जेठ ५ गतेबाट अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने

नवराज शिवाकोटी,चरिकोट ः सदरमुकाम चरिकोटमा जेठ पाँच गतेबाट खुल्ला अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । चेस होम दोलखाको आयोजनामा सदरमुकाममा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको हो ।
सोमबार एक कार्यक्रमको आयोजना गरी चेस होम दोलखाले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको सहभागीता हुने उक्त अवसरमा जानकारी दिईयो । प्रतियोगितामा नेपाल च्याम्पियन भइसकेका १० खेलाडी तथा विभिन्न देशका खेलाडिहरुको सहभागिता रहने आयोजक चेस होम दोलखाका अध्यक्ष गोविन्दमान श्रेष्ठले जानकारी दिनुभयो । स्वच्छ छविका आदर्श पूरुष नेपाली काँग्रेसका स्वर्गीय नेता भीमबहादुर तामाङको स्मृतिमा प्रतियोगिताको आयोजना गर्नलागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ट्रफी सार्वजनिक कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । ट्रफी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मानन्धरले आर्थिक संबृद्धिका लागि खेल क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै भीमेश्वर नगरमा अन्तराष्ट्रिय चेस प्रतियोगिताको आयोजनाबाट भीमेश्वर नगरको पर्यटन क्षेत्रमा ठोस योगदान पुग्ने तथा आर्थिक कृयाकलापमा बृद्धिहुने आशा ब्यक्त गर्नुभयो । सोही अवसरमा उहाँले खेल पर्यटनको विकासकालागि नगरले नगरका विभिन्न तीन ठाउँमा साइकल मार्ग निर्माण गर्ने योजना गरेको बताउनु भयो । जेठ पाँच गते देखि नौ गते सम्म संचालन हुने अन्तराष्ट्रिय प्रतियोगितामा प्रथम हुने प्रतियोगीले एक लाख, द्वीतीय हुनेले साठी हजार, तथा तृतीय हुनेले चालीस हजार रुपैयाँ ट्रफी तथा मेडल प्राप्त गर्ने आयोजकले बताएको छ । यसैगरी चौथो देखि तेह्रौं स्थानसम्म प्राप्त गर्नेहरुले नगद तथा मेडल प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट भेट्रान, उत्कृष्ट महिला खेलाडि, उमेर समूह अनुसारका उत्कृष्ट खेलाडिहरु लगायत लाई नगद पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा कुल ४७ खेलाडिहरुलाई ४ लाख ८३ हजार नगद पुरस्कार वितरण गरिने उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "जेठ ५ गतेबाट अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने"

Leave a comment

Your email address will not be published.


*