झोलुङ्गे पुलको निर्माणले हात्तीछहरा घुम्न जान सहज

वराज शिवाकोटी,चरिकोट ः भीमेश्वर नगरपालिकाको चर्चित पर्यटकीय स्थल मध्येको एक हात्तीछहरा जान झोलुङ्गे पुलको निर्माण गरिए पछि पैदल यात्रुलाई हात्तीछहरा जान सहज भएको छ  । नगरपालिकाको वडा नम्बर सात र आठको सिमा चर्नावती खोलामा झोलुङ्गे पुलको निर्माणले चरिकोटबाट हात्तीछहरा जाने दुरी कम हुनाका साथै सो स्थानसम्म पैदल यात्रा गर्न समेत सहज भएको हो ।
भीमेश्वर नगरपालिकाको पर्यटकीय स्थल हात्ती छहरा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई लक्षित गर्दै वडा नम्बर सात र आठको सिमानामा पर्ने चर्नावती खोलामा झोलुङ्गे पुलको निर्माण गरिएको भीमेश्वर नगरपालिकाका ईञ्जिनियर सुरेश राउतले जानकारी दिनुभयो । पुल निर्माणमा संघिय सरकार तथा भीमेश्वर नगरपालिकाको समेत गरी कुल ३३ लाख रुपैयाँ खर्च भएको ईञ्जिनीयर राउतको भनाई रहेको छ । पुलको लम्बाई ४९ दशमलब १० मिटर रहेको छ ।
पुल निर्माण भएपछि चरिकोटबाट हात्तिछहरा पूग्ने बाटो करिब एक घन्टा छोटो भएको तथा यात्रा गर्न सहज भएको भीमेश्वर नगरपालिका वडा नम्बर सात साखिनेका स्थानीयहरुको भनाई रहेको छ । पुलको निर्माण गर्दा केही काम उपभोक्ता समिति मार्फत तथा फलामको लट्ठा लगायतका वस्तुहरु टेन्डर मार्फत खरिद गरिएको भीमेश्वर नगरपालिकाले जानकारी दिएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर सातको साखिनेबाट करिब साँढे चार किलोमिटर कच्चि मोटरबाटो गएपछि पैदल हिँड्नु पर्नेमा सो पुलको निर्माणबाट हात्तिछहरा एक घण्टामा नै पुग्न सकिने साखिनेकी स्थानीय कमला कार्कीले बताउनु भयो  । सो पुल नबन्दा भने बाटो घुमारो पर्ने भएकोले बढी समय लाग्ने गरेको उहाँको भनार्ई रहेको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर सात र आठको सिमानामा पर्ने चर्नावती खोलाको शिरमा हात्ति छहरा पर्दछ । पछिल्लो समय दोलखा आउने आन्तरिक तथा बाहय पर्यटकहरुको रोजाईमा हात्तिछहरा पर्ने गरेको छ । वडा नम्बर आठको बोचबाट तथा वडा नम्बर सातको साखिनेबाट यो छहरा जाने कच्चि बाटो निर्माण गरिएको छ । हाल पुल निर्माण गरिएको स्थानबाट करिब एक घण्टा पैदल मा हात्ती छहार पुग्न सकिने स्थानीयहरुको भनाई छ । यस्तै वडा नम्बर आठको गाम्नागी हुँदै भीतेरी सम्म पनि कच्चि सडक निर्माण गरिएको छ त्यहाँबाट पनि पैदल हात्तिछहरा पुग्न सकिन्छ ।
भीमेश्वर नगरको पर्यटन प्रबर्धनका लागि सम्भाब्य पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधारको विकास गर्न नगरपालिका स्रोतले भ्यायसम्म प्रयासरत रहेको भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले बताउनु भयो ।

Shares

Be the first to comment on "झोलुङ्गे पुलको निर्माणले हात्तीछहरा घुम्न जान सहज"

Leave a comment

Your email address will not be published.


*