ढुक्क भई खोप लगाउन अनुरोध

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ २६
स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जून पौडेलले सुरक्षित र ढुक्क भएर खोप लगाउन अनुरोध गरेका छन् । आजदेखि ३० गतेसम्म ९ वटै स्थानीय तहमा कोरोना विरुद्धको भेरोसिल खोप अभियान सुभारम्भ हुदैँ छ । ६३ र ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकले खोप लगाउन पाउने भएका छन् । यसले गर्दा लक्षित समुहका धेरै जना जेष्ठ नागरिक उत्साहित र खुशी छन् । यद्यपी खोप लगाइसकेपछिको परिणाम नकरात्मक हुने आशंका व्यक्त गर्न थालिएको छ । भेरोसिल खोप प्रभावकारी रहेको बताउदैँ प्रमुख पौडेले भने ‘खोप लगाएपछि छोटो समयसम्म शरीर, टाउको, पाखुरा दुख्ने र कमजोरी महशुस हुने लगायतका सामान्य लक्षण देखिन सक्छ । दीर्घकालिन रुपमा यस्ता नकरात्मक असर रहदैँन । यो खोप लगाएपछि कोरोनाबाट जोगिन सकिन्छ । त्यसैले लक्षित समुहका सबैलाई निर्धक्क भई खोप लगाउन अनुरोध छ ।’ भेरोसिल चिन सरकारले अनुदान स्वरुप नेपाललाई उपलब्ध गराएको खोप हो । यसको प्रभावकारिता ७९ प्रतिशत रहेको बताइएको छ । यसअघि जिल्लामा कोभिशिल्ड खोप अभियान सञ्चालन गरिएको थियो । तर खोप लगाउन लक्षित समुहमा परेका धेरैले सामान्य लक्षण देखापर्ने भन्दै डर मानेर खोप लगाएका थिएनन् । उनिहरु अहिले पछुतो मान्न बाध्य छन् । त्यसैले अहिले पालो आएका ६३ र ६४ वर्षका उमेर समुहका सबै जेष्ठ नागरिकले तोकिएको खोप केन्द्रमा गई आवश्यक सावधानीका साथ पहिलो मात्रा लगाउन स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् । हाल कोरोना संक्रमण भएको र तर संक्रमणमुक्त भएको ३० दिनपछि भने तालिकाअनुसार पहिलो वा दास्रो मात्रा लगाउन मिल्छ । त्यस्तै ‘इमोनोग्लोबिन’, ‘मोनोल्नल एन्टिबोडिज, ‘कोभालेसेन्ट प्लाज्मा’ थेरापी लिएको व्यक्तिले ९० दिनपछि यो खोप लगाउन मिल्छ । छारे रोग भएको, मष्तिस्कसम्बन्धि रोग भएका व्यक्तिले यो खोप लगाउन नमिल्ने जानकारहरुले बताएका छन् । जिल्लामा अभियानका लागि पायक पर्ने गरी जिल्लामा २७ वटा खोप केन्द्र निर्धारण गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ५ हजार ४ सय मात्रा खोप उपलब्ध भएको छ । खोप लगाउन आउँदा नागरिकता, उमेर खुल्ने सरकारी कागजात वा उमेर खुल्ने वडाको सिफारिस साथमा लिएर आउनुपर्ने बताइएको छ । खोप अभियान भीमेश्वर नगरपालिका विगु, मेलुङ, कालिन्चोक र शैलुङ गाउँपालिकामा २६ र २७ सञ्चालन हुने छ । त्यस्तै जिरी नगरपालिका, तामाकोशी, बैतेश्वर र गौरीशंकर गाउँपालिकामा २९ र ३० गते खोप अभियान सञ्चालन हुने जनाइएको छ ।

Shares

Be the first to comment on "ढुक्क भई खोप लगाउन अनुरोध"

Leave a comment

Your email address will not be published.


*