तंग्रिदै संरक्षण क्षेत्रका होमस्टे

ईश्वर बिश्वकर्मा
चरिकोट, पुस २६
कोरोना महामारीका कारण थला परेका गौरीशंकर संरक्षण क्षेत्रका होमस्टेहरु तंग्रिन थालेका छन् । संरक्षण क्षेत्रमा पर्ने दोलखा, रामेछाप र सिन्धुपाल्चोकको विभिन्न स्थानका होमस्टेहरु कोरोना साम्य भएपछि तंग्रिन थालेक हुन् ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकारी तुलसीप्रसाद दाहालले कोरोना साम्य भएसँगै यहाँका होमस्टेहरुमा स्वदेशी तथा विदेशी पाहुनाको चहलपहल हुन थालेको बताउनु भयो । संरक्षण क्षेत्रमा आउने पर्यटकलाई लक्षित गरी विभिन्न स्थानमा ८२ वटा होमस्टे सञ्चालनमा रहेका छन् । संरक्षण क्षेत्रमा होटल तथा रेष्टुँराहरु पर्याप्त नभएकोले पर्यटकहरुलाई बास बस्नका लागि सुविधा सम्पन्न होमस्टे सञ्चालन गरिएको हो ।
कोरोनाका महामारीका बेला होमस्टेमा पाहुना नआउँदा सञ्चालहरु निराश थिए । उनीहरुले होमस्टेमा पहिले झैँ पाहुना आउने आस मारिसकेका थिए । तर अहिले कोरोना महामारी हटेर पाहुनाको आगमन हुन थालेपछि होमस्टे सञ्चालकहरुको खुशी फर्किएको सूचना अधिकारी दाहालले बताउनु भयो । “मौलिक सजावटले आकर्षक तथा सुविधासम्पन्न होमस्टेको मज्जा लिन र सुन्दरता हेरिदिन कोही आएनन् । पाहुनाको सत्कारमा रमाउने सञ्चालकहरु निराशामा दिनहरु बिताइरहेका थिए ।” उहाँले भन्नुभयो “तर अहिले भने संरक्षण क्षेत्रसँगै होमस्टेमा चहलपहल हुन थालेपछि होमस्टे सञ्चालकहरुको खुशी फर्किएको छ ।”

प्राकृतिक सुन्दरतामा रमाउन आउने आन्तरिक तथा बाह्य पर्यटकहरु होमस्टेमा बास बस्न तथा स्थानीय रीतिरिवाज, भाषा, वेशभूषा, संस्कार, संस्कृति र खानपानमा आकर्षित हुन थालेका छन् । पाहुना आकर्षित हुन थालेपछि सञ्चालकहरुले होमस्टेको सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउने प्रयासमा जुटेका छन् । कोरोनाले ठप्प भएका होमस्टेहरुमा पाहुनाहरु आउन थालेपनि अपेक्षा गरिएअनुसार नहुँदा सन्तुष्ट भने हुन नसकिएको होमस्टे सञ्चालक सोनाम शेर्पाले बताउनु भयो । आफूहरु होमस्टेमा सोचेअनुसार पाहुना आउने प्रतिक्षमा रहेको उहाँको भनाई छ ।
संरक्षण क्षेत्रमा घुम्न आउने पर्यटकहरुलाई स्थानीय पारिवारिक आभास मिल्ने होमस्टेमा राखेर पर्यटन प्रवद्र्धन गर्न २०६९ सालदेखि होमस्टे स्थापना गर्न सुरुवात गरिएको थियो । संरक्षण क्षेत्रको तथ्यांकअनुसार हाल ८२ वटा होमस्टे सञ्चालनमा छन् । जसमध्ये गौरीशंकर गाउँपालिकामा ३२, विगु गाउँपालिकामा पाँच, जिरी नगरपालिकामा पाँच र कालिञ्चोक गाउँपालिकामा तीन वटा गरी दोलखामा ५२ वटा होम स्टे रहेको छ । गोकुलगंगा गाउँपालिकामा दश वटा, उमाकुण्ड गाउँपालिकामा पाँच वटा गरी रामेछाप क्षेत्रमा १५ वटा रहेको छ । त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १५ वटा होम स्टे संरक्षण क्षेत्रमा दर्ता भई सञ्चालनमा रहेका छन् ।
कला, संस्कृति, रहनसहनको संरक्षण गर्दै पर्यटन व्यवसायमा मार्फत स्थानीयलाई आयआर्जन गराउने उद्धेश्यका साथ संरक्षण क्षेत्र आयोजनाले संरक्षण क्षेत्रमा होमस्टे सञ्चालन गर्न अनुमति दिने गरेको छ । संरक्षण क्षेत्र आयोजनाले होमस्टेको दिगो व्यवस्थापन र स्तरोन्नतीका लागि आवश्यक सहयोग पनि गर्दै आएको छ ।
यस वर्षको सिजनमा संरक्षण क्षेत्रमा चार सय १६ जना विदेशी पर्यटकहरुले भ्रमण गरेका थिए । सूचना अधिकारी दाहालले कोरोना महामारी हटेको र कुनै जोखिम नरहेको सन्देश प्रवाह भएपछि संरक्षण क्षेत्रको पर्यटकीय क्षेत्रमा चहलपहल बढेको बताउनु भयो । संरक्षण क्षेत्रको पूर्वमा सगरमाथा राष्ट्रिय निकुञ्ज, पश्चिममा लाङटाङ राष्ट्रिय निकुञ्ज र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ ।

Shares

Be the first to comment on "तंग्रिदै संरक्षण क्षेत्रका होमस्टे"

Leave a comment

Your email address will not be published.


*