तामाकोसी गाँउपालिकामा १० शैयाको अस्पताल निर्माण हुने

बाबुराम शर्मा ,चरिकोट –तामाकोशी गाउँपालिका–४ मालु जामुनेमा १५ करोडको लागतमा १० शैयाको अस्पताल भवन निर्माण हुन लागेको छ । “एक स्थानीय तह एक अस्पताल” अभियान अन्तर्गत संघीय सरकारको लगानीमा अस्पताल भवन निर्माणका लागि सरकारबाट टेन्डर स्वीकृत भइसकेकाले अब चाँडै निर्माणको थालनी हुने तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिनु भयो । उहाँका अनुसार अस्पताल भवन निर्माणका लागि वडा नम्बर ४ का स्थानीय वासिन्दाहरुले नौ रोपनी जग्गा दान दिएका छन् । जग्गा दान दिनेहरुमा परशुराम पोखरेल, राजन पोखरेल, पदमबहादुर खत्री थीर कुमारी पोेखरेल तथा जनार्दन पोखरेलले रहेका छन् । दानगरेको जग्गामा समयमै अस्पताल भवन निर्माण भई सञ्चालनमा आएको हेर्ने आँतुर रहेका जग्गादाताहरुको भनाई रहेको छ । पालिकाको स्रोतसाधनले भ्याएसम्म आफ्ना पालिकाबासीहरुलाई सुलभ रुपमा स्वास्थ्य सेवा पु–याइरहेको जानकारी दिँदै अध्यक्ष पोखरेलले भन्नु भयो, पालिकामा अस्पताल सञ्चालनमा आएपछि स्थानीयहरुलाई अझै सुविधा पुग्ने अपेक्षा राखिएको छ । सात वटा वडा रहेको गाउँपालिकामा अहिले पायक पर्ने ठाउँमा आठ वटा २४ घण्टे बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । सात वटै वडाहरुमा स्वास्थ्य चौकीहरुले स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । स्वास्थ्य चौकीबाट अपायक स्थानमा रहेका स्थानीयका लागि विभिन्न पाँच स्थानमा सामूदायिक स्वास्थ्य इकाईको व्यवस्था गरी जनशक्ति र औषधिको समेत व्यवस्थापन गरिएको छ । गाउँपालिका भित्र एक नागरिक आरोग्य केन्द्र पनि सञ्चालमा रहेको अध्यक्ष पोखलेलले बताउनु भयो ।गाउँपालिकाले प्रेसर र सुगरका रोगीहरुलाई निःशुल्क औषधि वितरण गर्ने व्यवस्था मिलाएको जानकारी दिँदै अध्यक्ष पोखरेलले भन्नु भयो, नेपाल सरकारले तोकेका गम्भिर प्रकृतिका रोग लागेका रोगीहरुलाई केन्द्र सरकारले दिने उपचार खर्चमा २० हजार रुपियाँमा गाउँपालिकाले थप सहयोग प्रदान गर्ने गरेको छ । कोभिड १९ बाट सङक्रमित बिरामीहरुलाई उपचारका लागि पालिकाबाट बाहिर लैजान तथा उपचारपछि घर फर्काउन निःशुल्क एम्बुलेन्स सेवा गाउँपालिकाले प्रदान गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिनु भयो । आफ्नै दुई वटा एम्बुलेन्सबाट अन्य रोग लागेका गाउँपालिका भित्रका निवासीलाई उपचार गर्नका लागि बाहिर लैजान तथा ल्याउन समेत एम्बुलेन्स भाडामा ३३ प्रतिशत छुट दिने गरिएको तामाकोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अरुण मिश्रले जानकारी दिँदै यो दश शय्याको अस्पताल निर्माणपछि जटिल प्रकृतिका रोगहरुको पनिउपचार स्थानीय स्तरमै हुने बताउनु भयो ।

Shares

Be the first to comment on "तामाकोसी गाँउपालिकामा १० शैयाको अस्पताल निर्माण हुने"

Leave a comment

Your email address will not be published.


*