डोजर भाडा अब ४६ सय मात्र

दीक्षण समाचार
दोलखा, २२ असोज
डोेजरको भाडा अब अब ४६ सय प्रतिघण्टा कायम भएको छ । विगत वर्षहरुमा ६ हजार ५ सयसम्म पुगेको डोजरको भाडा प्रतिस्पर्धाका कारण घटेको हो ।
अघिल्लो आर्थिक वर्ष उपभोक्ता समितिहरुले डोजर भाडा अत्याधिक लिएपछि विगू गाउँपालिका र गौरीशंकर गाउँपालिकाले भाडादर नै तोकेर वर्षा सकिएपछि सडक सफा गर्न लागेका छन् । वषात्ले बिग्रिएको सडक सफा गर्न विगू गाउँपालिकाले सूचना नै निकालेर घटाघटमा डोजर भाडामा लियो । भाडामा दिन प्रस्ताव गर्ने डोजरमालिकहरुले न्यूनतम् प्रतिघण्टा ४ हजार ६ सयमा चलाउन आवेदन गरेको विगू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी लिए । जुन अघिल्लो वर्ष ६ हजारसम्म प्रतिघण्टा भाडा तिर्दै आएको थियो ।
अहिले घटाघटमा विगूमा ४ वटा फर्मले गाउँपालिका अन्र्तगतका वडा र उपभोक्ता समितिलाई डोजर दिन प्रस्ताव गरेका छन् । तिनैको प्रस्ताव अनुसारको डोजर अहिले गाउँपालिकामा काम गर्दै आएको छ ।
केही वर्षयता ग्रामीण सडक खन्ने काम सुरु भएसँगै गाउँ गाउँमा डोेजर छन् । डोजर लगाएर सडक खन्न थालेपछि केहीको डोजर ल्याउने, भाडामा लगाउने र बीचबाट कमिसन खानेहरुको पनि दैनिकी राम्रै छ । त्यसमा पनि भूकम्पपछि पुनः निर्माणका लागि टोलटोलमा सडक खन्ने र घरेडी तयार गर्न पनि डोजरको अत्याधिक प्रयोग बढेको छ ।
डोजरको भाडा कति हो भन्ने बारे ठ्याक्कै दररेट छैन । दररेट नभएकै कारण जतिसक्दो बढी भाडा लिने प्रचलन छ । तर कतिपय ठाउँमा त कति घण्टा काम गरेको हो जनस्तरमा थाहा हुँदैन तर पनि मनलाग्दी घण्टा लेखेर पनि मिलेमतोमा अनियमितता बढेपछि दुई गाउँपालिकाले नियन्त्रणको प्रयास थालेका छन् ।
त्यसैगरी गौरीशंकर गाउँपालिकाले पनि डोजरमा अघिल्लो वर्ष अनियमितता भएको जनगुनासो बढेपछि डोजरको प्रतिघण्टा ५ हजार र ब्याकहोलको ३ हजार ५ सय तोकेको छ । त्यही दररेटमा अघिल्लो वर्ष ६ हजार ५ सयसम्म असुल गर्नेहरुले नै डोजर चलाउन थालेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिए ।
गौरीशंकर र विगू गाउँपालिकाको पनि आ–आफ्नै डोजर छ । गाउँपालिकाको डोजरले पनि सडक खन्ने र सफा गर्ने काम गर्दै आएको छ । आफ्नो डोजरले नभ्याएपछि निजी क्षेत्रको डोजर समेत लिने परेको विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताए ।
अघिल्लो वर्ष धेरै जसो सडकका ट्रयाक खोलि सकेकाले चालु आर्थिक वर्षमा अत्यावश्यक बाहेक अब सडक १२ महिना नै चल्ने गरी नाली, सोलिङ सहितको काम गर्ने बताए ।

Shares

Be the first to comment on "डोजर भाडा अब ४६ सय मात्र"

Leave a comment

Your email address will not be published.


*