जिरी–लुक्ला पदमार्ग संकटमा

सोलुखुम्ब–पदयात्रीको अभावमा जिरी–लुक्ला पदमार्गमा पर्यटन व्यवसाय नै ठप्प भएको छ । सगरमाथा क्षेत्र आउने पर्यटकहरूको जहाजको प्रयोग गरी सिधै लुक्ला आउन थालेपछि जिरी–लुक्ला पदमार्ग संकटमा परेको हो । जहाजबाट एकैदिन ८०८ जनासम्म पर्यटक खुम्बु भित्रिने तर पदमार्गमा कसैको आकर्षण नहुँदा उक्त पदमार्ग सुनसानजस्तै बनेको हो । पैदलयात्री पर्यटकको अभावमा सो पदमार्गमा रहेका दोलखाको जिरी, सोलुखुम्बुको किन्जाबजार, जुनबेसी, नुनथला, खरीखोलाका रहेका १ हजार हाराहारी होटलहरू समेत राम्रोसँग चल्न सकेका छन् । द्वन्दकालअघि हजारौंको संख्यामा जिरीबाट हिँडेर लुक्ला पुग्ने भएकाले पदमार्गका विभिन्न बजारमा होटल व्यवसायीहरूले करोडौंको लगानी गरेका थिए । १० वर्षे जनयुद्धसँगै पर्यटकहरूले असुरक्षित हुने डरले हवाई मार्ग मात्र रोजेकाले अहिलेसम्म पनि ट्रेकिङ फस्टाउन नसकेको हो ।

पर्यटकहरूले पदमार्ग प्रयोग नगर्दा ट्रेकिङ रुटमा पर्ने पर्यटन व्यवशाय धरापमा परेको लिखुपिके गाउँपालिका वडा नं ५ भकान्जेका वडाअध्यक्ष ङिमछिरी शेर्पाको भनाइ छ । यस्तै, जुनबेशी क्षेत्रमा पनि पहिला जस्तो पैदलयात्री पर्यटक आउन छाडेको सोलुदूधकुण्ड वडा नम्बर २ का अध्यक्ष मिङमारदोर्जी शेर्पाले बताए । २०५३ सालदेखि काठमाडौंबाट लुक्लाका लागि नियमित हवाई यातायात सुविधा सुरु भएपछि पदयात्रीको संख्या ह्वात्तै खस्किएको हो ।
त्यसपछि सोलुखुम्वुको किञ्जा– खरिखोला पदमार्गका पर्यटन व्यवसायी मिलेर सोलुखुम्वुको माथिल्लो भेग आउने पर्यटकले आउँदा वा फर्किंदा एकपटक पैदल यात्रा गर्नुपर्ने नियम बनाए पनि अहिले अधिकांश पर्यटन व्यवसायी सिधै हवाई मार्गकै भर पर्ने गरेको व्यवसायी निमा शेर्पाको भनाइ छ । अहिले खुम्बु क्षेत्रको पर्यटन लुक्ला विमानस्थलकै भरमा चल्दै आएको छ ।

Shares

Be the first to comment on "जिरी–लुक्ला पदमार्ग संकटमा"

Leave a comment

Your email address will not be published.


*