्मचारी संचय कोषले प्रस्तावित ९९ मेगावाटको तामाकोसी पाँचौ जलविद्युत आयोजना माथिल्लो तामाकोसीको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडलाई बनाउन दिनेपर्ने शर्त राखेको छ ।
माथिल्लो तामाकोसीलाई थप ऋण लगानी गर्ने विषयमा बसेको ऋण लगानीकर्ता र ऋणी बैठकमा तामाकोसी पाँचौ आयोजना क्याकसेड भएकाले अपर तामाकोसीलाई नै बनाउन दिनुपर्ने सर्त राखेको हो ।
अपर तामाकोसीलाई तामाकोसी पाँचौ आयोजना पनि बनाउन दिनुपर्ने सर्त राखिएको कोषको मुख्य प्रवन्धक अर्जुनकुमार गौतमले बताए । कोषले राखेको ३ ओटा सर्त मध्ये तामाकोसी पाँचौ अपरले बनाउन पाउनु पर्ने भएको उनले स्पष्टपारे ।
‘हामीले आयोजनाको हितलाइ हेरेर सर्त राखेको हो’ उनले भने ‘माथिल्लो तामाकोसीबाट बिजुली उत्पादनपछि निस्कने पानी सिधै तामाकोसी पाँचौमा जाने भएकाले यो आयोजना पनि अपर तामाकोसीले बनाउनु पर्छ ।’ माथिल्लो तामाकोसीको पानी टेलरेसबाट सुरुङमा प्रवेश गर्ने भएकाले यो आयोजनालाई बाँध निर्माण गर्नुपर्दैन । बाँधको लागत जोगिने छ ।
संचय कोषले माथिल्लो तामाकोसीले बनाउने भए तामाकोसी पाँचौमा ऋण लगानी गर्न तयार रहेको गौतमले जानकारी दिए । विद्युत प्राधिकरणले तामाकोसी जलविद्युत कम्पनी लिमिटेड स्थापना गरेर आयोजनाको काम अघि बढाएको छ । आयोजनामा एसियन इन्फ्रास्ट्रक्चर बैङ्क (एआईबी) ले १५ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सहमति जनाएको छ । तामाकोसी पाँचौ जनताको जलविद्युत आयोजना हो ।
एआईबीले आयोजनाको थप अध्ययन गर्न १० करोड रुपैयाँ अर्थात ९ लाख डलर अनुदान दिएको छ । थप अध्ययनका लागि कम्पनीले परामर्शदाता नियुत्तिको प्रक्रिया अघि बढाएको छ । आयोजना सन २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि निर्माण अघिको काम जारी छ ।
आयोजना इन्जिनियरिङ प्रक्युरमेन्ट कन्ट्रयाक्ट (ईपीसी) खाकामा बनाउने तय भएको छ । आगामी वर्षको मध्यदेखि आयोजनाको सिभिल निर्माणको काम थाल्न कम्पनीले सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरण आपूर्तिका लागि ठेकेदार चयनको काम सुरु गरेको जानकारी दिएको छ ।
आयोजनाको ६८ प्रतिशत स्वामित्व विद्युत प्राधिकरण र ३२ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र बाँकी सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने योजना कम्पनीको छ ।
आयोजनाको ८ किलोमिटर लामो सुरुङ छ । आयोजना दोलखा जिल्लाको उत्तरीभेग सुरीमा पर्छ । आयोजना आर्थिक रुपमा आकर्षक रहेको अध्ययनले देखाएको छ ।

Shares

Be the first to comment on "तामाकोसी पाँचौ अपर तामाकोसीले नै बनाउनु पर्ने"

Leave a comment

Your email address will not be published.


*