जिरी नगरपालिकामा दिवा खाजा कार्यक्रमले विद्यार्थी खुशी

इश्वर बिश्वकर्मा /चरिकोट, – पाँच कक्षासम्मका विद्यार्थीले दिउँसो १५ रुपैयाँ बराबरको खाजा खान पाउने भएपछि नियमित विद्यालयमा उपस्थित हुन थालेका छन् । बीचमा विद्यालय छाड्ने अवस्था हटेको छ । विद्यार्थीहरुमा पेटको भोक हराएर पढाइको भोक जाग्न थालेको छ । दिवा खाजा कार्यक्रमको सकरात्मक प्रभाव बारे सुनाउनुहुँदै जिरी माध्यमिक विद्यालयका शिक्षक कृष्णप्रसाद रिमालले भन्नुभयो “दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि जिरी नगरपालिका भित्रको सामुदायिक विद्यालयको हैसियत नै फेरिदियो । यो कार्यक्रमको प्रभाव उत्साहजक देखिएको छ । अब भने सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको मोह बढ्न थाल्यो ।” पहिले दिउँसोको छुट्टीमा पैसा हुनेले खाजा किनेर खाई भोक मेट्थे । कतिले घरबाटै खाजा बोकेर आउँथे । तर कतिपय विद्यार्थीले खाजा खान नपाउँदा पढ्न पनि अल्छि मान्थे । अहिले त्यस्तो स्थितिको अन्त्य भएको छ । दिवा खाजा कार्यक्रम लागू भएपछि विद्यालय नआउने र बीचमा छाड्ने समस्या घटेको शिक्षक रिमालले बताउनुभयो । शिक्षक रिमालले भन्नुभयो “ विद्यालय नर्स र स्वास्थ्य शिक्षक सहित विद्यालय स्वास्थ्य समिति गठन गरेका छौँ । समिति मार्फत दिवा खाजा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारीताको लागि काम गर्नुका साथै स्वास्थ्य तथा सरसफाई सम्बन्धि गतिविधिहरु सञ्चालन गरिरहेका छौँ ।” विद्यालयका लेखा शिक्षक रुद्र जिरेलका अनुसार दिवा खाजा खाने विद्यार्थी एक सय ५३ जना रहेका छन् । साप्ताहिक मेन्यू अनुसार आइतबार जाउलो, सोमबार फलफूल तरकारी, मंगलबार भुटेको भात, बुधबार चिउरा तकारी, बिहीबार दुनोट तरकारी, शुक्रबार खीर खुवाउने गरिएको छ । खाजा तयार पार्नको लागि एक जना कर्मचारी नियुक्त गरिएको छ । यो विद्यालयले पढाई गुणस्तरीय भएको कारण विद्यार्थी तथा अभिभावकको माया पाएकै थियो । अहिले दिवा खाजा खुवाउन थालेपछि झन् माया पाएको अनुभूति गर्न सकिने उहाँले बताउनुभयो । विद्यालयमा पोषणयुक्त खाजा खान पाएपछि बाहिर जंगफुड किनेर खाने बानी घटेको छ । गाउँघरैमा उत्पादित अन्नबाट बनेको परिकारहरु दिनदिनै फरकफरक स्वादमा खान पाएपछि विद्यार्थीको स्वास्थ्य र शिक्षामा अत्यन्तै फाइदा पुगेको छ । अभिभावकको पैसा जोगिएको र खाजा बनाउनुपर्ने समय बचेको छ, भने स्थानीय उत्पादनमा समेत टेवा पुगेको लेखा शिक्षक जिरेलले सुनाउनुभयो । दिवा खाजाको प्रभावकारिता बढेपनि विद्यार्थीलाई दिने खाजा पर्याप्त छैन् । जिरेलले भन्नुभयो “ १५ रुपैयाँ बराबरको खाजाले विद्यार्थीलाई पर्याप्त भएन । सरकारले दिवा खाजा कार्यक्रम अझ प्रभावकारी बनाउन थप लगानी गर्न आवश्यक छ ।”जिरी नगरपालिका भित्र २८ वटा सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयहरुमा पाँच कक्षा सम्मका विद्यार्थीको लागि दिवा खाजा कार्यक्रम जारी छ । विद्यार्थीलाई सिकाउन र टिकाउनको लागि जारी कार्यक्रम अन्तर्गत न्यूूनतम १८० दिनसम्म खाजा खुवाउने गरिएको छ । यो कार्यक्रम नगरपालिकामा प्रभावकारी बनेको नगर शिक्षा शाखा अधिकृत लक्ष्मी प्रसाद रिजालले बताउनुभयो । यो वर्ष नगरपालिकामा करिब दुई हजार विद्यार्थी दिवा खाजा कार्यक्रमबाट लाभान्वित भईरहेको उहाँले बताउनुभयो । कतिपयले विद्यालयमैँ बनाएर खाजा खुवाइरहेका छन्, भने कतिपय विद्यालयले क्यान्टिनको खुवाई रहेको छन् ।

Shares

Be the first to comment on "जिरी नगरपालिकामा दिवा खाजा कार्यक्रमले विद्यार्थी खुशी"

Leave a comment

Your email address will not be published.


*