तामाकोसीमा राफ्टिङ परीक्षण सफल

चरिकोट –दोलखाको तामाकोसी नदीमा साहसिक जलयात्रा (राफ्टिङ) को परीक्षण सफल भएको छ । तामाकोसी नदीमा राफ्टिङ परीक्षण कालिञ्चोक गाउँपालिका, तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिकाले गराएका हुन् ।
चैत लागेसँगै कालिञ्चोक गाउँपालिकाले सिंगटीबाट नागदहसम्म परीक्षण गरेर उद्घाटन समेत गरेको छ । पर्यटन प्रबद्र्धनका लागि स्थानीय सरकारहरु तामाकोसी नदीलाई पनि उपयोग गर्न लागेका हुन् । गाउँपालिकाले सिंगटी बजार देखि भिमेश्वर नगरपालिकाको नागदहसम्मको कोसीमा जलयात्राको परीक्षण गर्दा सफल भएको कालिञ्चोक गाउँपालिका अध्यक्ष बिनकुमार थामीले जानकारी दिए ।
परीक्षण सफल भएकाले अब व्यवसायिक रुपमा राफ्टिङ सञ्चालन हुने अध्यक्ष थामीले बताए । परीक्षणका क्रममा पिखुती, कोसीखेत क्षेत्रमा केही जोखिम देखिएकाले त्यसलाई गाउँपालिकाले लगानी गरेर सहज बनाउने बताए ।
प्रशस्तै स्रोत र साधन हुँदाहुँदै पनि त्यसको पहिचान गर्न नसकेको जनाउदै जलयात्रालाई पालिकाको मुख्य पर्यटन क्षेत्रको रुपमा विकास गरिने बताएका छन् । राफ्टिङ परीक्षणका लागि त्रिशुली नदीमा व्यवसायिक राफ्टिङ सञ्चालन गर्ने चालकहरु नै तामाकोसी आएका छन् । उनीहरुले पनि एकादुई ठाउँमा ढुङ्गा मिलाउँदा तामाकोसी अति राम्रो गन्तव्य हुने बताए ।
कालिञ्चोक गाउँपालिकाले परीक्षण गरे लगत्तै तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिकाले चैतेघाटदेखि किर्नेसम्म राफ्टिङ परीक्षण गरेका छन् । तामाकोसी नदी दुवै गाउँपालिकाको सिमाना हो ।
राफ्टिङ परीक्षण अध्ययनका लागि भिमेश्वर ट्राभल नामक कम्पनीले व्यवस्थापन गरेको हो । सिंगीदेखि किर्नेसम्मको परीक्षण सफल भएकाले व्यवसायिक रुपमा राफ्टिङ सञ्चालन गर्न स्थानीय युवाहरुलाई तालिम दिन लागेको छ । अब व्यवसायिक रुपमा सञ्चालन गर्न गाउँपालिकामा व्यवसाय दर्ता गरेर व्यवसायीहरुलाई यसमा लगाउने कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठकले जानकारी दिइन् ।
विगू गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले विगू र गौरीशंकर गाउँपालिकाको सिमानामा पनि जगतदेखि सिंगटीसम्म परीक्षण गर्ने बताए । नदीको किनारै किनार सडक सञ्जाल रहेको र अपर तामाकोसी लगायतका जलविद्युत आयोजनाहरुको हब समेत भएकाले जिल्लाको उत्तरी क्षेत्र आकर्षक गन्तव्य हुने दाबी गरे ।
दोलखा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कालिञ्चोक मन्दिर, दोलखा भिमेश्वरको दर्शन सँगै दोलखा उत्तरको मुख्य ब्यापारिक केन्द्र सिंगटी बजारको अवलोकन गराउने त्याहाँबाट (¥याफ्टिंग) जलयात्राको मज्जा दिलाउदै सदरमुकाम चरिकोट फर्काउदा समग्र दोलखाको पर्यटन क्षेत्रको विकास हुने सरोकारवालाहरु बताउछन् ।
(¥याफ्टिंग) परिक्षणको उद्घाटन सिंगटीबाट प्रतिनिधि सभाका सांसद एबं नेकपाका केन्द्रीय सदस्य पार्बत गुरुङ गरे । उद्घाटनसँगै गुरुङ पनि राफ्टिङ चढेर पिखुतीसम्म पुगे । समृद्ध दोलखा निर्माणको महत्वपुर्ण क्षेत्र पर्यटन भएको भन्दै जलयातायातले पर्यटन विकासमा ठुलो टेवा पुग्ने उनले बताए ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले तामाकोसीमा राफ्टिङ ४ वर्ष अघि पनि सिंगटीदेखि तामाकोसी बजारसम्म परीक्षण गरेको जानकारी दिए । त्यसबेला पनि गुरुङले नै उद्घाटन गरेको बताए । उनले एक पटक परीक्षण सफल भएपछि पटक पटक उद्घाटन मात्र गर्नुभन्दा पनि व्यवसायिक रुपमा सञ्चालकका लागि स्थानीय सरकारहरुले सहयोग गर्नुपर्नेमा जोड दिए ।

Shares

Be the first to comment on "तामाकोसीमा राफ्टिङ परीक्षण सफल"

Leave a comment

Your email address will not be published.


*