जिरी अस्पतालमा ब्लड बैँक स्थापना हुने

दीक्षण समाचार
चरीकोट, फागुन १६
दोलखाको जिरी नगरपालिका स्थित जिरी अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना गरिने भएको छ । जिरी अस्पतालमा केही वर्ष रोकिएको शल्यक्रिया सेवा फागुन देखि पुनः सुचारु भएसँगै रगतको आवश्यकता बढेको छ । उपचारका लागि अस्पताल आएका जटिल किसिमका बिरामीको तत्कालै शल्यक्रिया गर्न रगत चाहिन्छ । तर रगत आपूर्तिमा असहजता भईरहेको छ । यस्तो बेला रक्त सञ्चार केन्द्र स्थापना हुँदा असहज परिस्थिति हट्ने छ ।
शल्यक्रिया समयमैँ हुन सके बिरामीको ज्यान जोगाउन सकिन्छ । यस्तो बेलामा रगतको आपूर्ति समयमैँ नहुँदा शल्यक्रिया सम्भव हुदैँन । जसले गर्दा बिरामीको मृत्यु हुन सक्छ । अहिले बिरामीका आफन्तले रक्तदाता खोजेपछि मात्र शल्यक्रिया हुने गरेको छ । यस्तो अवस्थामा तत्काल रगत आपूर्ति हुने गरी रक्त सञ्चार केन्द्र हुन आवश्यक रहेको अस्पताल प्रमुख डाक्टर देबेन्द्र गौतमले सुनाउनुभयो । उहाँले भन्नुभयो’ फागुन देखि अस्पतालमा शल्यक्रिया गर्न थालिएको हो । तर रक्त सञ्चार केन्द्र नहुँदा बिरामीका आफन्तलाई रक्तदाता खोज्न भौतिरिनु पर्ने बाध्यता छ । कोही रक्तदाता नभेटेमा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी नै रक्तदान गर्न तयारी हुन पर्ने हुन्छ । रक्तसञ्चार केन्द्र सञ्चालन हुदाँ यस्ता चुनौतीहरु हट्ने छ ।‘ जिरी अस्पतालमा फागुन देखि हाल सुत्केरी सहित १३ जना बिरामीको शल्यक्रिया गरिएको छ । उनीहरु सबै जनालाई बिरामीको आफन्त तथा अन्यले अस्पतालमै आएर रक्तदान गरेपछि शल्यक्रिया सम्भव भएको हो । अस्पताल प्रमुख, डाक्टर गौतमले दुई महिना भित्र रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको सुनाउनुभयो । जिरी नगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव दाहालले अस्पतालको एक कोठामा अस्पतालकै प्राविधिक खटिने गरी रक्त सञ्चार केन्द्र सञ्चालन गर्ने योजना अनुसार कामको प्रक्रिया सुरु भएको सुनाउनुभयो । उहाँले जिरी नगरपालिकाको आर्थिक सहयोगमा अबको दुई महिनामा केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले रेडक्रस अन्तर्गत सञ्चालन हुने केन्द्र सञ्चालनपछि सुत्केरी, गम्भिर चोटपटक लागेका बिरामी, रक्तअल्पता र जटिल प्रकारका बिरामीलाई शल्यक्रिया गर्न रगत आपूर्ति सहज हुने छ । अस्पतालबाटै प्राविधिक खटिने भएकोले उहाँलाई केन्द्रीय रेडक्रसले तालिम दिने छ । सभापति पोखरेलले केही वर्ष अघि रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याउने कुरा चलेको भएपनि सम्भव नभएको र अहिले भने जिरी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएसँगै केन्द्रको महत्व बढेपछि स्थापना गर्न आवश्यक देखिएको सुनाउनुभयो । उहाँले भन्नुभयो’ पहिले पनि रक्त सञ्चार खोल्ने कुरा त चलेको हो । तर बिचमा त्यो कुरा त्यतिकै भयो । अहिले भने केन्द्र स्थापना गर्नका लागि अस्पताल, जिरी नगरपालिका र रेडक्रस लागि परेको छ । सबै व्यवस्थापन मिलेमा अबको दुई महिनामा केन्द्र सञ्चालन हुने छ ।‘ केन्द्र सञ्चालनमा आएपछि दाताबाट संकलित रगत केन्द्रमा भण्डार गरेर राखिन्छ । बिरामीको उपचारमा आवश्यक परेको बेला केन्द्रले रगत उपलब्ध गराउने छ । रक्त सञ्चार केन्द्र रगत सुरक्षित भण्डार गरी ३५ दिन सम्म राख्न सकिन्छ । यदि ३५ दिन भित्र त्यसको प्रयोग हुन नसकेमा खेर जाने हुन्छ । त्यसैले आवश्यकता अनुरुपको रगत संकलन गरी उपयोग गरिनुपर्ने सभापति पोखरेलले सुनाउनुभयो ।

Shares

Be the first to comment on "जिरी अस्पतालमा ब्लड बैँक स्थापना हुने"

Leave a comment

Your email address will not be published.


*