जिलुमा निशुल्क दन्त शिविर सुरु

उद्घाटन समाराेहमा केन्द्रका अध्यक्ष केशवराज चाैलागाइँ मन्तव्य व्यक्ता गर्नुहुँदै

ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन २६
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ४ जिलु स्थित टहलेमा निशुल्क दन्त शिविर सुरु भएको छ । दाँतको समस्या भएका व्यक्तिहरुलाई गाउँमै उपचार गरी स्वस्थ बनाउने उद्धेश्यले सहयात्री नेपाल टोखा काठमाडौँको प्राविधिक सहयोगमा टहलेश्वर सामुदायिक सिकाई केन्द्रले दुई दिने दन्त शिविर आयोजना गरेको हो । शिविरको उद्घाटन गर्नुहुँदै वडाध्यक्ष हरिवंश चौलागाईँले शिविर गर्नु राम्रो पक्ष रहेको र यस्ता शिविरहरु बेलाबेलामा आयोजना हुँदा ग्रामीण क्षेत्रमा रहेका नागरिक लाभान्वित हुन पाउने बताउनुभयो । सदरमुकाम नजिकैको वडा भएपनि स्वास्थ्य सेवाको पहुँचमा नागरिकहरु अभिबृद्धि हुन नसकेकोले यसतर्फ आफ्नो ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । जिलुमा स्वास्थ्य संस्थाको नाममा एउटा मात्र सहरी स्वास्थ्य क्लिनिक रहेको छ । जसले सामान्य सेवा उपलब्ध गराइरहेको छ । सदरमुकाम क्षेत्रकै गाउँ भएकोले जटिल प्रकारको रोगको उपचार गर्न र सुविधायुक्त स्वास्थ्य सेवाको लागि जिलुदेखि चरीकोटका अस्पताल जाने नागरिकहरु बढेको उहाँले सुनाउनुभयो ।

वडाध्यक्ष हरिवंश चाैलागाइँ मन्तव्य राख्नुहुँदै

सिकाई केन्द्रका अध्यक्ष केशवराज चौलागाईँले कोरोना महामारी पूर्व विभिन्न गतिविधि तथा कार्यक्रम सञ्चालन गरिने भएपनि कोरोना कारण पछिल्ला वर्षहरुमा त्यस्ता कार्यक्रम गर्न नसकेको बेला अहिले कोरोना कम भएसँगैे सिकाई केन्द्र आफ्ना लक्षित गतिविधिमा केन्द्रीत भएको र शिविर आयोजना गरिएको सुनाउनुभयो । जिल्लामा रहेका सिकाई केन्द्रहरु निष्क्रिय र कामविहीन बनेको अवस्थामा आफुहरुले सिकाई केन्द्रलाई गतिशील बनाएर यसको पहिचान र महत्व स्थापित गर्न लागि परेको उहाँले सुनाउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यमा अग्रसर हुने क्रममा बढ्दो दन्त समस्यालाई निर्मूलको उद्धेश्य अनुरुप दन्त शिविर आयोजना गरिएको सुनाउनुभयो । मानव जीवनमा आइपर्ने समस्यामध्ये स्वास्थ्य समस्या उत्पन्न भएमा उसले समाजमा कुनै योगदान दिन नसक्ने भन्दै उहाँले स्वास्थ्य समस्या आउन नदिन विषेश ध्यान नदिन पर्ने र आइहालेमा अबिलम्ब उपचार गर्नुपर्ने सुनाउनुभयो । शिविरमा दाँतको परीक्षण, दाँत तथा गिजा सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, परामर्श सेवा र दाँत सम्बन्धि अन्य उपचार सेवा उपलब्ध हुने केन्द्रका कार्यक्रम संयोजक तारानाथ चौलागाईँले बताउनुभयो । उहाँका अनुसार डाक्टरहरु सम्पदा भट्टाराई, शिखा खनाल, सृष्टि महर्जन, नमिका ढकाल, दियाना कार्की, अतुल महर्जन, साक्षत लामीछानेले दाँतको उपचार गर्नुहुने छ । दाँतको हेरचाह र सुरक्षामा हेलचेक्रयाँइ बढ्दा समस्या पनि बढ्दो अवस्थामा छ । ती समस्याहरुबाट प्रताडित भई उपचार नपाइरहेका बिरामीहरुका लागि शिविर महत्वपूर्ण हुने कार्यक्रम संयोजक चौलागाईँले बताउनुभयो । भोलीसम्म चल्ने शिविरमा तीन सय जना लाभान्वित हुने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "जिलुमा निशुल्क दन्त शिविर सुरु"

Leave a comment

Your email address will not be published.


*