तयार हुँदै म्यादी प्रहरी

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ३
निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीहरु अहिले आन्तरिक तयारीमा व्यस्त छन् । जिल्ला प्रहरी कार्यालयले लिएको शारीरिक र मानसिक तन्दुरुस्ती परीक्षामा उत्तीर्ण एवं छनौट भएका ९ सय म्यादी प्रहरीहरु प्रशिक्षण कक्षा र अभ्यासमा व्यस्त भएका हुन् । म्यादी प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालयले तालिम प्रदान गरिरहेको छ । तालिम पश्चात बैशाख ३० गते हुने निर्वाचनको सुरक्षामा परिचालन हुनेछन् । कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक अञ्जन कोइरालाले निर्वाचनका लागि छनौट भएका म्यादी प्रहरीका लागि चैत्र २५ गतेदेखि तालिम सुरु गरिएको बताउनुभयो । उक्त तालिम बैशाख ७ गते सम्पन्न हुने र सो पश्चात म्यादी प्रहरीहरु निर्वाचनको सुरक्षा व्यवस्थापनमा खटिने उहाँले बताउनुभयो । उहाँका अनुसार म्यादी प्रहरीको तालिम इलाका प्रहरी कार्यालय जिरी र इलाका प्रहरी कार्यालय सिंगटी गरी दुई स्थानमा सञ्चालन भईरहेको छ । म्यादी प्रहरीहरुलाई पायक पर्ने गरी तालिम स्थल निर्धारण गरिएको हो । बिहान ९ बजेदेखि बेलुकासम्म तालिम कक्षा सञ्चालन भईरहेको र तालिममा निर्वाचनमा खटिँदा पालना गर्नुपर्ने नियम, काम, कर्तव्य सम्बन्धि सैद्धान्तिक र व्यवहारिक रुपमा जानकारी प्रदान भईरहेको छ । त्यसैगरी निर्वाचनमा सम्भावित घटना तथा चुनौतीको सामना र त्यसको व्यवस्थापन गर्न पूर्वतयारीका लागि अभ्यास समेत गराउने कार्य भईरहेको प्रहरी निरीक्षक कोइरालाले बताउनुभयो । म्यादी प्रहरीले फिल्ड खटिएपछि त्रुटिरहित तवरबाट कार्यसम्पादन गर्नका लागि तालिम अपरिहार्य रहेको छ । निर्वाचनलाई भयरहीत, मर्यादित र शान्तिपूर्ण बनाउन म्यादी प्रहरीले अन्य सुरक्षाकर्मीसँगै तोकिएअनुरुपको भूमिका निर्वाह गर्ने छन् । उनीहरुको भूमिका मतदान केन्द्र, मतपत्र सुरक्षा, मतदाताको सुरुक्षा लगायत हुने प्रहरी निरीक्षक कोइरालाले बताउनुभयो । दोलखामा ९४ मतदान स्थल र १ सय ९३ मतदान केन्द्र रहेका छन् । ४० दिनको कार्यावधि रहेको म्यादी प्रहरीले मापदण्ड अनुसार प्रतिव्यक्ति एक मुष्ट ३० हजार २ सय ४० रुपैयाँ पारिश्रमिक र पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति एक हजारका दरले सुविधा पाउने छन् ।

Shares

1 Comment on "तयार हुँदै म्यादी प्रहरी"

  1. Right here is the perfect webpage for everyone who would like to understand this topic. You understand a whole lot its almost tough to argue with you (not that I really will need toÖHaHa). You certainly put a fresh spin on a subject that has been discussed for a long time. Wonderful stuff, just excellent!

Leave a comment

Your email address will not be published.


*