ट्राफिक नियम मिच्दै, जरिवाना तिर्दै

ईश्वर विश्वकर्मा
चरिकोट, साउन ४
दोलखामा सवारी साधनको चाप बढ्दै जाँदा ट्राफिक नियम र अनुशासन पालनामा अटेरी गर्ने चालकहरू बढ्न थालेका छन् । ट्राफिक प्रहरीले सचेतना कार्यलाई प्राथमिकता दिई आफ्नो सक्रियता बढाएपनि चालकहरूले ट्राफिक नियम पालनमा वेवास्ता गर्दै सवारी चलाउने प्रवृत्ति बढेको हो । त्यस्ता सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले अनुमगनका क्रममा फेला पारेमा कारबाही गरी जरिवाना तिराउने गरेको छ ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि पाँच हजार ६४ सवारी साधनलाई कारबाही गरिएको छ । जसबाट ४५ लाख ८ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । ट्राफिक नियम उल्लंघन गर्नेमा अन्य सवारीको तुलनामा मोटरसाइकल धेरै रहेको छ । कार्यालयका अनुसार एक हजार ५ हजार २० वटा मोटरसाइकल कारबाहीमा परेको र १५ लाख ८ हजार रुपैयाँ राजस्व संकलन भएको हो । अनुमतिपत्र नभएका सिकारु मोटरसाइकल चलाएपछि कारबाहीमा परेका हुन् । त्यसैगरी एक हजार १ सय १३ वटा कारजिप भ्यान, एक हजार १ सय ४१ वटा ट्रक, एक हजार २ सय ८५ वटा बस, ४ वटा टेम्पो र एक वटा ट्याक्टरलाई कारबाही गरिएको छ ।
सवारी साधन अनुमति पत्र साथमा नभएका, क्षमताभन्दा बढी बोकेको, प्रयोजन विपरीत चलेको, गति तीब्र भएको, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने लगायतका नियम विपरीत गतिविधि गर्ने सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख विष्णुराज पुरीले बताउनुभयो । उहाँले जिल्लामा सवारी सधानको चाप बढिरहेको र लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति बढ्दै जाँदा दुर्घटनाको खतरा बढ्नुका साथै प्रहरीलाई ट्राफिक व्यवस्थापनमा समेत चुनौती बढेको बताउनुभयो ।
दुर्घटना न्यूनिकरण अभियान अन्तर्गत सवारी चालकलाई सचेतनासँगै नियम पालना नगरेमा कारबाही गरी जरिवाना तिराउने गरिएको उहाँले बताउनुभयो । “ ट्राफिक नियम पालना भएनभएको अनुगमन गर्छौँ । सो क्रममा नियम पालना नभएको पाइए त्यस्ता सवारलाई कारबाही गर्ने प्रहरीको जिम्मेवारी हो ।” उहाँले भन्नुभयो “ हाम्रो प्रमुख उद्देश्य दुर्घटना न्यूनिकरणको लागि ट्राफिक नियम पालना गराई लापरबाही रोक्नु हो । जरिवाना असुल्नु होइन ।”
दुर्घटनाको पहिलो कारण ट्राफिक नियम उल्लंघन हो । त्यसैले चालकले जिम्मेवार भई नियम पालना गर्नुपर्छ । त्यसैगरी यात्रुको पनि जिम्मेवारी महत्वपूर्ण हुन्छ । सवारी साधन दुर्घटना हुन नदिन सचेतना प्रदान गर्ने, स्वास्थ्यकर्मी सँगको सहकार्यमा चालकको स्वास्थ्य परीक्षण गर्ने, सवारी साधनको इन्जिन जाँच गर्ने लगायतका कार्यहरू गरिरहेको ट्राफिक प्रहरी प्रमुख पुरीले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा चार सय १२ जना सवारी चालक र सहचालकको स्वास्थ्य परिक्षण गरिएको छ । चालक तथा सहचालकको स्वास्थ्य खराबी भएमा सवारी दुर्घटना हुने भएकोले त्यसलाई रोक्नका लागि उनीहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।

Shares

Be the first to comment on "ट्राफिक नियम मिच्दै, जरिवाना तिर्दै"

Leave a comment

Your email address will not be published.


*