जिरी अस्पतालमा ब्लडबैँक सञ्चालनको तयारी

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन ७
दोलखाको जिरी नगरपालिका स्थित जिरी अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैँक) सञ्चालन गर्न तयारी थालिएको छ । अस्पतालमा पाँच महिनादेखि शल्यक्रिया सेवा सुचारु भएपनि रगत आपूर्तिमा समस्या हुँदा शल्यक्रिया थप चूनौतिपूर्ण बनिरहेको छ । यसलाई मध्यनजर गरी रक्तसञ्चार केन्द्र सञ्चालनको तयारी थालिएको नगरपालिकाका स्वास्थ्य संयोजक केशव दाहालले बताउनुभयो । “प्राविधिक छनौट गरी केन्द्रीय रेडक्रसमा तालिमका लागि पठाइएको छ । अब आवश्यक उपकरण खरीद गर्ने प्रक्रिया सुरु गरिने छ । उपकरण र जनशक्तिको व्यवस्था हुने बित्तिकै केन्द्र सञ्चालनमा ल्याइने छ ।” स्वास्थ्य संयोजक दाहालले भन्नुभयो “केन्द्र सञ्चालनसँगै शल्यक्रियाको लागि रगत नपाउने चिन्ता हट्ने छ ।”
नेपाल रेडक्रस सोसाइटीको सहयोगमा अस्पतालमा सहज रगत आपूर्तिका लागि केन्द्र सञ्चालनको प्रक्रिया सुरु भएको हो । यसका लागि नगरपालिकाले चालु आवमा १ लाख ५० हजार रुपैयाँ रकम विनियोजन गरेको छ । यस अघि नै केन्द्र सञ्चालनका लागि एक प्राविधिक छनौट गरी तालिममा सिफारिस गरिएको भएपनि ति प्राविधिक व्यक्तिगत कारण अन्तै गएपछि केन्द्र सञ्चालन गर्ने याजना अलपत्र बनेको थियो । रक्तसञ्चार केन्द्रबिनै शल्यक्रिया सेवा सुचारु हुँदा सो सेवा लिन आउने बिरामी र बिरामीका आफन्तलाई रगत खोज्नुपर्ने बाध्यता रहेको छ । कतिपय अवस्थामा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी र स्वयं शल्यक्रियामा सहभागी डाक्टरले नै रगत दान गर्नुपर्ने बाध्यात्मक स्थिति रहेको छ । कहिलेकाँही त आकस्मिक रक्तदानका लागि सुरक्षाकर्मीलाई गुहार माग्नु पर्ने बाध्यता रहेको अस्पतालका डाक्टर देवेन्द्र गौतमले सुनाउनुभयो ।

Shares

Be the first to comment on "जिरी अस्पतालमा ब्लडबैँक सञ्चालनको तयारी"

Leave a comment

Your email address will not be published.


*