तामाकोसी पाँचौको थप अध्ययन हुने

दीक्षण समाचार
चरिकोट, २८ फागुन
चीनमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्क (एआईआईबी) ले १०० मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत् आयोजनाको थप अध्ययन गर्ने भएको छ । एआईआईबीले उसको गाइडलाइनअनुसार वातावरणीय प्रभाव मूल्याङ्कन र जियोलोजीलगायतको अध्ययन तथा विश्लेषणका लागि परामर्शदाता नियुक्तिका लागि १० करोड रुपैयाँ अर्थात् ९ लाख डलर अनुदान दिएको छ ।
एआईआईबीले नेपालमा लगानी गर्न लागेको तामाकोसी पाँचौ पहिलो आयोजना हो । नेपाल एआईआईबीको सेयर सदस्य रहेको छ । तामाकोसी पाँचौंमा एआईआईबीले १६ अर्ब रुपैयाँ ऋण लगानी गर्दै छ । उसले आफ्नो गाइडलाइनअनुसार थप अध्ययन गर्न खोजेको हो । यसअघि प्रवद्र्धक तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजनाको अध्ययन पूरा गरिसकेको छ ।
बैङ्कको अनुदान सहयोगमा आयोजनाको सप्लिमेन्ट अध्ययन सुरु गर्नका लागि परामर्शदाता नियुक्त गर्न लागेको प्रवद्र्धक तामाकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नसिबमान प्रधानले बताए । एआईआईबीको गाइडलाइनअनुसार केही अध्ययन गर्न लागेको प्रधानले स्पष्ट पारे ।
परामर्शदाता जर्मनीको ल्याहमेयर इन्टरनेसनलले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । ल्याहमेयरले डीपीआरको मस्यौदा प्रवद्र्धक तामाकोसी जलविद्युतलाई बुझाएको छ । तामाकोसी जलविद्युत् नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो ।
आयोजनाको सिभिल निर्माणको काम सन् २०१९ को मध्यबाट सुरु गरी सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि निर्माण अघिको काम जारी छ । यता कम्पनीले आयोजना निर्माण व्यवस्थापन र सुपरिवेक्षणको कामका लागि परामर्शदाता नियुक्त गर्न लागेको छ । परामर्शदाताको प्रस्ताव मूल्याङ्कन गरिरहेको उनले जानकारी दिए । आयोजना इन्जिनियरिङ प्रक्युरमेन्ट कन्ट्र्याक्ट (ईपीसी) खाकामा बनाउने तय भएको छ ।
आगामी वर्षको मध्यदेखि आयोजनाको सिभिल निर्माणको काम थाल्न कम्पनीले सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरण आपूर्तिका लागि ठेकेदार चयनको काम सुरु गरेको जानकारी दिएको छ ।
आयोजना दुई प्याकेजमा निर्माण हुने भएको छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रामेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ । आयोजनाको ६८ प्रतिशत स्वामित्व विद्युत् प्राधिकरण र ३२ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र बाँकी सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने योजना कम्पनीको छ ।
हाल निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसीको टेलरेसबाट निस्कने पानी सीधै सुरुङमा पठाएर ९९.८ मेगाबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ८ किलोमिटर लामो सुरुङ छ । आयोजना दोलखा जिल्लाको विगू गाउँपालिका वडा नं. १, २, ३ र ४ मा पर्छ । आयोजनाको विद्युत गृह सुरीटारमा रहने प्रस्ताव गरिएको छ ।

Shares

Be the first to comment on "तामाकोसी पाँचौको थप अध्ययन हुने"

Leave a comment

Your email address will not be published.


*