तामाकोशीको ‘वेट टेस्ट’ सफल

दीक्षण समाचार  । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा विद्युत उत्पादनका लागि ‘वेट टेस्ट’ सुरु भएको छ । आयोजनाले ७६ मेगावाटको पहिलो युनिटको ‘वेट टेस्ट’ थालेको छ । तीन दिनको लगातारको प्रयासपछि सोमबारबाट वेट टेस्ट सुरू भएको हो, जसले सकारात्मक नतिजा दिएको छ ।आयोजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार अब क्रमैसँग सुरुङसहित अन्य प्राविधिक परीक्षण गरिनेछ । यसअघि परीक्षणका लागि भरिएको दुई आयोजनाको ठाडो सुरुङ जोड्ने पेनस्टकको ‘म्यानहोल’को बिर्कोबाट पानी चुहिएको थियो ।यो समाधान गरेर पानी भर्दा सुरुङमार्गको एउटा अडिट टनेलको गेटबाट पनि पानी चुहिएपछि सुरुङ खाली गर्दा पानी सुदपयोग गर्दै ‘वेट टेस्ट’ पनि गरिएको हो । समस्याहरुको समाधान गरेर आयोजनाले टर्वाइन चलाएर ‘वेट टेस्ट’ गरेको हो । अब सुरुङको सुपरीवेक्षण गरेर फेरि पानी भर्नुपर्ने हुन्छ । अहिले पानी भर्न बन्द गरेर चुहिएको मेकानिकल गेट मर्मतको काम चलिरहेको छ । ‘वेट टेस्ट’ आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण हो । विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्वाइनमा झारेर यो काम गरिन्छ । त्यसबाट जेनेरेटर, कन्ट्रोल प्यानेल लगायतका उपकरणहरु डिजाइन अनुसार चले/नचलेको हेरिन्छ तर, विद्युत् भने उत्पादन गरिँदैन । आयोजनामा गत वैशाख १६ मा सुरुङमा पानी हालेर परीक्षण शुरु गरिएको थियो । सुरूङमा पानी भर्न थालेको अवसरमा स्विच थिच्न दुई जना विभागीय मन्त्री दोलखाको लामाबगर पुगेका थिए ।निर्माण शुरु गर्दाताकाको लक्ष्यअनुसार काम भएको भए ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना २०७३ असार मसान्तमै बनिसक्नुपर्ने हो । तर समयमै काम नभएपछि स्वदेशी लगानीमा बनिरहेको आयोजनाको म्याद पटक-पटक थपियो । तर अझै आयोजना बनिसकेको छैन । आयोजनाका अधिकारीहरुको दाबी पत्याउने हो भने जेठ मसान्तसम्म आयोजनाको एउटा युनिटबाट परीक्षण उत्पादन शुरु हुनेछ र असारसम्ममा सबै युनिटबाट व्यावसायिक उत्पादन सुरु हुनेछ । तामाकोशीमा उत्पादित बिजुली रामेछापमा बनाइँदै गरेको नयाँ सबस्टेसनमा जोड्ने योजना छ । बन्दै गरेको सबस्टेसनमा जोड्न सम्भव नभएमा खिम्तीमा लैजाने विकल्प छ । यो आयोजना निर्माणमा जति लम्बियो, त्यति नै लागत पनि बढ्यो । २०६५ सालमा निर्माण थाल्दा आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख लागत अनुमान थियो । तर, निर्माण सम्पन्न हुँदासम्म ब्याजबाहेककै लागत ५३ अर्ब नाघ्ने अनुमान छ । अहिले पछिल्लो समयमा अनुमानित लागत आकाशिएर करिब ८० अर्ब पुग्ने अनुमान गरिएको छ । निर्माण अवधि करिब ५ वर्ष लम्बिँदा ब्याज, मूल्य समायोजन, विदेशी विनिमय दरमा भएका नोक्सानी र प्रशासनिक खर्च पनि बढेको आयोजनाको दाबी छ । ठेकेदारहरुले भुक्तानीमा पाउने डलर र युरोको मूल्य बढ्दा पनि आयोजनाको लागत थपियो । २०६६ सालमा अमेरिकी डलरको भाउ ८० रुपैयाँ आकलन गरिएको थियो, अहिले १२० भन्दा माथि छ । भूकम्प, नाकाबन्दी र कोरोना महामारीका कारण ढिला बनेको आयोजनाले अन्तर्राष्ट्रिय रुपमा भएको मूल्यवृद्धि र डलरको मूल्य बढेर नेपाली मुद्रामा भएको अवमूल्यनले पनि मार खेपेको छ । हाइड्रोमेकानिकलतर्फ भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले समयमा काम नसक्दा लागत भारी वृद्धि भएको हो । भूकम्पपछि आयोजनाको काम डेढ वर्षसम्म रोकिएको थियो । भूकम्पका कारण पहुँचमार्गहरु भत्किएपछि करिब तीन सय ६० मिटरको सुरुङ निर्माण गर्नुपरेको थियो । बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासिएको थियो । ठेकेदारका आवासगृह पनि क्षतिग्रस्त भएका थिए । रुग्ण बनिसकेको यो आयोजनालाई प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले ब्युँताएका थिए । आयोजनामा ढिलाइ हुन नदिन घिसिङ महिनाको एक पटक आयोजनास्थल दोलखाको लामाबगर जाने गरेका थिए । यो बीचमा मुख्य सुरुङको अन्तिम खण्डमा पानीको भार थेग्न नसक्ने कमजोर चट्टान फेला परेपछि डिजाइन परिवर्तन गर्नुपरेको थियो । विद्युत प्राधिकरणले तामाकोशीलाई गेमचेन्जर आयोजना भन्दै आएको छ । यो आयोजनाबाट वर्षमा करिब २ अर्ब ४५ करोड युनिटसम्म बिजुली उत्पादन हुनेछ ।२२ मेगावाटको रोल्बालिङ खोला मिसाएपछि त्यस्तो क्षमता २ अर्ब ६२ करोड युनिटसम्म पुग्नेछ । त्यसका लागि रोल्बालिङलाई तामाकोशीमा मिसाउन निर्माण प्रक्रिया शुरु भइसकेको छ । तामाकोशी बनेपछि पिक आवर – धेरै बिजुली माग हुने बिहान (बेलुकीको समय) मा यो आयोजनाबाट ४५६ मेगावाट उत्पादन गर्न सकिन्छ । सुख्खायाममा साँझको समयमा तामाकोशीमा ४ घण्टासम्म पानी थुनेर चलाउने (पिकिङ) योजना छ ।विद्युत प्राधिकरणका अधिकारीहरुका अनुसार माथिल्लो तामाकोशी साँझमा चलाए हिउँद महिनाका पिक आवरमा समेत भारतबाट ल्याउनुपर्ने बिजुलीको परिमाण घट्नेछ भने अरु बेला नेपालले राम्रै परिमाणमा बिजुली बेच्न सक्छ । त्यो परिमाण हिउँदमा नेपालले भारतसँग किन्नेभन्दा बढी हुने प्राधिकरणको अनुमान छ ।

Shares

Be the first to comment on "तामाकोशीको ‘वेट टेस्ट’ सफल"

Leave a comment

Your email address will not be published.


*