डाक्टर र कर्मचारी माथि आक्रमण

इश्वर बिश्वकर्मा
चरिकोट, असार १३
दोलखाको तामाकोशी गाउँपालिका स्थित मालु कोभिड अस्पतालमा कार्यरत डाक्टर र कर्मचारी माथी शनिबार राती आक्रमण भएको छ । मदिरा सेवन गरेका स्थानीय ४ जना युवाको समुहले  अस्पतालका डाक्टर रोविश कार्की र कार्यालय सहयोगी टोप बहादुर मिजारलाई आक्रमण गरेका हुन् ।
मदिरा सेवन गरेका युवाहरु मध्येका एकजनालाई खुट्टामा चोट लागेपछि अस्पतालमा उपचार गर्न भनी ल्याएका थिए । तर कोभिड अस्पताल भएका कारण अन्य बिरामीको उपचार नहुने भन्दै डाक्टर रोविशले अन्यत्र अस्पताल लैजान सुझाएका थिए । त्यसपछि उनीहरु मध्येका एकजनाले अपशब्द बोल्दै डाक्टर कार्कीलाई छातीमा मुक्काले हाने । उनीहरु सबै जना आक्रमणमा उत्रिएपछि डाक्टर र कर्मचारी ज्यान बचाउन भन्दै भागेका थिए । भागेर बचेका डाक्टर रोविश र कार्यालय सहयोगी टोप बहादुरले घटनाबारे पालिकालाई जानकारी गराए । स्थानीय गोपाल तिमल्सिना, रोशन पोखरेल, बिजुले नेपाली र कुमार श्रेष्ठको समुहले मदिरा सेवन गरी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारी माथि आक्रमण गरेको पालिकाले जनाएको छ । कोभिड संक्रमणको जोखिम मोलेर अहोरात्र संक्रमितको सेवामा खटिइरहेको अस्पतालका डाक्टर र कर्मचारी माथी आक्रमण गरिनु निन्दनीय रहेको बताइएको छ । अस्पतालका डाक्टर र कर्मचारी माथि आक्रमण गर्नेमध्येका गोपाल तिमल्सिना, रोशन पोखरेल र बिजुले नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुमार श्रेष्ठ भने फरार रहेको प्रहरीले जनाएको छ । अस्पतालका डाक्टर र कर्मचारी भने हिजो रातीदेखीनै आफ्नो काममा फर्किसकेका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

Shares

Be the first to comment on "डाक्टर र कर्मचारी माथि आक्रमण"

Leave a comment

Your email address will not be published.


*