तामाकाेसी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तीलाई परिचयपत्र

इश्वर बिश्वकर्मा चरिकोट – दोलखाको तामाकोशी गाउँपालिकामा सोमबारदेखि अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण गर्न शूरु गरिएको छ। परिचयपत्रको आधारमा अपाङ्गता भएका ब्यक्तिलाई विभिन्न सेवा, सुविधा र अधिकार उपलब्ध गराउन जफे जामुनेमा रहेको वडा नं. ३ को कार्यालय परिशरबाट परिचयपत्र वितरण शुरु गरिएको हो । सोमबार गाउँपालिकाको वडा नं. १ भिरकोट र वडा नं. २ झुलेका अपाङ्गता भएका व्यक्तीको स्वास्थ्य परिक्षणका गरि अपाङ्गताको अवस्था अनुसार परिचय पत्र वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक अरुण कुमार मिश्रले बताए । वडा न. ३ जफे, वडा न. ४ मालु र वडा न. ५ सहरेका लागि मंगलबार र वडा न. ६ च्यामा र वडा न. ७ हाँवाका अपाङ्गता भएका व्यक्तीलाई बुधबार परिचय पत्र वितरण गरिने छ । अपाङ्गताको अवस्था बमोजिम रातो, निलो, पहेँलो र सेतो गरी चार रंगका परिचय पत्र वितरण गरिने उनले बताए । अपाङ्गता भएका व्यक्तीहरुले पुरानो परिचयपत्रको नविकरणका साथै वर्ग परिवर्तन पनि गर्न पाउने छन् । अपाङ्गता भएका व्यक्तीलाई परिचय पत्र वितरण कार्यक्रम स्थलसम्म आउन र जान यातायातको व्यवस्था गरिएको छ। गाउँपालिका उपाध्यक्ष उर्मिला खड्का (के.सी)ले अपाङ्गता भएका व्यक्तीलाई पचिरय पत्रको आधारमा विभिन्न कार्यक्रम सञ्चालन गरिने बताइन् । कुन् व्यक्तीलाई केको आवश्यकता छ, त्यसको समेत परिचयपत्र वितरणको क्रममा जानकारी लिइनेछ । त्यसपछि भत्ता उपलब्ध गराउनुको साथै ओषधी वितरण तथा उपचार प्रदान, छात्रवृति प्रदान, ह्विलचियर, अपाङ्गमैत्री मोटरसाइकल लगायतका सहयोगी सामग्री प्रदान गरिने उनले बताइन् । उनले भनिन् “गाउँ गाउँमा सिंह दरबार रहेको प्रत्याभुति गराउन अपाङ्गता भएका व्यक्तीलाई लक्षित गरि विभिन्न योजना बनाएका छौँ । ति योजना कार्यान्वयन गरि अपाङ्गता भएका व्यक्तीलाई केही राहत मिल्ने आशा गरेका छौँ ।”
Shares