ठेकेदार कम्पनीको लापरवाही , ४ पटक म्याद थप्दा समेत बनेन जिरी खोला पुल

ईश्वर बिश्वकर्मा ÷चरिकोट, – निर्माण सुरु भएको ६ वर्ष बित्यो । तर जिरी खोला पुल निर्माणको काम अझै अधुरो रहेको छ । हालसम्म पिलर ठड्याउने काम भएको छ । बाँकी कामले गति लिन सकेको छैन । निर्माण कम्पनीले रफ्तारमा काम नगर्दा निर्धारित समयमै मोटरेबल पुल तयार हुन नसकेको हो । २०७४ बैशाखमा भएको सम्झौता बमोजिम २०७५ चैत्र महिनामै पुल निर्माणको काम सकिनु पर्ने हो । तर हाल सम्म चार पटक म्याद थप भइसकेको छ । चौथो पटक थपिएको म्याद अनुसार २०८० असार मसान्तमा काम सकिनुपर्छ । यद्यपि काममा गति र उल्लेख्य प्रगति हुन सकेको छैन । सडक डिभिजन कार्यालयसँग तीन करोड ७४ लाख ९६ हजार ५ सय रुपैयाँमा खाम्पाचे नाइल जेभिले पुल निर्माणको सम्झौता गरेको थियो । सुरुवात देखि नै सुस्तरी काम गरेको निर्माण कम्पनीले ६ वर्ष बित्दा पनि काममा ढिलाई गरिरहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी, ईन्जिनियर सुवासकुमार दत्तले सुनाउनु भयो । “ठेकेदारको लापरबाही र चरम ढिलासुस्तीले जिरी खोलामा पुल निर्माणको काम अझै पूरा हुन सकेको छैन । काम छिटो सक्न पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले वेवास्ता गरेको छ ।” उहाँले थप्नु भयो “किन ठेक्का नतोड्ने भनेर पटक पटक चेतावनी सहितको स्पष्टिकरण सोध्यौँ । तर निर्माण कम्पनीले चित्त बुझ्दो जवाफ दिएको छैन । कामको गराइ र छाँटकाँट हेर्दा उक्त कम्पनीले पूरा गर्न नसक्ने देखिएको छ । त्यसैले अब ठेक्का तोड्ने मनस्थितिमा पुगेका छौँ ।” सूचना अधिकारी ई. दत्तका अनुसार पेटीसहित ११ मिटर चौडाई र २० मिटर लम्बाइको पुल निर्माणाधिन अवस्थामा रहेको हो । हालसम्म ६० प्रतिशत काम भएको र ५० प्रतिशत रकम भुक्तानी भइसकेको छ । अहिले एप्रोच, नदी नियन्त्रण, स्लाब लगायतको काम बाँकी रहेको छ ।
दुई वटा पुलको काम अन्तिम चरणमा

सडक डिभिजन कार्यालयकै बजेटमा निर्माण भईरहेको झाँक्रे खोला पुल र फुल्पिङ खोला पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जिरी, सिक्री, सहरे, हावा सडक खण्डमा निर्माण भईरहेको ती दुई पुलहरुको काम ९५ प्रतिशत पूरा भएको सूचना अधिकारी ई. दत्तले सुनाउनु भयो ।
दुबै पुल चार पटक म्याद थप भएपछि निर्माणको अन्तिम चरणमा पुगेका हुन् । झाँक्रे खोला पुल तीन करोड २६ लाख ७२ हजार ६ सय १५ रुपैयाँमा खाम्पाचे निर्माण सेवा प्रालिले निर्माण गरिरहेको हो ।
सो पुल ११ मिटर चौडाई र २० मिटर लम्बाइको रहेको छ । अहिले फिनिसिङको काम बाँकी रहेको छ । निर्माण कम्पनीले दुई वर्ष भित्र सक्ने गरी २०७५ असार महिनामा सम्झौता गरेको थियो । तर सम्झौता अवधि सकिएपनि काम पूरा हुन सकेन । चौथो पटक म्याद थप भएपछि अहिले काम पूरा हुने चरणमा पुगेको हो । यस्तै झाँक्रे खोला पुल भन्दा दुई किलो मिटर अघाडी निर्माणाधिन फुल्पिङ खोला पुलको काम अन्तिम चरणमा छ । गौरीपार्वती निर्माण सेवाले दुई करोड ५३ लाख १३ हजार ९ सय रुपैयाँमा २०७३ मा सम्झौता गरी पुल निर्माणको काम सुरु गरेको थियो । तर कम्पनीले पुल निर्माणमा ढिलाई गर्दा चार पटक म्याद थपिएको छ । चोथौ पटक थपिएको म्याद अवधिमा भने कम्पनीले काम पुरा गर्न लागेको हो । उक्त पुल पनि ११ मिटर चौडाइ र २० मिटर लम्बाइको रहेको छ । अहिले फिनिसिङको काम भईरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "ठेकेदार कम्पनीको लापरवाही , ४ पटक म्याद थप्दा समेत बनेन जिरी खोला पुल"

Leave a comment

Your email address will not be published.


*