तामाकोसी गाउँपालिकाका सबै वडाहरुमा बर्थिङ सेन्टर

चरिकोट (दीस) ः दोलखाको तामाकोसी गाउँपालिकाका सबै वडाहरुमा बर्थिङ सेन्टर स्थापना गरिएको छ  । गाउँमा नै सुत्केरी गराउन सहजताको लागि गाउँ पालिकाका सात वटै वडाहरुमा बर्थिङ सेन्टर स्थापना गरिएको हो । गाउँ पालिकाको एक अस्पतालसहित सबै वडाहरुमा बर्थिङ सेन्टर स्थापना गरिएको तामाकोसी गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । पालिकाले गर्भवती तथा सुत्केरीका लागि वडावडामा विभिन्न सेवा सुविधासहितको बर्थिङ सेन्टरको स्थापना गरेको तामाकासी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताउनुभयो । “घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले काम गर्दै आएको छ । सोही अनुसार बर्थिङ सेन्टर स्थापना गरिएको छ ।” मिश्रले भन्नु भयो । सेन्टरमा आएर सुत्केरी गराउनेलाई पालिकाले २ हजार पोषण बापत खर्च दिदैँ आएको छ ।
पालिकाको स्वास्थ्य चौकीमा गर्भवतीले एक पटक जाँच गराउँदा २ सय यातयात बापतको भत्ता पाउने गरेका छन् । गर्भवती हँुदा ४ पटक जाँच गर्नु पर्ने भएकालेले एकमुष्ठ यातायात खर्च बापत आठ सय रुपियाँ प्रदान गरिने उहाँको भनाइ छ । पालिका भित्र संञ्चालनमा रहेका यी सेन्टरमा तालिमप्राप्त दक्ष प्रसूतिकर्मी खटाइएको छ । त्यसैगरी सुत्केरी गराउने साधन, औषधिसहितको सुविधा उपलब्ध गराइएको मिश्रको भनाई रहेको छ । स्वास्थ्यकर्मीले २४ घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । गर्भवतीका लागि पालिकाले २ वटा निःशुल्क एम्बुलेन्सबाट सेवा प्रदान गर्दै आएको छ । पालिका भित्र गर्भवतीलाई सुत्केरी गराउन नसक्ने अबस्थामामा अन्यत्र रिफर गर्नु परेमा त्यस वापत पालिकाले छुट्टै भत्ता उपलब्ध गराँउदै आएको तामाकोसी गाउँपालिकाले जनाएको छ । तामाकोसी गाउँपालिकामा सुत्केरी गराउनेले पोषण बापत पाँच हजार रुपैया भत्ता पाउँदै आएका छन् । जसमा नेपाल सरकारको संघिय सरकारले ३ हजार रुपैयाँ र गाउँपालिकाले थप २ हजार रुपैया दिँदैँ आएको छ । प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना भएपछि सुत्केरी गराउन सजिलो भएको स्थानीयहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकाका सबै वडाहरुमा बर्थिङ सेन्टर"

Leave a comment

Your email address will not be published.


*