डा. दङ्गाललाई कोरोना विरुद्धको खोपको पहिलो डोज

इश्वर बिश्वकर्मा
चरिकोट, माघ १४
दोलखामा कोरोना भाइरस बिरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने अभियान बुधबारदेखि शुभारम्भ भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये २ हजार २ सय ७० डोज खोप जिल्लामा मंगलबार आइपुगेको थियो । खोप उपलब्ध भएसगैँ पहिलो चरण अन्तर्गत अग्रपंक्तीमा खटिएर काम गर्ने स्थास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सुरक्षाकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स तथा शववाहन चालक गरि २ हजार १ सय ४० जनालाई लगाइने कार्यक्रम तय भएको छ । जिल्लाको जिरी नगरपालिकामा रहेको जिरी अस्पताल र भीमेश्वर नगरपालिमा रहेको चरिकोट अस्पताललाई खोप केन्द्र तोकिएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालय दोलखाको प्राङ्गणबाट खोप अभियानको शुभारम्भ गरिएको छ । चरिकोट अस्पतालका डाक्टर विनोद दङ्गाललाई पहिलो खोप लगाएर खोप अभियानको शुभारम्भ गरिएको हो । खोप लगाएपछि विनोद दङ्गालले कोरोना भाइरस बिरुद्धको खोप ढुक्क भएर लगाउन अनुरोध गरेका छन् । उनले भने ”कोरोनाको खोपलाई पनि अन्य खोप झैँ सोचेका कारण मलाई त नयाँ र नौलो महशुस भएन । तरपनि विभिन्न भ्रमहरु फैलाइएका छन् । ति भ्रमका पछि नलागी सबैले ढुक्क भएर खोप लगाउनुहोस् ।“
कोरोना बिरुद्धको खोप सुरक्षित रहेको सन्देश दिन आफुले खोप लगाएको डा. दङ्गालले बताए । स्वास्थ्यकर्मीहरुले नै पहिला खोप लगाउदाँ खोप प्रति उठेका प्रश्न र उत्पन्न भएका शंका र आशंका कम हुने उनको विश्वास रहेको छ । कोरोना भाइरस परास्त गर्नका लागि खोपले शरीरमा एन्टीबडी पैदा गर्छ, उक्त एन्टीबडी शरीरमा गार्ड जसरी बस्छ र कोरोना लाग्न सक्दैन् । त्यसैले खोप लगाउन जरुरी रहेको बताए । उक्त खोप ७५ प्रतिशत प्रभावकारी रहेको उनले बताए ।
त्यस्तै अभियानको उद्धघाट्न समारोहमा दोस्रो खोप स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु झाले लगाएका छन् । खोप लगाएपछि उनले भने “करिब १ वर्षको कठिन प्रतिक्षापछि कोरोना विरुद्धको खोप प्राप्त भएको छ । कोरोनाबाट सुरक्षित रहनका लागि पहिलो चरणमा फ्रन्टलाइनर्सहरुलाई प्राथमिकता दिइएको छ । चाँडै सर्वसाधरण नागरिकलाई पनि नेपाल सरकारले खोप उपलब्ध गराउनेछ। सबैलाई नडराई ढुक्क भएर खोप लगाउन अनुरोध छ ।”
स्वास्थ्य स्वयम्सेविकाहरु मध्ये पहिलो खोप भीमेश्वर नगरपालिका वडा नं. ५ की रेश्मा बस्नेतले लगाएकी छिन् । खोप लगाउनु अघि आफुलाई केही डर लागेको बताउने रेश्मा खोप लगाएपछि आफु कोरोना लाग्ने डरबाट मुक्त भएको बताएकिछन् । उनले भनिन् “ हामी स्वास्थ्य स्वयम्सेविकाले पनि कोरोना महामारीको समयमा अग्रपङ्गतिमा रहेर काम गरेका थियौँ । अवपनि गर्नेपनि छौँ । कोरोनाको खोप लगाएपछि त झन् उत्साह मिलेको छ । ”
त्यस्तै उद्धघाट्न कार्यक्रमै चरिकोट अस्पतालकी डा. रिना लामिछाने, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाकी अर्चना कुमारी झा लगायत केही स्वास्थ्यकर्मीहरुले खोप लगाएका छन् । अहिले खोप लगाउने कार्य जारी रहेको छ, भने जिरी अस्पताल र चरिकोट अस्पतालको खोप केन्द्रबाट ३ सय जनालाई खोप लगाइने लक्ष्य राखिएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार गर्भवती भएको अवस्थामा, गर्भधारणको योजना बनाएको अवस्थामा, उच्च ज्वरो आएको अवस्थामा, बच्चाहरुलाई दुध खुवाईरहेको आमाहरुलाई, शरीरको कुनै भागबाट रगत बगिरहेको भएमा, कोभिडलागेको २ महिना भन्दा कम भएमा, १८ वर्ष भन्दा मुनिका र कुनैपनि किसिमको एजर्ली भएमा खोप लगाउन मिल्दैन् । नेपालमा बुधबार देखि लगाउन सुरु गरिएको कोभिसिल्ड खोप भारत सरकारले १० लाख डोज अनुदानमा दिएको हो । नेपालमा यो खोप आपतकालिन प्रयोगका लागि गत माघ २ गते स्वीकृत भएको थियो ।

Shares

Be the first to comment on "डा. दङ्गाललाई कोरोना विरुद्धको खोपको पहिलो डोज"

Leave a comment

Your email address will not be published.


*