टुँडिखेल मैदानमा रंगशालाको निर्माण ८० प्रतिशत सकियो

दीक्षण समाचार/ चरिकोट, –दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित टुँडिखेल मैदानमा अत्याधुनिक प्यारापिटसहितको भीमेश्वर रंगशाला निर्माण ८० प्रतिशत सकिएको छ । तीन हजार ५ सय दर्शक क्षमताको सो रंगशाला निर्माणपछि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेल प्रतियोगिता सञ्चालनमा सहज हुने र खेलको विकासमा टेवा पुग्ने उदेश्यले सो रंगशालाको निर्माण गरिएको हो । भीमेश्वर नगरपालिकाको गौरवको योजनाको रुपमा निर्माणाधिन रंगशालाको पहिलो चरणको काम अन्तर्गत टुँडिखेलको दक्षिणतर्फ सटर र कोठासहितका दुई तल्ले भवन निर्माण सम्पन्न भएको छ । यो चरण अन्तर्गत ८० प्रतिशत काम सकिएको छ । बाँकी २० प्रतिशत काम भने प्यारापिटको रहेको र यो काम पनि छिट्टै पूरा हुने भीमेश्वर नगरपालिकाका ईन्जिनियर सुरेश राउतले बताउनुभयो । यो चरणमा एक सय १० मिटर लामो बनेको भुँइतल्लाको भवनमा १६ वटा सटर निर्माण भएको छ । ती सटरहरु व्यापारिक प्रयोजनका लागि भाडामा दिइने ईन्जिनियर राउतले बताउनुभयो । यसको माथि तला थपिएको छ । जहाँ आराम कोठा, भीआइपी कोठा लगायत खेल सम्बन्धित कामको लागि १६ वटा कोठा रहेको छ । यसभन्दा माथिल्लो तलामा प्यारापिट निर्माण हुनेछ । अहिले भईरहेको यसैको काम हो । रंगशाला निर्माण पूरा हुन २० करोड खर्च हुने अनुमान गरिएकोमा पहिलो चरणको काममा १२ करोड खर्च हुनेछ । पहिलो चरणको काम सकिनासाथ बाँकी काम पुरा गर्न ठेक्का प्रक्रिया थालिएको छ । यो चरणमा अन्य दिशातर्फको प्यारापिट, खेल मैलान र टिकट काउन्टर सहितका अन्य संरचना निर्माण हुने बताइएको छ । दशरथ रंगशाला भएका सबै संरचना निर्माण हुने भीमेश्वर रंगशाला फिफाको मापदण्डअनुसार अन्तर्राष्ट्रियस्तरको हुनेछ । तीन हजार ५ सय दर्शक क्षमताको सो रंगशाला निर्माणपछि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेल प्रतियोगिता सञ्चालनमा सहज हुने र खेल विकासमा टेवा पुग्ने राउतले बताउनु भयो । २०७७ साउन २५ मा किराँतेश्वर–सिमपानी जेभीले पहिलो चरणको काम २४ महिनामा पूरा गर्ने गरी रंगशाला निर्माणको जिम्मा पाएको थियो ।

Shares

Be the first to comment on "टुँडिखेल मैदानमा रंगशालाको निर्माण ८० प्रतिशत सकियो"

Leave a comment

Your email address will not be published.


*