तामाकोशी जलविद्युत् आयोजनाले आजबाट बिजुली उत्पादन गर्ने

दोलखा २१ असार । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजबाट बिजुली उत्पादन गर्नेभएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम भएको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका बताए । आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार विजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले जानकारी दिए ।आयोजनाले सोमबार विद्युतगृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले गत शनिबार ढल्केबरदेखि न्यू खिम्ती सबस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।
आयोजनाबाट उत्पादित बिजुली विद्युत्गृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । नेपाली जनताले विगत १० वर्षदेखि देखेको सपना पूरा भएको भएको छ । स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो ।
यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरिएको छ । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो । माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी समेत गराएको थियो ।

सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबारदेखि कोहरपुरसम्मका सबस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटो समयका लागि विद्युत् कटौती भएको थियो । त्यस समयमा प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथाशक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरेको थियो । यसअघि आयोजनाको सुरुङमा पानी हालेर पनि परीक्षणलगायतका काम नियमित गरिएको थियो । शुरुआती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ ।
दोलखाबासी सबै तामाकोसीको सेयरधनी
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रभावित दोलखाबासी सबै शेयरधनी भएका छन् । सेयर बाँडफाँडमा सबै दोलखाले अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर पाएका छन् । कम्पनीको २०७५ साउन १६ गतेदेखि भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखाबासीहरुका लागि सेयर आवेदन संकलन भएको थियो ।
सेयर बाँडफाँड बमोजिम दोलखावासीले न्यूनतम ३० कित्तादेखि अधिकतम १०३ कित्तासम्म शेयर पाएका छन् । प्रति कित्ता एक सय दरको तामाकोशीको शेयर सवैभन्दा कम पाउनेले ३ हजारको र अधिकतम पाउनेले १० हजार २ सय बराबरको शेयर पाएका छन् । माथिल्लो तामाकोशीको शेयर निश्काशन तथा विक्रि प्रवन्धक कम्पनी नागरिक लगानी कोष र सहायक प्रवन्धक सनराईज क्यापिटल लिमिटेडले धितोपत्र बोर्डको सहमति लिएर बुधबार शेयर बाँडफाँड गरेको हो । जस अनुसार आयोजना प्रभावित क्षेत्रको दृष्टिले ‘ग’ बर्गमा परेका आवेदनकर्ता मध्ये ३० कित्ता शेयर माग गर्नेले सतप्रतिशत, ४० कित्ता शेयर माग गर्नेले ३२ कित्ता र सो भन्दा माथि ५० कित्तादेखि ३०० कित्ता शेयर माग गर्नेले जम्मा ३४ कित्ता मात्रै शेयर पाएका छन् । ‘ग’ बर्गमा कूल ६२ लाख ९९ हजार ८ सय ६६ कित्ता शेयर बाँडफाँड भएको छ । ‘ग’ बर्गमा दोलखाका १ लाख ८९ हजार ९ सय २३ जना आवेदकहरुले २ करोड ३५ लाख ४२ हजार ३ सय ७० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।
यस्तै, आयोजना प्रभावित ‘ख’ बर्गमा ३० देखि ४० कित्ता शेयर माग गर्ने आवेदकले माग गरे वमोजिम तथा ५० कित्तादेखि ३०० कित्ता शेयर माग गर्नेहरुले ४८ कित्ताका दरले ३७ लाख ७७ हजार ५ सय ८६ कित्ता शेयर बाँडफाँड गरिएको थियो । ‘ख’ बर्गमा कूल ८१ हजार २ सय ४२ जना आवेदकले १ करोड २७ लाख ८१ हजार २ स्य ९० कित्ता शेयर माग गर्दै आवेदन दिएका थिए
आयोजनाको अति प्रभावित ‘क’ बर्गमा १० हजारसम्म आवेदन गर्नेले पूरै सेयर पाएका छन् । सोभन्दा बढी आवेदन गर्नेले १०२ कित्ताका दरले जम्मा ५ लाख १० हजार ९ सय ५० कित्ता शेयर पाएका छन् । ‘क’ बर्गमा कूल ५ हजार ५० जना आवेदकरुले १३ लाख ८८ हजार ३ सय कित्ता शेयर माग गर्दै आवेदन दिएका थिए ।
दोलखाबासीहरुको तामाकोसीको सेयरमा अत्याधिक सहभागीता भएको थियो । २ लाख ७६ हजार २१५ आवेदकले सेयरमा आवेदन गरेका थिए । तत्कालिन जिविसको कार्यालय, दोलखाले २०७१ सालमा लिएका घरपरिवार तथ्याङ्क सर्भेक्षणबाट प्राप्त दोलखा जिल्लाको जनसंख्या विवरणलाई शेयर निष्काशन, वाँडफाँड तथा विक्री प्रयोजनको लागि आधार मानेको छ । जस अनुसार दोलखा जिल्लाको जनसंख्या २ लाख ८२ हजार १२५ रहेको छ । यसलाई आधार मान्ने हो भने कुल आवेदकहरु मध्ये ९८ प्रतिशत सेयरमा आवेदन परेको थियो । आयोजनाको १५ प्रतिशत सेयर १ अर्ब ५९ करोड बराबरको सेयरका लागि सर्वसाधारणलाई बाँडेको छ ।

Shares

Be the first to comment on "तामाकोशी जलविद्युत् आयोजनाले आजबाट बिजुली उत्पादन गर्ने"

Leave a comment

Your email address will not be published.


*