तामाकोसीको सेयरको पैसा आएन ?, आवेदन केन्द्रमै निवेदन दिनुस्

दीक्षण समाचार
चरिकोट, २४ मंसिर
अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले रकमान्तर हुन नसकेका स्थानीयसँग आवेदन माग गरेको छ । कम्पनीले गत साउन १६ देखि भदौ २१ सम्म निष्कासन गरेर सेयर नपरेको रकम फिर्ता गर्न आगमी पुस १ गतेबाट आवेदन खुलाउन लागेको हो ।
२ लाख ७६ हजार १ सय ९४ आवेदकमध्ये ५२ हजार स्थानीयको खातामा रकमान्तर नभएपछि आवेदन खुला गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आवेदन दिँदा नाम नमिलेका, खाता नम्बर नमिलेका तथा रोक्का भएका, ग्राहक परिचयपत्र विवरण नबुझाएका र ६ महिनाभन्दा बढी समय कारोबार नगरेका कारण रकम फिर्ता नभएका स्थानीयले आवेदन भर्नुपर्नेछ ।
सेयर आवेदकको खातामा डाटा रुजु गरेर रकमान्तर गर्दा समेत पैसा फिर्ता हुन नसकेपछि सेयर भर्न दरखास्त बुझाएकै केन्द्रमा आवेदन दिन कम्पनीले आग्रह गरेको छ । राजधानीबाट आवेदन दिने दोलखालीको हकमा भने चेकमार्फत रकम फिर्ता गरिने कम्पनीले जनाएको छ ।
सेयरमा नपरेको पैसा फिर्ताका लागि गाउँगाउँदेखि बैंकमा आएर रित्तो हात फर्कदै आएका छन् । उनीहरुले बैंक कर्मचारीलाई आक्रोस पोख्दै फर्कदै आएका छन् । कम्पनीको सेयर निष्कासन सह बिक्री प्रबन्धक सनराइज क्यापिटलको लापारबाहीका कारण सेयर आवेदकको रकम फिर्ता गर्न आनाकानी गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।
कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि साउन १६ देखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता सेयरका लागि निवेदन आह्वान गरेको थियो । आवेदन संकलन केन्द्र रहेका बैंकहरुबाट समेत क्यापिटल आफैंले फाराम संकलन गर्नु पर्नेमा २० दिनसम्म बेवास्ता गरेपछि आयोजना आफैंले फराम संकलन गरेर सनराइज क्यापिटलमा बुझाएको थियो । कति आवेदन प¥यो भन्ने बारे क्यापिटलले दसैंपछिसम्म स्पष्ट तथ्याङ्क दिन सकेन ।
बिक्री प्रबन्धकमा नागरिक लगानी कोष तथा सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको तामाकोसीको प्राथमिक सेयर (आईपीओ) कात्तिक १५ गते बाडँफाँट भएको थियो । तर, सेयर बाँडफाँट भएको ४ दिनपछि सबै आवेदकको खातामा पैसा जाने बताएको सनराइज क्यापिटलले हालसम्म पनि सबै आवेदकको खातामा पैसा नपठाएको पाइएको हो ।
अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता माग गर्ने आवेदकले मागबमोजिम पाएका थिए भने ११० देखि ३०० कित्ता माग गर्नेले १०२ कित्ताका दरले सेयर पाएका थिए । यस्तै ‘ख’ वर्गका ३० कित्ता माग गर्नेले ३० किता ४० कित्ता माग गर्नेले ३२ कित्ता र ५० देखि ३०० कित्ता माग गर्नेले ४८ कित्ता पाएका थिए । ‘ग’ वर्गका ३० कित्ता माग गर्ने लगानीकर्ताले ३० कित्ता, ४० कित्ता माग गर्नेले ३२ कित्ता र सोभन्दा माथी अवेदन गर्नेले ३४ कित्ता पाएका थिए । एक महिना अघि आवेदन गरेका सर्वसाधारणले पनि सेयर बाँडफाँड गरेर सेयरमा नपरेको पैसा आफ्नो खातामा फिर्ता भइसकेको छ ।

Shares

Be the first to comment on "तामाकोसीको सेयरको पैसा आएन ?, आवेदन केन्द्रमै निवेदन दिनुस्"

Leave a comment

Your email address will not be published.


*