तत्काल सडक स्तरोन्नति गर्न स्थानीयको माग

चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिका वडा नंम्बर ३ स्थित अनाथालय–रातमाटे–तार्थली–तिखातल वाईपास सडकको तत्काल स्तरोन्नति गर्न स्थानीयहरुले माग गरेका छन् । सडकको स्तरोन्नति गरी कालोपत्रेसमेत गर्ने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आश्वासन दिएको लामो समय वितिसक्दा पनि सडक स्तरोन्नती गर्न वास्ता नगरेपछि स्थानीयले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी सो माग गरेका हुन् ।
निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनासँग स्थानीयहरुले पटक पटक सडक स्तरोन्नतिका माग गर्दै आन्दोलन गरेको र विगतमा तामाकोसी जलविद्युत आयोजनाले स्थानीयहरुको माग संम्बोधन गर्ने प्रतिबद्धता जनाएपनि हाल सम्म पूरा नगरेकोले पुःन आन्दोलनको घोषणा गर्न आफूहहरु बाध्य भएको अनाथालय रातमाटे तार्थली तिखातल वाईपास सडक सरोकार समितिका का अध्यक्ष ध्रुव खत्रीले जानकारी दिनुभयो । २०७४ र २०७५ सालमा स्थानीयहरुले आन्दोलन गर्दा पटक पटक नेपाल सरकारका प्रतिनिधी सहितको बैठकले गरेका निर्णय कार्यान्वयन नगरेका कारण स्थानीयहरु बाध्य भएर आन्दोलित हुनु परेको सरोकार समितिका संयोजक खत्रीको भनाई रहेको छ ।
“एउटै प्रकृतिको काम (सिंगटी–लामाबगर) मा हालसम्म पनि सडक हेरालु र सडक मर्मत सम्भार गरी बर्षेनी माथिल्लो तामाकोशी हाईड्रोले करोडौं खर्च गरेको छ, तर माथिल्लो तामाकोशी हाईड्रो पावर लि. आफैले निर्माण गरेको वाईपास सडक ४.५ कि.मी. स्तरोन्नती (कालोपत्रे) गर्न चासो नदेखाएको कारण आन्दोलनको घोषणा गर्नु परेको हो”, खत्रीले भन्नु भयो, “स्थानीयहरुको माग पूरा नभए चरणबद्धरुपमा शसक्त आन्दालनको घोषणा गरी जलविद्युत आयोजनाहरुले प्रयोग गर्ने सवारी साधन र हेभि मालवाहक गाडीलाई समेत जिल्ला बाहिर जान र जिल्ला भित्र प्रवेशमा रोक लगाउछौँ । ”
भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटीले आन्दोलनरत स्थानीयबासीहरुको मागमा आफूहरुको पूर्ण समर्थन रहेको बताउँदै स्थानीहरुको मागमा ऐक्यवद्धता रहेको बताउनु भयो । दोलखाको उत्तरी क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाले स्थानीयको माग पूरा नगरेका आफ्नै नेतृत्वमा सडक बन्द गर्ने र माग पूरा गराउन बाध्य बनाउने उहाँले चेतावनी दिनु भयो । यस्तै वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले स्थानीयको मागलाई जलविद्युत आयोजनाले बेवास्ता गर्न नहुने बताउनु भयो ।
यो सडक हुदै दोलखाका उत्तरी क्षेत्रमा निर्माणधिन जलविद्युत आयोजनाका सामानहरु ढुवानी हुदै आएका छन् । अहिले पनि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको २५ मेगावटको रोल्वालिङ डाइभर्सनकोलागि सामान ढुवानी हुने गरेको छ । त्यसैगरी निजी क्षेत्रले निर्माण गरिरहेको १ सय ६० मेगावटको लप्ची जलविद्युत आयोजना , ९९ सय मेगावाटको तामाकोसी पाँचौै जलविद्युत आयोजना सहित दर्जन भन्दा बढी जलविद्युत आयोजनाको सामान यही सडक भएर ढुवानी हुने गरेको छ ।

Shares

Be the first to comment on "तत्काल सडक स्तरोन्नति गर्न स्थानीयको माग"

Leave a comment

Your email address will not be published.


*