जिसस दोलखाको स्थापना दिवस मनाइयो

इश्वर बिश्वकर्मा चरिकोट,–जिल्ला समन्वय समिति दोलखाको पाचौँ स्थापना दिवस मनाइएको छ । दिवसको अवसरमा समितिले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा समितिका प्रमुख डबल पाण्डेले आफ्नै क्षमता विकासदेखि संस्थागत सबलताका लागि संघिय सरकार, प्रादेशिक सरकारका मार्ग निर्देशन, आफ्नै सिकाई र अनुभवका आधारमा धेरै कार्य भएको जिकिर गर्नुभयाे । उहाँले अन्य जिल्लाको समन्वय समिति निष्क्रिय भई आवश्यकता र औचित्यमा प्रश्न खडा भईरहेको बेला दोलखाको समितिले भने विधि, पद्धति र मापदण्ड अनुसारको कार्य गरेर औचित्य स्थापित गर्न सफल भएको दाबी गर्नु भयाे । कार्यक्रममा उहाँले गत वर्ष सम्पादन र सम्पन्न भएका कार्य विवरण प्रस्तुत गर्दै भन्नु भयो “अनुकुल परिस्थितिमा त जसले पनि काम गर्छ तर प्रतिकुलताबीच काम गर्न सक्नु उपलब्धि पूर्ण सावित हुन्छ । हामीले गत वर्ष कोरोना महामारीको चुनौतीका माझ अपेक्षित काम गर्न सफल भएका छौँ ।” जिससले गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास तथा निर्माणसम्बन्धी कार्यको अनुगमन गर्ने लगायतका समन्वयकारी भूमिकामा रहेर काम गर्ने गर्दछ । जिसस दोलखाले चौथो जिल्ला सभा, गैरसरकारी संघ संस्थाहरुको असल अभ्यास तथा सिकाई प्रदान सम्बन्धी एक दिवसिय तालिम गोष्ठी, संघिय सरकार र बागमति प्रदेश सरकारबाट स्वीकृत स्थानीय र प्रदेश पुर्वाधार विकास साझेदारी कार्यक्रमको कार्यान्वयन र व्यवस्थापनका लागि परामर्श समितिको बैठक, पूर्वाधार विकास साझेदारी कार्यक्रमको अनुगमन सम्पन्न गरेको थियो । कोष तथा लेखा नियन्त्रकको कार्यालयसँगको संयुक्त आयोजनामा स्थानीय तहहरुको लेखा परीक्षण पुर्व तयारी अन्तरक्रिया कार्यक्रम, नेपाल टेलिकमको सहकार्यमा समितिको आयोजनामा डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत स्मार्ट दोलखा निर्माण सुभारम्भ कार्यक्रम, प्रदेश नम्बर एक, दुई र बागमति प्रदेशका जिल्ला समन्वय समितिका उपप्रमुखहरुको अनुभव तथा असल अभ्यास आदानप्रदान कार्यक्रम लगायतका कार्यक्रम सम्पन्न गरिएको जिसस प्रमुख पाण्डेले बताउनु भयो । विभिन्न समिति तथा कार्यालयहरुको प्रमुखको अध्यक्षतामा भएको बैठकले विभिन्न निर्णयहरु गरिएको थियो । गत वर्ष नदीजन्य पदार्थ अबैद्य रुपमा उत्खनन् तथा संकलनमा संलग्न सवारी साधनलाई कारबाही गर्दा १८ लाख ६५ हजार जरिवाना संकलन गरिएको र सम्बन्धित स्थानीय तहको राजस्व खातामा दाखिला गरिएको छ । त्यसैगरी समितिले पाँच वटा कार्यविधिहरु निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । नेपालको संविधानको धारा २२० को उपधारा ७ स्थानीय सरकार संचालन ऐन २०७४ को दफ ९२ मा गरिएको व्यवस्थालाई आधार मानी कार्यविधि निर्माण गरिएको जिसस प्रमुख पाण्डेले बताउनु भयो ।

Shares

Be the first to comment on "जिसस दोलखाको स्थापना दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*