तामाकोसी तेस्रोको क्षमता ६५० मेगावाट नै कायम गर्न माग

दोलखा, – तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता नघटाउन दोलखाका सांदहरुले ऊर्जामन्त्री समक्ष माग गरेका छन् । ६ सय ५० मेगावाट क्षमताको तामाकोसी तेश्रो जलबिद्युत आयोजना क्षमता नघटाइ निर्माणको काम यथाशिघ्र चाँडो अघि बढाउन ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुन समक्षमाग गरेका छन् ।
दोलखावाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ जना साँसद तथा दलका नेताहरुले विहीबार संयुक्त रुपमा उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनलाई माग पत्र बुझाउदै यस्तो माग गरेका हुन् । साँसदहरुले तामाकोसी तेश्रो जलबिद्युत आयोजना दोलखा जिल्ला, ३ नम्बर प्रदेश र समग्र मुलुकको भबिष्यसँग जोडिएको भन्दै तत्काल निर्माण अघि बढाउन भनेका छन् ।
माग पत्रमा बिस्तृत अध्ययन अनुसार ६ सय ५० मेगावाट क्षमता देखिएको तामाकोसी तेश्रो आयोजनालाई ३ सय ५ मेगावाट मात्र उत्पादन गर्ने गरी निजी क्षेत्रलाई लाइसेन्स दिनु दुःखद भएको बताए । न्यूनतम् ६ सय ५० मेगावाट नघट्ने गरी गरी आयोजनाको सम्पूर्ण काम यथासिघ्र अघि बढाउन जोडदार माग गरिएको प्रदेशसभा सांसद विशाल खड्काले जानकारी दिए ।
तामाकोसी तेश्रो आयोजनाको सर्वेक्षण लाईसेन्स पाएको टिविआई होल्डिङ् कम्पनीलाई मन्त्रालयले ३ सय ५ मेगावाट क्षमतामा आयोजना निर्माण गर्ने गरी अध्ययन गरिरहेको छ । प्रदेशसभाका साँसद पशुपति चौंलागाईले टिविआईले तामाकोसी तेश्रोको उत्पादन क्षमता घटाएको र तत्काल निर्माण हुने सुनिश्चितता समेत नभएका कारण उर्जामन्त्री र सम्वद्ध अधिकारीहरुको ध्यानाकर्षण गराएको जानकारी दिए । “तामाकोसी तेस्रोको सुन्दरता भनेकै आयोजनाबाट नदीमा लामो जलाशय बन्छ, त्यसबाट पर्यटन विकास सहित बहुउपयोगी हुन्छ” उनले भने “पानीको भरपुर उपयोग गर्नु पर्नेमा पछिल्लो ठाउँ ओगट्ने काम मात्र देखियो ।” टीबीआइले बनाए पनि जसले बनाए पनि हुन्छ तर क्षमता घटाउन नहुनेमा सांसदहरुको जोड छ ।
अघिल्लो सरकारको पालमा उर्जा मन्त्रालयले गैरआवासीय नेपाली सँघ (एनआरएन) का अध्यक्ष भवन भट्टको कम्पनी टिविआई होल्डिङ्लाई तामाकोसी तेस्रो जलविद्युत आयोजनाको सर्वेक्षण लाईसेन्स दिएको थियो । ५ सय मेगावट भन्दा बढी क्षमताका जलविद्युत आयोजना कानुनीरुपमा नै लगानी बोर्डको क्षेत्राधिकार भित्र पर्ने भएकाले उर्जा मन्त्रालयले कम्पनीलाई दिएको सर्वेक्षण लाईसेन्स खारेज गर्न माग गर्दै परेको रिटमाथि गत कात्तिक २२ गते सर्वाेच्चले अन्तरिम आदेश दिएको थियो ।
तर, सर्वाेच्चले सो रिटमाथि गत पुसमा पुनः सुनुवाई गर्दै तामाकोसी तेस्रो सम्बन्धि अन्तरिम आदेशलाई कायम राख्न नपर्ने ठहर गरे पछि आयोजना निर्माणका लागि टिविआईलाई बाटो खुलेको थियो । आयोजनाको लागत करिव १ खर्व ३० अर्व लाग्ने अनुमान गरिएको छ । तामाकोसी तेस्रोको नर्वेजियन कम्पनी स्टाटक्राफ्टले ६५० मेगावाटमा निर्माण गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) समेत तयार गरिसकेको छ । लगानी बोर्डसँगको वार्तामा २ वर्ष अघि मात्र उसले हात झिकेको थियो ।
दोलखाका साँसदहरुले १ सय १ मेगावाटको तामाकोसी पाँचौंको काम अविलम्व अघि बढाउन र स्थानीयवासीलाई भरपुर रुपमा शेयर सुनिश्चित हुने गरी शेयर सँरचना बनाउन पनि माग गरेका छन् । माग पत्रमा ठोसे–खिम्ति जलाशययुक्त आयोजनको बिस्तृत अध्ययन गरी यथाशिघ्र काम अघि बढाउन बजेटको व्यवस्था गर्न तथा बिद्युतीकरण हुन बाँकी दोलखाका सवै गाउँबस्तिमा आगामी आर्थिक बर्ष्भित्र बिद्युतिकरण सक्ने गरी कार्यक्रम र बजेटको व्यवस्था गर्न माग पनि गरिएको छ । मन्त्रीको ध्यानाकर्षणका लागि प्रतिनिधिसभाका साँसद पार्वत गुरुङ, जिप्छिरिङ लामा र शान्तिमाया पाख्रिन, प्रदेशसभाका साँसदहरु पशुपति चौंलागाई, विशाल खड्का, आङदेण्डि शेर्पा र हिमाली गोले, पूर्व राज्यमन्त्री देवी खड्का, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गंगा कार्की लगायतका नेताहरु उर्जामन्त्रालयमा पुगेका थिए ।
उर्जामन्त्री पुनले तामाकोसी तेश्रोको लाईसेन्स बितरणको बिषयलाई कानूनी र प्राविधिक रुपमा समाधान गर्ने बताएको साँसद विशाल खड्काले जानकारी दिए । तामाकोसी तेश्रो सहित अन्य मागहरुलाई मन्त्रीज्यूले सकारात्मक रुपमा लिएको खड्काले जानकारी दिए । छलफलमा उर्जा सचिव डा. संजय शर्मा र बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पनि सहभागिता थियो ।

Shares

Be the first to comment on "तामाकोसी तेस्रोको क्षमता ६५० मेगावाट नै कायम गर्न माग"

Leave a comment

Your email address will not be published.


*